Saturday, December 8, 2018

सेनाप्रति महोत्तरीवासी आक्रोशित


जनकपुरधाम, २१ मंसिर । महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. ९ मा सेनाले निजी व्यक्तिको जग्गा कब्जा गर्न खोज्दा स्थानीयहरु आक्रोशित बनेका छन् ।
पशुपतिनगर, पथलैया बजार स्थित करीब ११ जना स्थानीयको निजी जग्गामा श्री नं. २ युद्ध कवच गुल्मले पिलर गाडेर कब्जा गर्न खोज्दा स्थानीयहरु निक्कै आक्रोशित देखिएका छन् । उनीहरुले हामीसँग लालपूजा हुँदाहुँदै पनि सेनाले जबरजस्ती ती जग्गामा पिलर गाडेर कब्जा गर्न लागेको आरोप लगाएका छन् ।
‘निजी तथा केही एलानी जग्गा हामीहरु वर्षौदेखि भोगचलन गर्दै आएको हो । ती जग्गामा धान, गहुँ सहितको बाली उब्जाउने गर्दै आएको थियौ । तर यस पटक सेनाले ऐलानी जग्गा सहित लालपूजा रहेको जग्गा पनि कब्जा गर्न लागेको हो’ स्थानीय घुरन महतोले भने । उनले करीब ११ जनाको नम्वरी जग्गामा सेनाले पिलर समेत गाडि सकेको थियो । तर आफूहरु त्यसको विरोध गर्दा केही पिलरलाई हटाएपनि अझै निजी जग्गा कब्जा गरि राखेको बताएका छन् । उनले भने, ‘प्रदेश सरकार, बर्दिवास नगरपालिका लगायतको सम्बन्धित निकायमा ज्ञापनपत्र पनि बुझाएका हो । तर कसैले हाम्रो कुरा नसुनिदिएपछि बाध्य भएर पत्रकारहरुलाई गुहारेका छौ ।’

उनले भोग चलन गर्दै आएको जग्गामा तानाशाही शैलीमा कब्जा गर्नु लोकतन्त्रलाई मजाक उडाउनु जस्तो छ । राज्यले पनि हामीहरुको कुरा सुनेन भने बाध्य भएर प्रदेश सरकारदेखि संघीय सरकारसम्म धर्ना लगाएको आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
स्थानीयहरुले आ आफ्नो लालपूर्जा देखाउँदै भने ‘५० वर्षदेखि यस जग्गामा भोग चलन गर्दै आएका हौ । अहिले अचानक ती जग्गामा भोग चलन गर्नमा प्रतिबन्ध लगाइएको छ । हाम्रो कुरा कसले सुनिदिने त ?’ प्रश्न समेत गरेका छन् ।

लालपूर्जा अनुसार स्थानीयहरु २०२४ सालदेखि नै नम्वरी जग्गामा भोगचलन गर्दै आएका छन् ।
स्थानीय सितली देवी महतोको २ विघा, रामप्रताप साहको १ विघा ५ कट्टा, रामसोगारथ महतोको १६ कट्टा, योगेन्द्र महतोको ६ कट्टा, रेखा देवी साहको २ कुटटा, नवल महतोको ४ कट्टा लगायतका व्यक्तिहरुको नम्वरी लाल पूर्जामा सेनाले पिलर गाडेको उनीहरुले गुनासो पोखेका छन् ।
उक्त जग्गामा प्रदेश स्तरीय युद्ध कवच गुल्म सेना क्याम्प निर्माण हुन लागेको बताइएको छ । सोको लागि ती ठाउँमा २ सय ८२ विघा जग्गा रहेको छ । तर ती जग्गा बाहेक पनि निजी नम्वरी जग्गामा सेनाले घेराबन्दी गर्न लाग्दा उनीहरुले आक्रोशित भएका छन् ।

No comments:

Post a Comment