Wednesday, December 5, 2018

विवाहपञ्चमी मनाउने यस्तो तयारी


जनकपुरधाम, १८ मंसिर । जनकपुरधामका सबभन्दा ठूलो महोत्सव विवाहपञ्चमी मेलाको भव्य तयारीका लागि विभिन्न कार्यक्रम तालिकाहरु बनाइएको छ ।
जनकपुरधाम उपमहा नगरपालिकाको सभाहलमा नागरिक समाज, संघ संस्थाका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकाय, जनकपुरधाम उपमहा नगरपालिकाका वडा अध्यक्षहरुको उपस्थितिमा भएको ‘अन्तरक्रिया कार्यक्रम’ बाट सो तालिका तयार गरिएको छ ।
तालिका अनुसार मंसिर २५देखि २६ गतेसम्म नगरभित्रमा पूर्ण रुपमा मांस मदिरा बन्द गर्ने, २५ र २६ गते आ आफ्नो स्तरबाट जनकपुरवासीहरुले दीपावली मनाउने, जानकी मन्दिर जानेबाटोमा पर्ने वडाहरुमा वडा अध्यक्षको सहयोगमा स्वागतद्वार तथा श्रद्धालु यात्रुहरुका लागि पण्डाल निर्माण गर्ने रहेको छ ।
त्यस्तै पर्याटकहरुलाई बिजुली बत्ती, खानेपानी तथा शौचालयको सहज उपलब्ध गराउनुपर्ने, यातायातलाई उचित रुपैया लिएर गणतव्यस्थलसम्म पुर्याउनमा सहयोग गर्ने, होटल व्यवसायहरुले पनि आ आफ्नो स्तरबाट थोरै नाफा लिएर भोजनको व्यवस्था गर्ने लगायतको सुझाव प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले दिएका छन् ।
त्यस्तै सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त गर्ने, पोशाक तथा सादा पोशाकका प्रहरी परिचालन गर्ने, विभिन्न क्लवका पदाधिकारीहरुले समन्वय गरी स्वयं सवेकको रुपमा कार्य गर्ने, चिसो बढेकोले ठाउँ ठाउँमा दायरा तथा मेलामा आएका गरीब र विपन्न परिवारका लागि खानाको व्यवस्थापन गर्ने, निःशुल्क उपचार तथा औषधीको व्यवस्थापन गर्ने छलफलबाट आएको छ ।
त्यसैगरी नगरभित्र रहेको फोहरमैलालाई स्थानीयहरुले आफ्दो दायित्व बुझेर आफै सरसफाई गर्ने, कुनै पनि वस्तु वा अन्य ठाउँमा शंका उपशंका लागेमा तुरुन्त प्रहरी प्रशासनलाई जानकारी गराउने समेत प्रमुख जिल्ला अधिकारी कँडेलल बताएका छन् ।
जनकपुरधाम उपमहा नगरपालिकाका उपमेयर रिता कुमारी मिश्रको अध्यक्षतामा भएको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कँडेलल यति कार्य गर्नका लागि २३ गतेभन्दा अघि नै जनकपुरधाम उपमहानगरपालिका र प्रमुख जिल्ला अधिकारीमा लिखित रुपमा दिनुपर्ने बताएका छन् । उनले त्यसो अनुसार उपहानगरपालिका र जिल्ला प्रहरी कार्यालयले लिस्टिङ्ग गरेर परिचालन गर्ने बताएका छन् ।
कार्यक्रममा जनकपुर अञ्चल बस व्यवसाय संघका अध्यक्ष मनोज चौधरीले यातायातमा आफु सहज र न्यूनितम भाडा लिने जानकारी गराएका छन् । त्यस्तै प्याब्सनका अध्यक्ष विश्वलाल सिंहले बाटोमा पर्ने विद्यालयहरुमा निःशुल्क भोजनको व्यवस्था, पण्डाल लगाउने बताएका छन् । कार्यक्रममा संघ संस्थाका पदाधिकारीहरु, नागरिक समाजहरुले आ आफ्नो स्तरबाट हुने कार्यलाई प्राथमिकता साथ निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
महोत्सवमा यस पटक भारतको अयोध्याबाट आउने भगवान् रामको प्रतीक स्वरूप आउने जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सहभागिता रहने छ । प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरका महन्तको पहलमा जानकी मन्दिर परिसरदेखि बाह्रबिघा रंगभूमि मैदान सम्म सिङ्गारिने, सरसफाइ र पण्डाल निर्माण तीव्र गतिमा गरिरहेका छन् । सुरक्षाकर्मी, राजनीतिकर्मी, समाजसेवी, नागरिक समाजका अगुवाको सहभागितामा बाह्रबिघाको सरसफाइ र उपमहानगरपालिकाद्वारा समेत तीव्र गतिमा जानकी मन्दिर आसपासका सडक निर्माण, सडक व्यवस्थित गर्ने कार्य भइरहेको छ ।

No comments:

Post a Comment