Friday, January 5, 2018

किसानका छोरा २५ वर्षिय अम्बरले बनाए कृषि यन्त्र


जनकपुरधाम, १९ पुस । धनुषाको शहीद नगरपालिका वडा नं. ७ धबौली बस्ने वर्ष २५ का अम्बर मण्डलले कृषियन्त्र बनाएका छन् ।
मण्डलले गहुँ तथा धान काट्ने मेशिन, आलु खेती लगायतका कृषियन्त्र बनाएर कृषि सामाग्री समेत उब्जाउने गरेको बताएका छन । एसएलसीसम्म शिक्षा उत्तीर्ण गरेका मण्डलले आर्थिक अवस्था कमजोर भएकोले अगाडि पढ्न नसकेको उहाँको बुवा रामनारायण मण्डलले दुःखेसो सुनाएका हुन ।

कृषियन्त्र निरीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सचिव बुद्धिरत्न खडग, विधायक रामअशिष यादव, शैलेन्द्र यादव राजनीतिक विज्ञ भोगेन्द्र झा व्यथित तथा केही पत्रकारहरु उहाँको गाउँ पुगेका थिए । मोटरसइकल लगायतका फालिएको सवारी साधनको सामाग्रीहरु एकत्रित गरी निर्माण गरिएको कृषियन्त्रबाट नै आफू खेतीवारी गर्दै आएको मण्डलले विश्वास समेत दिलाएका छन् ।

वैदेशिक रोजगारीमा ग्यारेजमा नै चारवर्षसम्म कार्य गरेको मण्डल बताउँछन् । उनी भन्छन ‘एसएलसीसम्म अध्ययन गरेर आर्थिक अवस्था राम्रो नहुँदा पढ्ने बेलामा आफू वैदेशिक रोजगारीमा गएको थियो । बुवा किसान हुनुहुन्छ । पढ्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अवस्था बलियो नहुँदा वैदेशिक रोजगारीमा जानु पर्यो ।’
कृषियन्त्र बनाउने बाल्यकालदेखि नै हाम्रो रुचि थियो उनले भने ‘शिप विकास तालिम केन्द्रबाट सो सम्बन्धी तालिम पनि लिएको छु । वैदेशिक रोजगारीमा जाँदा ग्यारेजकै काम नै मिल्यो । कृषियन्त्र निर्माण सम्बन्धी पुस्तक पढ्नु पनि मेरो रुची हो ।’ हाम्रो इच्छा हो, कृषियन्त्र निर्माण गरी किसानहरुलाई खेतीपातीमा सहजता पुर्याउने । अहिले जुन धान र गेहुँ काट्ने यन्त्र बनाएको हो, त्यसको लागत ४० हजार परेको उनले बताएका छन् ।

No comments:

Post a Comment