Friday, January 26, 2018

प्रदेशसभा भवन तयार पार्न ३० कामदार अहोरात्र काम गर्दै


जनकपुरधाम, १२ माघ । प्रदेश नम्बर २ को पहिलो प्रदेशसभाको बैठक माघ २१ गतेका लागि बोलाइएको छ ।  प्रदेशसभाको पहिलो बैठक बस्ने मिति नजिकिदै गर्दा सोको तयारी युद्धस्तरमा अगाडी बढि रहेको छ । प्रदेशसभा बैठक पूर्व सम्पूर्ण तयारी पूरा गर्नका लागि ३० जना मजदुर दिनरात लागि काम गरिरहेका छन । प्रदेशसभा बैठकका लागि शैक्षिक तालिम केन्द्रलाई तयार पारिदैछ ।

सो शैक्षिक तालिम केन्द्रमा अहिले रंगरोगन, फर्निचर, सरसफाई लगायतका कामहरु भई रहेको शहरी डिविजन तथा भवन विकास कार्यालयबाट खटिएका सूर्यनारायण यादवले जानकारी दिएका छन । प्रदेशसभा स्थल तयार पार्नका लागि ५५ करोड रुपैया माँग गर्दा तत्कालका लागि ७ करोड ५० लाख रुपैया उपलब्ध गराइएपछि ३० मजदुरलाई खटाएर तयारीका कार्यहरु धमाधम भई रहेको छ । यस अघि बजेट अभावमा प्रदेशसभा बैठकको तयारी कार्यहरु शुरु गर्न सकिएको थिएन । 
प्रदेशसभाको पहिलो बैठक यही माघ २१ गते दिउँसो ११ बजे बस्ने । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पहिलो संसद् बैठक आह्वान गरेपछि सभाकक्ष व्यवस्थापनकाम लागि कार्यहरु अगाडि बढाइएको छ । २ विघा १६ कठ्ठामा फैलिएको शैक्षिक तालिम केन्द्रमा संसद भवन, सभामुख, उपसभामुख, मुख्यमन्त्रीको आवास लगायत प्रशासनिक निकायको कार्यालयका लागि ४ वटा कोेठालाई तयार पार्न ती मजदुरहरु अहोरात्र काम गरिरहेका छन ।
जनकपुर उपमहा नगरपालिका १२ स्थित शैक्षिक तालिम केन्द्रको प्राङ्गणमा रहेको ब्याडमिन्टन कोर्ट नजिक रहेको कक्षलाई प्रदेशसभा बैठक भवनको रुपमा तयार पारिदैछ । मर्मत अभावमा जीर्ण भइसकेको उक्त कक्षका अधिकांश झ्यालका शिशा फुटेर मर्मत गर्नुपर्ने अवस्थामा छन् । यसको रङरोगन, कुर्सी व्यवस्थापन, भुइँ प्लास्टर, साउन्ड, लाइट व्यवस्थापनलगायत कामका लागि कामदारहरु लागि परेका छन ।
प्रदेशसभाको कार्यसञ्चालनका लागि शैक्षिक तालिम केन्द्रका भवनलाई उपयोग गर्ने तयारी अनुरुप व्यवस्थापनको काम अघि बढाइएको सहरी विकास तथा भवन निर्माण डिभिजन प्रमुख गंगाप्रसाद यादवले बताए ।
यता जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी मेहीलाल यादवले ३÷४ दिन भित्रै सम्पूर्ण तयारी पूरा हुने बताएका छन । 

No comments:

Post a Comment