Wednesday, December 27, 2017

प्रदेश सचिवालय र आवास जनकपुरको शैक्षिक तालिम केन्द्रमा


जनकपुरधाम, १२ पुस । प्रदेश नम्बर २ को राजधानी कहाँ राख्ने विषयमा बहस चलिरहेको बेला प्रदेशसभाको पहिलो बैठक जनकपुरमै राख्ने तयारी शुरु गरिएको छ । जनकपुरलाई अहिले अस्थायी राजधानीको रुपमा स्थापित गर्दै प्रदेशसभाको बैठकका लागि तयारी थालिएको हो ।
प्रदेश नम्बर २ को राजधानी स्थायी रुपमा घोषणा नगरिए पनि प्रदेशसभाको पहिलो वैठक, संरचना, कार्य विभाजन, पुर्वाधारको परीपुर्ती सहितका तयारीका लागि जनकपुरमा गृहकार्य शुरु गरिएको हो ।
प्रदेशसभाको पहिलो बैठकका लागि जिल्ला शिक्षा कार्यालय, धनुषाको तालिम केन्द्रमा राख्ने तयारी समेत शुरु गरि सकिएको छ । जनकपुर प्रदेशको राजधानी हुने सम्भावना प्रबल रहेको र भौतिक संरचना पनि तत्काललाई उपयुक्त भएको भन्दै कार्यदलले जिल्ला शिक्षा कार्यालय धनुषाको तालिम केन्द्रलाई पहिलो बैठक स्थल बनाउनका लागि तयारी शुरु गरिने बताइएको छ ।
यसअघि जनकपुर चुरोट कारखाना लिमिटेडमा प्रदेशसभाको पहिलो बैठक राख्ने चर्चा समेत चलेको थियो । तर जचुकालीको मर्मत सम्भारका लागि लामो समय लाग्ने भएकाले तत्कालका लागि तालिम केन्द्र नै उपयुक्त भएकोले जिल्ला शिक्षा कार्यालयको तालिम केन्द्रलाई प्रदेश सभाको पहिलो बैठक गर्ने तयारी शुरु गरिएको  धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईंले जानकारी दिनुभयो ।
प्रदेश संसदमा सभामुख, पुस्तकालय, मुख्यमन्त्रीको कार्यालय, दर्शक दिर्घा तथा सञ्चारकर्मीहरुको लागि समेत ठाउँको आवश्यकक्ता पर्ने भएकोले जिशिकाको तालिम केन्द्र नै उपयुक्त हुने बताइएको छ ।
तत्काल तालिम केन्द्रमा सामान्य खर्चबाट नै बैठक सञ्चालन गर्न सकिने  भएकाले पनि त्यस ठाउँलाई नै प्रदेश सभाको बैठकका लागि तयार पानु पर्नेमा सहमति भएको बुझिएको छ ।
यता प्रदेश प्रमुखको निवासका लागि समेत स्थान तय गरि सकिएको छ । प्रदेश प्रमुखको निवासका लागि सबैभन्दा उत्तम विकल्पको रुपमा नेपाल राष्टू बैंकको अतिथि गृहलाई देखिएको छ ।
तत्काल आवश्यकता पर्ने भएकाले राष्टू बैंकको अतिथि गृह अहिलेलाई प्रयोग गर्न लागिएको प्रमुख जिल्ला अधिकारी चापागाईं बताउँछन् । अहिले यी भौतिक संरचनाहरुलाई प्रयोग गरिए तापनि पछि विस्तारै सबैको अल्लगै भौतिक संरचनाको निर्माण गरिने बताइएको छ ।
प्रदेश सभाको पहिलो बैठक जनकपुरमा बस्ने तय हुने भएपछि जनकपुर नै प्रदेश नम्बर २ को राजधानी हुने निश्चित जस्तै देखिएको छ ।

No comments:

Post a Comment