Tuesday, December 26, 2017

सात जुनी साथका लागि वचन दिनेले नै ज्यान लियो


जनकपुरधाम, ११ पुस । सिरहा नगरपालिका–१८ लक्ष्मीनियाको रञ्जना शर्मा बाल्यवसथा देखि नै मिलनसार स्वभावकी थिइन । उनको व्यवहारबाट जो कोही पनि सहजै प्रभावित हुन्थ्यो । रञ्जनाको चुलबुले स्वभावका कारण घरमा पनि मनोरञ्जनात्मक माहौल बनेको हुन्थ्यो । तर सोही मिलनसार केटी बिहे पटि ससुरालीमा आउँदा कसैलाई रुचेन । रञ्जनालाई उनकै सासु, ससुरा, श्रीमान, जेठाजु लगायतका पारिवारिक सदस्यहरुकै मिलिभगतमा गत मंसिर ८ गते हत्या गरियो ।
जनकपुरको कृष्णा नर्सिङ ईन्स्टिच्युटमा तेश्रो वर्षमा नर्सिंङ पढ्दै गरेकी रञ्जनाको डेढ वर्षअघि १५ लाख दाइजो दिएर विवाह गरिएको थियो । विवाह हुँदा सयौँ सपना रञ्जनाले बुनेकी थिइन । हरेक युवती झै उनले पनि आफ्नो श्रीमानलाई लिएर मनमा चित्र बनाउने गर्थिन । विवाहको खबरले उनी असाध्यै खुशी थिइन । तर उहाँलाई भविष्यको कुरा थाहा हुने कुरै भएन । जुन श्रीमानले उनलाई सात जुनी साथ दिने वचन दिएका थिए उ नै रञ्जनाको मृत्युको कारण बने ।
विवाहको केही महिना पछि नै सम्बन्ध चिसियो
विवाहको केही दिनसम्म रञ्जना र श्रीमान आनन्द मोहनसंगको सम्बन्ध सोचे जस्तो राम्रो थिएन । उनले श्रीमानको आफ्नै भाउजुसंग अनैतिक सम्बन्ध रहेको सुइको पाइन । यस विषयमा कुरा गर्दा उल्टै श्रीमानले उनको चरित्रमाथि शंका गर्न शुरु गरे । बिहेको केही महिना नबित्दै उनको श्रीमान आनन्द मोहनले नै वास्ता गर्न छोडेपछि घरका अन्य सदस्यहरु पनि रञ्जनामाथि विभिन्न लाञ्छना लगाउन थाले । त्यसकै आधारमा ससुरा पक्षले थप दाइजोको माँग गर्न शुरु गर्यो । थप दाइजोको माँग पनि रञ्जनाको मृत्यको कारण बनेको छिमेकी आशा ठाकुरले बताइन । पोखरास्थित वन विज्ञान अध्ययन केन्द्रमा कम्प्युटर अपरेटरमा कार्यरत श्रीमान आनन्दमोहनले समेत आफूलाई दुःख दिने गरेको उनले  छिमेकीलाई पटकपटक सुनाएकी थिइन । रञ्जनाकी आमाले दिएको किटानी जाहेरी पनि छोरीको श्रीमान आनन्द मोहन भाउजुसंगै पोखरामा रहँदै आएका छन ।  श्रीमानसँग सम्बन्ध बिग्रेको देखेर ससुरा ठाकुरले रञ्जनालाई शारीरिक सम्बन्ध राख्न पटक–पटक मानसिक यातना दिँदै आएको समेत छिमेकीसँग उनले बताएकी थिइन ्। राति राति ससुरा रञ्जना सुतेको कोठाको ढोका घच घचाउने गर्थे । ढोका खोल्न नमानेपछि मोबाइलमा एसएमएस समेत पठाउने गरेको कुरा साथीहरुसंगको कुरामा बताउने गर्थिन । तर समाजिक प्रतिष्ठाका कारण उक्त कुरा प्रहरीसमक्ष लग्न चाहेकी थिइनन् ।
सम्बन्ध विच्छेदको विषय बन्यो मृत्युको कारण
श्रीमान आनन्द मोहनको भाउजुसंग अनैतिक सम्बन्ध रहेको र पटक पटक यातना दिने गरेको कुरा वैदेशिक रोजगारमा रहेका बुवा रामनारायण ठाकुरसंग बताएका थिए । बुवा ठाकुर विस्तारै विस्तारै ज्वाइ र छोरीको सम्बन्ध सुध्रिने सोचेका थिए । तर सम्बन्ध सुध्रिने छाँटकाट नदेखेपछि बुवाले सम्बन्ध विच्छेदकै लागि आफूले विदेशबाट आएर पहल गर्ने छोरी लाई बताए । सम्बन्ध विच्छेदको कुरा सुनेपछि सासु ससुराले त्यो दिनदेखि नै बुहारी रञ्जनाको हत्याका लागि योजना बनाउन शुरु गरे । सम्बन्ध विच्छेदको प्रकृया अगाडी बढाउनु पर्दा दाइजोमा लिएको १५ लाख रुपैया, ७ भरी सुन तथा सम्पतिबाट पनि अंश दिनु पर्ने कुरालाई लिएर उनीहरु तर्सिएका थिए । त्यसैले पनि रञ्जनालाई हत्या गरेपछि सबै समस्याबाट छुटकारा पाउने उनीहरुले सोचे ।
कसरी भयो हत्या
सम्बन्ध विच्छेदको कुराबाट तर्सिएका श्रीमान, सासु, ससुरा, जेठाजु सबै हत्याको षडयन्त्र बुन्न तर्फ लागे । रञ्जना छात्रवृतिमै बिएससी तेस्रो बर्षमा नर्सिंग पढ्दै थिइन । उनी होस्टेलमै बस्ने गर्थे । उनको पकेट खर्चको जोहो श्रीमानले गर्नुको साटो बुवालाई नै गर्नु पथ्र्यो । पछि सासु ससुराले होस्टेलमा बस्ने काम छैन भनी जबरदस्ती घरमै ल्याए ।
एक दिन रञ्जनाबाटै एक हजार रुपैया लिई दूई केजी मासु र रक्सीका केही बोतलहरु ल्याएको छिमेकीहरु बताउँछन । सोही राती रञ्जनालाई करनी गरी हत्या गरिएको आमा प्रभा ठाकुरले दिएको किटानी जाहेरीमा उल्लेख छ । मृत्यु पछि रञ्जनाको नाक, कानबाट समेत रगत बगेको थियो ।
घटनालाई मोड्ने प्रयास
श्रीमान आनन्द मोहन शर्मा, ससुरा देव नारायण ठाकुर, सासु,जेठान अरबिन्दकुमार ठाकुर र उनकी श्रीमती रिंकु शर्मा विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उनकी आमा प्रभा देवीले किटानी जाहेरी दर्ता गराएकी थिइन ।
घटना लगत्तै प्रहरीले रञ्जनाका ससुरा देवनारायण र सासु सुमित्रादेवीलाई पक्राउ गरेर कारवाही अघि बढाएको थियो । हत्या अभियोगमा पाँचजनाविरुद्ध किटानी जाहेरी दिए पनि अनुसन्धानका क्रममा सासु ससुराको मात्र संलग्नता रहेको खुलेको प्रहरीको ठहर गरेको छ । अन्य तीनजना निर्दोष देखिएकाले पक्राउ नगरिएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रविन धितालले बताए । यद्यपि रञ्जनाको आमा प्रभा देवी ठाकुरले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले पैसा खाएर बाँकी दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएकी छिन । अदालतले रञ्ञ्जनाको सासुलाई साधारण तारिखमा रिहा गरेको छ । प्रहरीको अनुसन्धान कमजोर भएका कारण दोषीहरुले उन्मुक्ति पाएको मा दुःख व्यक्त गरिन । आफू धनुषा जिल्ला अदालतको आदेशलाई चुनौती दिन उच्च अदालत जनकपुरमा जाने जानकारी दिनुभयो । 


No comments:

Post a Comment