Friday, December 22, 2017

राजधानी जनकपुर वा विरगंज ?



जनकपुरधाम, ७ पुस । प्रदेश नम्बर २ को सम्भावित राजधानी जनकपुर हुने हो वा विरगंज यस विषयलाई लिएर विभिन्न सभा तथा समारोहहरुमा समेत बहस चलि रहेको छ । विरगंजमा त राजधानी बनाउन दबाव दिनका लागि विभिन्न राजनीतिक दलहरुले प्रदर्शनहरु समेत गरिरहेका छन । हुनत दुबै ठाउँको नेताहरु मात्रै नभई स्थानीयवासीहरु पनि यस विषयमा बहस गरिरहेको सहजै भेट्न सकिन्छ । दुबै शहरका लागि लबिङ्ग गर्नेहरुको खाँचो छैन । तर जनकपुर प्रदेश नम्बर २ को राजधानी घोषणा हुने सम्भावना प्रबल रहेको समयमा यो बहसले पूरै प्रदेश अहिले तातिएको छ ।
धनुषा, महोत्तरीबाट निर्वाचित हुने सांसद तथा विधायकहरु जनकपुर नै प्रदेश नम्बर २ को राजधानी बन्ने विषयमा ढुक्क भएपनि पर्सा, बारा, रौतहटबाट निर्वाचित प्रदेशसभा सदस्यहरु विरगंज राजधानी हुनुपर्नेमा जोड दिई रहेका छन । यद्यपि जनकपुरका अधिवक्ता श्याम मिश्र विरगंज कुनै पनि हिसाबले राजधानी हुन नसक्ने दावी गर्छन । उनले भने राजधानी हुनका लागि कुनै पनि देशको सीमाबाट कमसे कम १० किलोमिटरको दुरीमा हुनु पर्छ । यस हिसाबले हेर्दा विरगंज वा जनकपुर राजधानी हुने विषयमा भई रहेको बहस तर्कहिन रहेको बताउँछन । 
प्रदेश नम्बर २ को भावी मूख्यमन्त्रीको रुपमा चर्चा पाईरहेका पर्साका संघीय समाजवादी फोरमका जिल्ला उपाध्यक्ष समेत रहेका निर्वाचित प्रदेशसभा सदस्य मोहम्मद लालबाबु राउत आफू व्यक्तिगत रुपमा विरगंज राजधानी हुनुपर्ने पक्षमा रहे तापनि राजधानीको विषयमा निर्णय प्रदेशसभाले गर्ने बताउँछन् । उनले भने आफू विरगंजको वासी भएकाले स्वभाविक हो विरगंजको जनताको भावनालाई कदर गर्छु तर यो निर्णय गर्ने अधिकार प्रदेशसभाबाट बहुमत सदस्यले गर्नेछन । प्रदेशसभाका बहुमत सदस्यले जनकपुरको पक्षमा मत दिए आफूले त्यसको पनि सम्मान गर्ने राउतको भनाई छ ।
यता धनुषा क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद एवं राजपा नेता राजेन्द्र महतोले कुनै पनि विषयमा लोकतन्त्रमा चर्चा हुनु स्वभाविक रहेकोले यो चर्चालाई नकारात्मक रुपमा नलिन आग्रह गरे । उनले चुनाव प्रचार प्रसारको समयमा जनकपुरलाई राजधानी बन्नबाट कसैले रोक्न नसक्ने दावी गर्दै आएका थिए र उनी यो दावीउपर अहिले पनि अडिग छन् । 
जनकपुरका राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा त यो बहसलाई नै निराधार बहसको रुपमा लिन्छन् । संघियता स्वीकार गर्न नसकेका नेताहरुले जनकपुरलाई राजधानी बन्न नदिनका लागि षडयन्त्र गरिरहेको उनको आरोप रहेको छ । उनले भने कथित २ नम्बर प्रदेशको मध्यमा जनकपुरमा पर्छ, प्रदेश नम्बर २ मा बस्ने सबैका लागि जनकपुर पायक पर्ने ठाउँको रुपमा रहेको छ र यसको पौराणिक पक्षको विषयमा सबैलाई थाहा नै छ यो सबै हिसाबले राजधानीका लागि जनकपुर नै सबैभन्दा उपयुक्त हुन्छ ।
तर विरगंजका राजनीतिक विश्लेषक एवं अधिवक्ता वीरेन्द्र यादवले पूर्वाधारले सम्पन्न, रोजगारी अवसर श्रृजना गर्न सक्ने, सबैलाई डोर्याउन सक्ने विरगंज नै भएकोले राजधानी विरगंज हुनु पर्ने बताउँछन् । उनले भने जनकपुर प्रदेश नम्बर २ को मध्यमा पर्नु बाहेक विरगंजभन्दा सबै पक्षले जनकपुर कमजोर सावित भई रहेको छ ।
यता राजनीतिक विश्लेषक झाले हुलाकी राजमार्ग निर्माण भएपछि प्रदेश नम्बर २ को सबैभन्दा सुगम शहरको रुपमा विकसित हुने दावी गर्छन् । यद्यपि निकट भविष्यमा प्रदेश नम्बर २ को आर्थिक राजधानीको रुपमा विरगंजलाई विकसित गर्न सकिने उनको भनाइ छ । तर राजधानी निर्विकल्प जनकपुर नै हुनु पर्छ झा बताउँछन ।
धनुषा क्षेत्र ३ ख बाट निर्वाचित भएका प्रदेशसभा सदस्य परमेश्वर साहले त्रेता युग देखि नै जनकपुरधामको आफ्नो अलग्गै पहिचान भएकोले र धार्मिक सांस्कृति हिसाबले समृद्ध भएकोले  जनकपुरधाम नै प्रदेश नम्बर २ को राजधानी हुने सम्भावनालाई नकार्न नसकिने बताउँछन् । साथै उनले प्रदेशसभाको पहिलो बैठक बस्ने समयमा सबै प्रदेशसभा सदस्यलाई जनकपुरको पक्षमा मतदान गर्न उनी आग्रह समेत गर्छन् । यता सामाजिक सञ्जाल ट्वीटरदेखि फेसबुकसम्म वीरगंजका जनता विरगंज राजधानी बन्ने पक्षमा वकालत गर्ने गरेका छन् भने धनुषा महोत्तरीसहितका जनताले भौगोलिक र सांस्कृतिक महत्व बोकेको जनकपुरधाम राजधानी बन्नुपर्ने माँगसहित वकालत गरिरहेका छन् । यसअघि सरकारले पनि जनकपुरधामलाई नै अस्थायी राजधानीको रुपमा घोषणा गरिसकेको छ ।
जनकपुरधाम वा विरगंज राजधानी बन्ने विषयमा भईरहेको बहस त प्रदेश सभाको बैठकबाट नै अन्त हुने छ ।

No comments:

Post a Comment