Wednesday, June 20, 2018

वडा अध्यक्षद्वारा नै फर्जी हस्ताक्षर गरी उपभोक्ता समिति गठन

जनकपुर समाचारदाता
जनकपुरधाम  जनकपुर उपमहानगरपालिका वडा नं. ३ मा पर्ने देवान पोखरीको सौन्दर्यीकरणका लागि वडा अध्यक्षले नै फर्जी हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरेको आरोप लगाइएको छ ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्द्वारा सो वडामा अवस्थित देवान पोखरीको सौन्दर्यीकरणका लागि आएको बजेटका लागि उपभोक्ता समिति गठन गरिएको हो । सो उपभोक्ता समितिका लागि बोलाइएको बैठकमा उपस्थिति जनाइएको व्यक्तिहरु मध्ये अधिकांशको हस्ताक्षर फर्जी रहेको उनीहरुले आरोप लगाएका छन् ।
वडा अध्यक्ष दीपेन्द्र साहको अध्यक्षतामा बसेको बैठकबाट उपभोक्ता समिति गठन गरिएको म्यानुटमा उल्लेख छ । बैठकमा १५ जनाको उपस्थिति रहेको उल्लेख छ, ती मध्ये अधिकांश व्यक्तिहरुले आफ्नो हस्ताक्षर नरहेको वडा अध्यक्षमाथि आरोप लगाउँदै फर्जी हस्तक्षर गर्नेमाथि कारवाहीको माँग समेत गरेका छन् ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले काटेको पत्र अनुसार गत बैशाख २० गते वडा अध्यक्ष साहको अध्यक्षतामा बैठक बसेको थियो । उक्त बैठकमा १५ जनाको सहभागिता रहेको म्यानुटमा उल्लेख छ । तर एउटा पनि वडा सदस्यहरुलाई नराखिएको देखिएको छ । वडा नम्बर ३ का वडा सदस्य कुशेश्वर दासले आफू वार्ड सदस्य रहेपनि उपभोक्ता समिति गठन गर्ने बेलामा आफुलाई कुनै सोधखोज नगरी अधिकांश सदस्यहरुलाई बाईकट गरी वडा अध्यक्ष साहले बैठकमा उपस्थित नै नभएकाहरुको फर्जि हस्ताक्षर गरी आफुखुशी उपभोक्ता समिति गठन गरेको आरोप लगाएका छन ।

त्यस्तै वडा नम्बर ३ का स्थानीयबासी दिपेन्द्र झाले वडाअध्यक्ष साहले अबैधानिक रुपले पोखरीको सौन्दर्यिकरणको काम सूचारु गरेको बताएका छन । उनले भने(‘वडा अध्यक्ष दिपेन्द्र साहले आफनो मोनोपोली हिसाबले उपभोक्ता समिति गठन गरेर आफनो नजिकका ब्यक्तिहरुलाई समितिमा राखेका छन ।’ माइन्युटमा अधिकांश सदस्यहरुको हस्ताक्षर फर्जि समेत रहेको उनले दाबी गरेका छन ।
म्यानुटमा उल्लेख १५ जना मध्ये अधिकांश व्यक्तिहरुले आफ्नो हस्ताक्षर नरहेको दावी गरेका छन् । सोही वडाका सुमनलाल कर्णले आफूले कहिलेपनि अँग्रेजीमा हस्ताक्षर नगरेको तर म्यानुटमा आफ्नो हस्ताक्षर अँग्रेजीमा भएको देखेपछि छक्क परेको बताएका छन् ।  उनले भने, ‘देवान पोखरीको सौन्दर्यीकरणका लागि कहिले बैठक बसेको थियो थाहा छैन । तर बुधवार पोखरीको सौन्दर्यीकरणका लागि कार्य प्रारम्भ हुँदा स्थानीयहरुले होहल्ला गरेपछि बैठकमा मेरो पनि नाम रहेको थाहा
पाँए ।’
त्यस्तै म्यानुटमा नाम रहेको केही व्यक्तिहरुले नाम नखुलाउने सर्तमा भने, ‘ उपभोक्ता समिति बैठकमा तयार पारिएको म्यानुटमा मेरो हस्ताक्षर फर्जी रहेको छ ।’ उनले मेरै हस्ताक्षर रहेको भन्दै दवाव समेत सृजना भएकोले खुलेर नआउने पनि बताएका छन् ।
यस सन्दर्भमा जनकपुर उपमहानगरपालिकाका उपमेयर रिता कुमारी मिश्रले  स्थानीय सरकार गठन पश्चात् स्थानीयवासीहरुले गुणस्तरी कार्यको अपेक्षा गरेको छ । वडा नं. ३ को घटना सम्बन्धमा आफूलाई केही थाहा नभएको तर त्यस्तो छ भने त्यो उपभोक्ता समिति विघठन गर्नुपर्छ बताएकी छिन् । यता यस कार्यमा वृहतरले पनि आर्थिक चलखेल गरेको हुनसक्ने स्थानीयले गुनासो गरेका छन । यता वडा अध्यक्ष दीपेन्द्र कुमार साहले दैनिक जनकपुरसँग भने, ‘विकास निर्माणको कार्यलाई कहिलेपनि अवरोध बन्नु हुँदैन । आफू यस वार्डको विकास चाहेको हो । कुनै प्रकारको फर्जी हस्ताक्षर गराएको छैन ।’ उनले आफ्नो प्रतिपक्षीहरुले यस्तो गरिरहेको आरोप पनि लगाएका छन् ।

No comments:

Post a Comment