Tuesday, September 6, 2016

पर्यटक लोभ्याउँदै गंगा आरती

शेषनारायण झा

जनकपुर । धार्मिक पर्यटकीय नगरी जनकपुरधाममा शुरु भएको गंगा आरती पर्यटक लोभ्याउँदै एक दिनसम्म ठहर्न बाध्य तुल्याई रहेको छ । बाहिरबाट आएका पर्यटकहरु दिनभरि जानकी मन्दिर, राममन्दिर, धनुषाधाम लगायतका धार्मिक स्थलमा घुमफिर गरेपनि साँझ गंगा आरतीमा सहभागीका लागि प्रतीक्षारत हुन्छ । धार्मिक ऐतिहासिक नगरमा संरक्षण सम्बद्र्धनको अभावका कारण यहाँका साँस्कृतिक सौन्दर्यता गुम्दै आएको हो । पर्यटकहरुका लागि अपार सम्पदा भएपनि संरक्षण हुन नसक्दा एकदिन पनि ठहर्न सकिरहेको थिएन । तर गंगा आरतीको शुभारम्भसँगै एकदिनसम्म जनकपुरमा ठहर्नका लागि बाध्य गरिरहेका छन् ।

गंगा आरतीमा नेपाल तथा छिमेकी मुलुक भारतका उल्लेख्य संख्यामा पर्यटकहरुको सहभागी हुने गरेका छन् । जनकपुरको धार्मिक र पवित्र गंगा सागरमा शुरु भएको गंगा आरती हाल आएर आन्तरिक तथा बाह्यय पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । नेपालमै पहिलो पटक शुरु गरिएको दैनिक आरती हेर्न प्रत्येक दिन यहाँ पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । तीन महिनाको गंगा सागर सफाई अभियान पश्चात दुईवर्ष पूर्व सुरु गरिएको गंगा आरतीमा सहभागी हुन आन्तरिक पर्यटकका साथै छिमेकी मुलुक भारत तथा तेश्रो मुलुकबाट समेत पर्यटकहरु आउने गरेको सेभ हिस्टोरिकल जनकपुरका संयोजक रामअशिष यादवले बताउँछन् ।
जल संरक्षणको उद्देश्यका साथ सेभ हिस्टोरिकल जनकपुरले शुरु गरेको गंगासागर सफाई अभियानले गंगा आरतीको रुप लिएपछि धार्मिक आस्थाको केन्द्र बन्नुका साथै यसले पर्यटकहरुलाई लोभ्याउन थालेको यादवको भनाई छ । भारतको बनारस, हरिद्धार लगायतका स्थानमा हुने गंगा आरती झैँ जनकपुरको गंगासागरमा हुनेगरेको गंगाआरतीमा पर्यटक तथा स्थानीयहरु रमाउने गरेको यादवको ठम्याई छ ।
जनकपुरको गंगा आरतीमा मात्र गंगाको स्तुती नगरिएर सम्पूर्ण देवीदेवताको मन्त्र जाप गर्ने गरिएकोले यसको विशेष महत्व रहेको छ ।  दिन भर गरेका भुलको क्षमा माग्दै हरेक दिन साँझ हुने गंगा आरतीमा सहभागी भए क्षमा पाउनुका साथै धार्मिक शक्तिको समेत वृद्धिहुने भएकोले आरतीमा सहभागी हुन दैनिक उल्लेख्य संख्यामा स्थानीय, श्रद्धालु तथा पर्यटकहरु आउने गरेको हो ।  जनकपुरको गंगासागरमा हरेक साँझ तीनजना पुरोहितले धार्मिक रिती अनुसार गर्ने गरेको गंगा आरतीमा स्थानीय व्यक्ति तथा पर्यटकहरु आउने गरेका छन् ।
गंगाको पुजाले धन, सुख, समृद्धि तथा सन्तान सुख प्राप्त हुनका साथै यसको स्नान महाकुम्भको स्नान सरह हुनेगरेको र गंगासागरको पुजा गर्नाले पुण्य तथा स्वर्गको प्राप्ती हुने मिथिलामहात्ममा उल्लेख रहेको छ ।
गंगा आरतीको शुभारम्भसँगै स्थानीयवासीको आर्थिक दर समेत बढेको छ ।  धार्मिक नगरी जनकपुर भ्रमणमा आउने पर्यटकलाई आकर्षित गरी विदेशी मुद्रा आर्जन गर्ने तर्फ यहाँका व्यवसायीहरु जागरुक हुन थालेका छन् । यसका लागि यहाँ पूर्वाधार निर्माण, सरसफाई र विभिन्न धार्मिक कार्यक्रम हुन थालेका छन् । कतिपयले आफै भ्रमण गरेर पर्यटन विकासका नयाँ आयामबारे जानकारी लिने गरेका छन् । यसले गर्दा आन्तरिक पर्यटनले पनि बजारलाई चलायमान बनाउन योगदान गर्न थालेका छन् । धार्मिक,समाजिक विविधता, ठाउँ विशेषका मानिसका जीवनशैली,सभ्यता, ज्ञान,प्रविधि,संस्कृति, रीतिरिवाज आदि विषयमा ज्ञान पाइने भएकाले पनि जनकपुरमा घुमफिर गर्न आउनेको क्रम बढेको देखिन्छ ।
राज्यले पर्यटन क्षेत्रको रुपमा विकास गर्नबाट निरुत्साहित गर्दै आएको जनकपुरलाई । जबकि जनकपुर आउने पर्यटकहरुबाट वार्षिक एकअर्बभन्दा बढी राजस्व उठेपनि राज्यले अहिलेसम्म साँस्कृतिक तथा धार्मिक सौन्दर्यीकरणमा लगानी गरेको छैन । ठूलो आस्थाको केन्द्रको रुपमा रहेको जानकी मन्दिर पनि भारतकै टिकमगढकी रानी वृषभानुले बनाएकी छिन् । जनकपुरलाई जोड्ने जनकपुर भीठामोड सडक भारतकै सहयोगमा बनाइएको छ । यहाँसम्मकी नेपालकै सबभन्दा ठूलो सवारी साधनको रुपमा रहेको नेपाल रेल्वे भारत सरकार कै सहयोगमा सञ्चालनमा आएको थियो ।
मुलुकमा लोकतन्त्र आएपनि जनकपुरको एउटा धार्मिक पर्यटकीय नगरीको रुपमा विकास हुनुपर्नेमा राज्यको सोच देखिएको छैन । आर्थिक स्रोतेको ठूलो सम्भावना भएपनि लगानीको अभावमा अहिलेसम्म जनकपुर पछाडि परेको छ । सेभद हिस्टोरिकलका संयोजक रामअशिष यादव ज्यूको प्रयासले शुभारम्भ भएको गंगा आरती पर्यटक लोभाउनमा सफल भएका छन् । पर्यटकहरुलाई एक दिन ठहर्न बाध्य पारिरहेका छन्, त्यसले स्थानीयवासीहरुलाई आर्थिक लोभ हुने गरेको छ । स्थानीयवासीहरु जागृत भएमा एक हप्तासम्म पर्यटकहरुलाई रोक्न सकिन्छ ।

No comments:

Post a Comment