Tuesday, September 6, 2016

जनकपुरमा ट्राफिक व्यवस्थापन चुनौती बन्दै

जनकपुर । जनकपुर उपमहानगरपालिका भित्रमा टूाफिकहरुलाई टूाफिक व्यवस्थापन गर्न एउटा चुनौती बन्दै गएको छ । धनुषामा टूाफिक दरबन्दी कम भएको बेलामा पनि चुनौती रहेको थियो भने अहिले झन त्यो भन्दाबढी चुनौती देखा परेको छ ।

जनकपुर नगरभित्रमा बढ्दो सवारीको चापले सडक खुम्चिएको जस्तो लागिरहेको छ भने अर्कोतिर सडकको अवस्था दिनप्रतिदिन दयनीय हुँदै गएको छ । खासगरी वर्षायामको बेलामा टूाफिक व्यवस्थापन चाहेपनि हुन नसक्ने अवस्थामा जनकपुरको स्थिति रहेको छ । धनुषामा टूाफिक दरबन्दी बढाएपनि सडकको जीर्ण अवस्था तथा छाडा गाईले गर्दा टूाफिक व्यवस्थापन चुनौती मात्र होइन, असम्भव समेत बन्न पुगेको छ ।
जनसंख्या वृद्धि, साँघुरा सडक, बढ्दो सवारी साधन, वैज्ञानिक उपकरणको कमी, विशिष्टिकृत जनशक्तिको अभाव, सडक प्रयोगकर्ताहरूको चेतनास्तर, अवैज्ञानिक सवारी चालक अनुमतिपत्र वितरण पद्धति तथा प्रचलित यातायात नीतिले अहिलेको सवारी व्यवस्थापनको मुद्दालाई भरथेक गर्ने अवस्था देखिँदैन । जनकपुरको विकास अहिलसम्म पनि अवैज्ञानिक किसिमले नै रहेको छ । जबसम्म सवारी रुट निर्धारणसँगै कार्यान्वयन तर्फ लगिदैन तबसम्म अवस्थित नै रहन्छ ।
ट्राफिक व्यवस्थापनका लागि जनकपुर उपमहानगरपालिका, जिल्ला टूाफिक कार्यालय, सहरी विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, नागरिक समाज, बुद्धिजीवि तथा राजनीतिक दलहरुबीच सहमति अनुसार अगाडि बढेमा मात्र केही हदसम्म नगरभित्र टूाफिक व्यवस्थापन गर्न सकिन्छ ।
टूाफिक व्यवस्थापनका लागि नगरभित्र सडकमै रहेको छाडा गाईहरु नियन्त्रण, सडक मर्मत, नालाको सफाई, विभिन्न चौक चौराहामा टूाफिक जनचेतना बोर्ड, टूाफिक उल्लंघन गर्नेमाथि दण्डजरिवानाको प्रावधान, सवारी चालकहरुलाई रुट निर्धारणसँगै वनवे, टूवे लागू गर्नुपर्दछ । साथै सडक छेउमा रहेको  घर टहरालाई समेत व्यवस्थापन गर्नुपर्दछ । विशेषगरी जनकपुरको खुम्चिएको सडकमा पानी जम्ने, खल्डाखुल्डा हुने लगायतका समस्याले टूाफिक जति पनि सक्रिय भएपनि व्यवस्थापनमा समस्या नै हुनेछ ।
सवारी साधन अवरोधबिना सञ्चालन होस् भन्ने सडक प्रयोगकर्ताहरूको चाहना बिभिन्न आग्रहबाट लक्षित तदर्थ टूाफिक व्यवस्थाबाट कहिल्यै सम्भव हुँदैन । टूाफिक योजनाको प्राथमिकता छनोटप्रति अहिले देखिएको उदासीनताले सिर्जित तल उल्लेखित तथ्याङ्कहरूले पनि यस्तै छनक दिएको छ ।
प्रचलित सवारी साधन आयात नीति कहिल्यै पनि वैज्ञानिक हुनसकेको छैन । जनसंख्या, सडक पूर्वाधार र टूाफिक अवस्थालाई नजरअन्दाज गरी तदर्थ सवारी आयात नीतिका आधारमा भित्रिने सवारी साधनलाई यहाँको सडकले धान्नसक्ने अवस्था अब छैन । प्राविधिक प्रदूषणले थिचिएका जीर्ण सवारी साधनहरूले अहिले जनकपुरकोे सुन्दरतालाई परिहास गरिरहेको देखिन्छ ।
जनकपुर ऐतिहासिक धार्मिक नगरी हो । यहाँ बाहिरबाट दैनिक सैकडौको संख्यामा सवारी आउने गर्दछन । तर टूाफिक व्यवस्थापन हुन नसक्दा नगरभित्र गाडी पसाउने समस्यामाथि समस्या उत्पन्न हुने गरेको छ ।  नगरभित्र टूाफिक व्यवस्थापन एउटा समस्या त छँदैछ, अर्को समस्या सवारी पार्किङ्गको पनि रहेको छ । नगरभित्र गाडी पस्यो भने गाडीको पार्किङ्ग कहाँ गर्ने यो पनि यहाँका लागि अवैज्ञानिक शहरको रुपमा सावित हुन जान्छ । यसका लागि नगरपालिकाको विशेष ध्यान दिनुपर्दछ । विश्वका हिन्दुहरुका लागि आस्थाको केन्द्रको रुपमा जनकपुर रहेको छ । तर अवैज्ञानिक किसिमले विकास हुँदा यहाँ पर्यटकहरु आउन समेत असुविधा ठानिरहेको हुन्छ । विशेषगरी नेपाल भरिकै अहिलेसम्म पर्यटक आउन सकेको छैन । यसको एउटा कारण हो अवैज्ञानिक किसिमका सहर तथा टूाफिक व्यवस्थापन हुन नसकेको  । जनकपुरलाई व्यवस्थित र सुन्दर बनाउनका लागि राज्यलाई ध्यानाकर्षण गराउन आवश्यक छ ।
टूाफिक व्यवस्थापन हुन नसक्दा विशेषगरी बाहिरबाट आफ्नै सवारी प्रयोग गरेर आएका पर्यटकहरुलाई धौधौ परेको हुन्छ । ठूलठूल्ला गाडीहरुलाई नगरभित्र छिडाउनमा समस्याका साथै पार्किङ्गको बढी समस्या हुँदा यहाँ ठहर्न मानिरहेको छैन । जनकपुर आएका पर्यटकहरु यहाँ नठहरिकन सिधै काठमाडौंको लागि प्रस्तान हुनुको मुख्य कारण टूाफिक व्यवस्थापन र यहाँका सडकहरु रहेको देखिएको छ ।
वैज्ञानिक किसिमले जनकपुरको विकास गर्नु हो भन्ने टूाफिक व्यवस्थापन, सडक तथा पार्किङ्गको व्यवस्थापन सबभन्दा आवश्यक रहेको छ । यसका लागि सम्बन्धित निकायको ध्यान जान आवशयक छ ।

No comments:

Post a Comment