Wednesday, May 8, 2019

सिंचाई कार्यालयमा एक महिनादेखि तालाबन्दी करोडौको ठेक्का अलपत्रमा पर्ने सम्भावना


जनकपुरधाम, २३ बैशाख । प्रदेश सरकारको अधिनमा रहेको जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय जनकपुरधामको आर्थिक प्रशासन कार्यालयमा विगत एक महिना देखि तालाबन्दी छ । कार्यालयमा तालाबन्दीको कारण करोडौको ठेक्का अलपत्रमा पर्ने सम्भवना बढेको छ ।
आर्थिक मसान्तको सम्पन्न हुन लागेको बेला विभिन्न उपभोक्ता समिति तथा ठेकेदारको कामकारवाही नै अवरोध पारी लेखापाल नविन झाले तालाबन्दी गरेर गएपछि यस कार्यालयलाई मरिहत्ते भएको हो ।
करिब ३ महिना पूर्वदेखि लेखापाल पदमा कार्यरत्त नविन झाले आफु अनुकुल उपभोक्ता समिति तथा विभिन्न ठेकेदारलाई काम गर्न दवाव दिन थालेपछि कार्यालयको काम कारवाही नै प्रभावित हुन थालेको थियो । जसले गर्दा कार्यालय प्रमुख भगवान झा र निवर्तमान लेखापाल नविन झा वीच उत्पन्न विवादले उग्ररुप लियो । यस विषयमा जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय जनकपुरधामले प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रालयलाई एक पत्र लेखि जानकारी गराएको थियो ।
मन्त्रालयमा जानकारी भएपछि नविन झालाई यस कार्यालयबाट जनस्वास्थ्य कार्यालय धनुषामा सरुवा गरेको थियो । सरुवा गराएको झोकमा लेखापाल नविन झाले आर्थिक प्रशासन शाखामा एक महिना देखि नै तालाबन्दी गरे ।
यता डिभिजन कार्यालयका प्रमुख भगवान झाले मन्त्रालयमा पत्र लेखि यस कार्यालयबाट भगाउन खोजेको थाहा पाएपछि लेखापाल नविन झाले कार्यालयको साम्रगी विना बुझबुझारथकै उनी जनस्वास्थ्य कार्यालय धनुषामा हाजिर हुदैँ आएका छन् । तर यस प्रति भने कार्यालय प्रमुख भगवान झाले ५ पटक सम्म मन्त्रालय तथा जनस्वास्थ्य कार्यालय समेतलाई रवाना पत्र विना नविन झालाई हाजिर किन र कसरी गराइयो भनि पत्र पठाएको थियो ।
कार्यालय प्रमुख भगवान झाले लेखापाल नविन झाको बारेमा जिल्ला जनस्वास्थय कार्यालय धनुषामा विना रवाना पत्रको कसरी हाजिर गराएको भनि पत्र पठाएपछि एकाध घण्टाका लागि ताला खोलेको जिकिर गरे ।
आर्थिक प्रशासन शाखामा महत्वपूर्ण फाईल तथा डकुमेन्टस्हरु रहेकाले उपभोक्ता समिति तथा ठेकेदारको आर्थिक कारोबार नै ठप्प रहँदा निकै समस्या परेको छ ।
करोडौँको कामकारवाहीहरु प्रभावित पार्ने गरी महिनौँ दिनसम्म तालाबन्दी रहँदा समेत सम्बन्धित निकायले बेवास्ता गर्दा प्रदेश नम्बर २ को सरकारी कामकाजको व्यथिती लथालिंग रहेको उजागर भएको छ ।
यता तालाबन्दीकै कारण करिब एक महिना देखि समायोजन तथा पदस्थापन भएर यस कार्यालयमा हाजिर हुन आएका एक लेखापाल दिन विताएर घर फर्किने गरेका छन् ।
लेखापाल पदमा चैत २६ गते देखि नै डिभिजन कार्यालयमा हाजिर भएपनि उनको रवाना पत्र हालसम्म यस कार्यालयले नबुझ्दा रामचन्द्र ठाकुर कार्यालय समयमै हाजिर भई ५ बजे तर्फ फर्किने गरेको छ ।
उनी यस कार्यालयमा आउँदा लिएर आएको रवाना पत्र समेत हालसम्म डिभिजन कार्यालयले बुझ्न मानेका छैनन् ।
अर्का लेखापाल नविन झाले विना हिसाबकिताब विना बुझाबुझारथ नै तालाबन्दी गरेर साँचो हस्तान्तरण नगर्दा कार्यालयको अर्को कक्षमा बसेर समयमा काट्ने गरेको उनले जनाए । त्यस्तै ईन्जिनियर गिरिन्द्र झाले गलत क्रियाकलाप गर्ने जोसुकैलाई कडाकारवाही नहुँदा अराजक र अनुशासनहीनता निम्तिएको बताउदँै उनले कार्यालय संचालन र कामकारवाहीमा अवरोध नहोस् भनि सिस्टममा ल्याउन आवश्यकता रहेको बताए ।
तर डिभिजन कार्यालयका प्रमुख भगवान झाले ५ पटकसम्म पनि मन्त्रालयलाई पत्र लेख्दा कुनै ठोस कदम नचालेकाले यस्तो समस्या पहिलो पटक देखा परेको गुनासो गरे । उनले अब छिट्टै नै ताल्चा खुल्ने समेत जनाए ।
तर यस कार्यालयको आर्थिक प्रशासन शाखामा लेखपाल नविन झाले तालाबन्दी गरे लगत्तै कार्यालयले समेत अर्को ताल्चा लगाएका छन् । कार्यालयको अन्य सामाग्री तथा करोडौँको ठेक्कापट्टाको कागजातहरु यस भित्र नै रहेकाले अर्को ताल्चा समेत लगाइएको जनाइएको  छ ।

No comments:

Post a Comment