Saturday, September 19, 2020

असोज ३ काला दिन ः मन्त्री सोनल, हर्ष न उन्माद ः मन्त्री यादव


जनकपुरधाम, २ असोज । असोज ३ गते संविधान दिवस हो । २०७२ साल असोज ३ गते संविधान जारी भएको छ । यस दिनलाई नेपाल सरकारले हर्षोल्लास पूर्वक मनाउन निर्देशन दिएका छन् भने अर्कोतिर प्रदेश २ का मन्त्रीहरुले अलग अलग किसिमले मनाउने बताएका छन् ।
असोज ३, ४ र ५ गते सरकारी कार्यालय, नगरपालिका तथ मन्त्रालय लगायतमा दीपावली मनाउन सरकारले निर्देशन दिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिएका छन् । तर अर्कोतिर प्रदेशकै मन्त्रीहरु संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने बताएका छन् ।
‘हामी असोज ३ लाई कालो दिनको रुपमा मनाउँछौं । जबसम्म संविधान संशोधन हुँदैन तबसम्म हामी यो संविधानलाई पूर्णता दिदैनौं’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री जितेन्द्र सोनलले भने । यो संविधान एउटा समुदायको अधिकार वन्चित गरेको छ । मान्छेलाई जेलमा राखेर, नेतालाई थुनेर, झुठा मुद्दा लगाएर निर्माण गरिएको संविधान हो । त्यसैले जबसम्म संविधान संशोधन हुँदैन हामी यो संविधानलाई मान्दैनौं । संविधान निर्माणको बेलामा पनि हामी यस दिनलाई कालो दिनको रुपमा लिएका थियौं आज पनि मनाउने छौं मन्त्री सोनलले दोहोर्याए ।
‘म आफै जेलमा थिए, बाहिर के हुँदैछ सञ्चारमार्फत मात्र थाहा हुन्थ्यो । त्यस्तो बेलामा बनेको संविधानलाई स्वीकार गर्दैनौ । मधेशी जनताको भावना अनुसार संविधान संशोधन हुन्छ हामी यो संविधानलाई स्वीकार गर्छौ ’मन्त्री सोनलको भनाई छ ।
त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले यो संविधानबाट हामीलाई हर्षपनि छैन र उन्माद पनि छैन । किन भने केही उपलब्धी यही संविधानको मार्फत हामी पाएकाछौं । संघीयता, समावेसी समानुपातिक लगायत धेरै उपलब्धी पनि रहेको छ त्यसैले संविधान दिवसका दिन हामी कालो दिवस पनि नमनाउने र दीपावली पनि नगर्ने हाम्रो धारणा हो ।
आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले मन्त्री यादवकै कुरालाई समर्थन गर्दै भने, ‘यो संविधान पूर्ण संविधान छैन । मधेशी जनताको अधिकार सुििनश्चित भएपनि मात्र मधेशी जनता संविधान दिवसको अवसरमा दीपावली मनाउने बताएका छन् ।
त्यस्तै समाजवादी पार्टीकै प्रदेश साँसद तथा तत्कालिन समाजवादी पार्टीका उपनेता रामअशिष यादवले असोज ३ गते हामी कालो दिनको रुपमा मनाउने ठोकुवा गरेका छन् । वर्तमान संविधान पूर्ण संविधान नरहेको र यो संविधानले मधेशी जनताको अधिकार पनि सुनिश्चित गर्ने देखिएकोले असोज ३ गते कालो दिनको रुपमा मनाउने दोहोर्याएका छन् ।
यता जनता समावादी पार्टीले संविधान दिवसलाई विरोध गरेको छ । पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै जनकपुरधामको जनक चौकमा संविधानको विरुद्ध प्रदर्शन लगायतको कार्यक्रम गर्ने निर्णय गरेको जनाएको छ । अधिकांश जपसमा नेता तथा कार्यकर्ताहरुले दैनिक जनकपुरसँग कुराकानी गर्दा असोज ३ कालो दिनको रुपमा मनाउने बताएका छन् ।

No comments:

Post a Comment