Tuesday, September 8, 2020

राज्यमन्त्री कुशवाहाको आतिथ्यमा महोत्तरीमा नेकपाका सयबढी युवाहरु जसपामा प्रवेश

जनकपुरधाम, २३ भदौ । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाको प्रमुख आतिथ्यमा महोत्तरीमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सयभन्दा बढी नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सोही नगरपालिकाका नगर संयोजक रामबाबु मण्डलको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेता हवलदार भनिने मो. ऐनुल नद्दाफको नेतृत्वमा सयौं नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन । उनीहरुलाई राज्यमन्त्री कुशवाहाले पार्टीमा भित्र्याए । नव प्रवेशीहरुलाई राज्यमन्त्री कुशवाहाले फुलमाला तथा अविर लगाएर स्वागत गरेका थिए ।
जसपामा प्रवेश गरेका नेता हवलदारले नेपाल कम्युनिष्ट पार्टीमा रहँदा कैयौं नेताले ठगेको गुनासो सुनाए । उनले भने, ‘एउटा मस्जिद निर्माणका लागि नेताले पटक पटक प्रतिवद्धता जनाए । यही बहानामा भोट पनि तान्यो । तर मस्जिद बनाइदिएन । यस्ता कैयौं समस्याको समाधान गर्ने बताएका नेता केहि नगरेपछि बाध्य भएर पार्टी परित्याग गरेका छौं ।’


राज्यमन्त्री कुशवाहाले जनता समाजवादी पार्टी सबै जातजातीलाई समान व्यवहार गर्ने गरेको बताए । उनले भने, ‘कम्युनिष्ट कमाउनिष्ट भयो । काँग्रेस मधेसीको अपमान गर्यो । त्यसैले बैकल्पिक पार्टीको रुपमा जसपाको जन्म भएको छ ।’ उनले संघीय सरकारले प्रदेश २ का जनतालाई अझै हेप्ने गरेको गुनासो गरे ।
पार्टी प्रवेश कार्यक्रममा क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष गंगनदेव यादव, सम्सी नगरपालिकाका संयोजक कैलास यादव, रामगोपालपुरका प्रवक्ता शिवजी महतो, वडा नं. ४ का वडा संयोजक रामबाबु सिंह सहितले विचार राखेका थिए ।
महस्जिद शिलान्यास
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले महोत्तरीको रामगोपालपुर नगरपालिका ३ मा मस्जिदको शिलान्यास गरेका छन् ।
मंगलवार एक समारोहबीच राज्यमन्त्री कुशवाहाले मस्जिदको शिलान्यास गरेका हुन् । त्यहाँ मस्जिद निर्माणका लागि आधार निर्माण भइसकेको छ । यद्दपी आर्थिक अभावमा त्यहाँका मुस्लिम समुदायले मस्जिद निर्माण गर्न सकेका थिएनन् । उनीहरुले राज्यमन्त्री कुशवाहासँग आग्रह गरेपछि उनले मस्जिद निर्माण गरिदिने प्रतिवद्धता जनाए ।
मस्जिद निर्माणमा करिब २० लाख रुपैया लाग्ने अनुमान गरिएको छ । उक्त रकम राज्यमन्त्री कुशवाहाले आफ्नो संसदीय विकास कोषबाट दिने बताएका छन् । राज्यमन्त्री कुशवाहाले भने, ‘मस्जिद निर्माणमा जति रकम लाग्छ । दिन्छु ।’ अन्य नेता जस्तो प्रतिवद्धता जनाएर पछि नहट्ने उनको भनाई थियो ।






No comments:

Post a Comment