Monday, October 8, 2018

‘अटेरी गर्नेको घरमा फेरी डोजर चल्यो’


जनकपुरधाम, असोज २१ । जनकपुरधाम उपमहा नगरपालिकाले सडक फराकिलो गर्ने क्रममा घरधनीहरु घर भत्काउनमा अटेरी गर्नेहरुको घरमाथि डोजर चलाइएको छ । जनकपुरधाम उपहानगरपाकिला वडा नं. ९ र वडा नं. ४ मा घर भत्काउनमा अटेरी घरधनीको घरमाथि डोजर लगाइएको छ ।
उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आफै उभेर अटेरी गर्नेहरुको घरमाथि डोजर चलाइएको हो । सोही क्रममा  जनकपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष प्रमेश्वर साहको घरमाथि डोजर चलाइएको छ । जनकपुरको पीडारीचोक र थापाचोकको बिचमा रहेको वडाध्यक्ष साहको घरमाथि आईतवार विहान डोजर चलाइएको हो । वडाध्यक्ष लगायत त्यहाँका अन्य ४।५ जनाको सडकमा पर्ने घरको भाग डोजर लगाएर तोडिएको छ ।
उपमहानगरपालिकाले सडकमा परेको वडाध्यक्षको घर तोड्न पटक पटक आग्रह र परिपत्र समेत गर्दा नतोडेपछि डोजर चलाएर तोडिएको मेयर लालकिशोर साहले बताएका छन् ।
जनकपुरमा एसियाली विकास बैंकको सहयोगमा जारी एकीकृत सहरी विकास परियोजना अन्तर्गत भइरहेको सडक निर्माण एवं विस्तारको काममा वडाध्यक्षले घर नतोडेपछि तीन महिनादेखि अवरोध भएको भन्दै डोजर लगाएर तोडिएको मेयर साहको कथन रहेको छ । नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित प्रमेश्वर साहको घर आईतवार विहान ९ बजे व्यापक प्रहरीको उपस्थितिमा डोजर लगाएर तोडिएको छ ।
घर तोड्ने क्रममा वडाध्यक्ष प्रमेश्वर साहसहित परिवार घर अगाडी अवरोध गरेपछि प्रहरीले वडाध्यक्षसहित उहाँकी पत्नी चाँदा साह, दाई लालबाबु साह र भान्जा वसन्त साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले तीन घण्टा हिरासतमा राखेर छोडेको छ ।
अगामी ५ डिसेम्बर २०१८ सम्म मात्र म्याद रहेको जारी एडीबी परियोजनाको काम पीडारीचोकमा वडाध्यक्षको घरले अवरोध भएको भन्दै केहि स्थानीयहरुले पटक पटक सडक अवरुद्ध गर्ने गरेका थिए । केहीदिन अघि मेयर लालकिशोरलाई स्थानीयहरुले घेराबन्दी समेत गरेका थिए ।
आईतवार विहान समेत त्यहाँका केहि स्थानीयहरुले तेश्रो पटक वडाध्यक्ष साहको घर तोड्नु पर्ने र सडक निर्माणको काम गर्नुपर्ने भन्दै चक्कजाम गरेका थिए । चक्कजाम खोलाउन पुगेका मेयर लालकिशोर र उपमेयर रिता झालाई घर अहिले नै तोड्नु पर्ने स्थानीयले दवाव दिएपछि प्रहरीको सहयोगमा एकाएक घरमाथि डोजर भिडाएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
जनकपुरको अन्य दुई तीन स्थानमा अवरोध भएको र त्यसको कारणले सडक निर्माण र विस्तार जस्ता विकासको काममा ढिलाई भएकाले अव त्यस्ता घरमाथि पनि डोजर भिडाइने मेयर साहले चेतावनी दिनुभयो । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर र उपमेयर रीता झा राजपा नेपालबाट निर्वाचित प्रतिनिधि हुन् ।
यता वडाध्यक्ष प्रमेश्वर साहले आफ्नो घर सडकमा नपरेको दावी गर्दै मेयर लालकिशोरले पूर्वाग्रही र रिसीइवी साध्न तोडेको आरोप लगाएका छन् ।

No comments:

Post a Comment