Thursday, May 3, 2018

प्रदेश २मा होटल र लजसम्म चेकजाँच गर्ने निर्देशन


जनकपुरधाम, २० बैशाख । मोदीको आसन्न जनकपुर भ्रमणलाई लिएर चारै तहको सुरक्षा निकायको बैठक विहिवार सम्पन्न भएको छ ।

सुरक्षा बैकठमा अनुसन्धान विभाग, सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाका प्रमुखहरुको सहभागिता रहेका थियो । उनीहरुले खुल्ला सीमानका कारण धेरै चुनौती रहेकोले कडा सुरक्षा व्यवस्था अपनाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
आठवटै जिल्लाको सीमा क्षेत्रमा सर्तक भएर बस्नका लागि सुरक्षा निकायलाई निर्देशन दिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले दैनिक जनकपुरलाई बताएका छन् । उनले यहाँका होटल र लजमा समेत निगरानी राखी भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ जाने यात्रुहरु, सवारी साधनलाई निगरानी गरि चेकजाँच गर्ने समेत छलफल भएको जानकारी दिएका छन् ।
मन्त्री यादवले सादा पोशाकका सुरक्षाकर्मीलाई समेत परिचालन गरेको जानकारी दिंदै सो छलफलमा भारतीय सुरक्षा अधिकारीहरुको समेत सहभागिता रहेको बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको क्रममा कुनैपनि अवान्छिनीय क्रियाकलाप नहोस् भनेर सुरक्षा निकायलाई कडा निर्देशन दिएको जानकारी दिंदै मन्त्री यादवले सबै तहका सुरक्षा निकायका प्रमुख तथा मातहतका सुरक्षा निकायलाई अलर्ट रहन समेत छलफल भएको जानकारी दिएका हुन ।
यसअघि प्रधानमन्त्री मोदीको हेलिकप्टर जनकपुरको ऐतिहासिक बाह्रविघामा अवतरण गर्ने व्यवस्था गरिएता पनि अव चाहि जनकपुर विमान स्थलमा अवतरण गर्ने ९० प्रतिशत सम्भावना बढेको समेत जानकारी मन्त्री यादवले दिएका छन् ।
मुख्यमन्त्रीदेखि सुरक्षा निकाय व्यस्त
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई लिएर मुख्यमन्त्रीदेखि सुरक्षा निकायसम्म व्यवस्थापनमै व्यस्त रहेको छ । सुरक्षालाई चुस्तदुरुस्त पार्न, नगरभित्र संस्कृतिक झल्काउन, स्वागतद्वार लगायतको छलफलमा व्यक्ति रहँदै आएको छ ।
जनकपुर उपमहा नगरपालिका भित्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने भारतीय पदाधिकारीहरु र नेपाली पदाधिकारीहरु मोदीकै भ्रमणलाई सफल बनाउन व्यस्त रहेका छन् । यता जनकपुर उपमहानगरपालिकाका मेयर, उपमेयर लगायत सबै व्यवस्थापनमा नै व्यस्त छन् ।
मोदीको आसन्न भ्रमण नजिकिँदै गर्दा भारतीय उच्च सुरक्षा अधिकारी तथा कुटनीतिक अधिकारीहरु जनकपुरमा सक्रिय भएका छन् । उनीहरु मोदीको स्वागत तथा सुरक्षा अवस्था प्रति केन्द्रित छन् ।
बैशाख २८मा सार्वजनिक विदा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन प्रदेश २ मा सार्वजनिक विदा दिने निर्णय गरिएको छ । बिहीबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले वैशाख २८ गते प्रदेश स्तरीय सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सचिव हरि फुयाँलले जानकारी दिएका छन ।
सरकारले प्रदेशभित्रका आठवटै जिल्लाबाट मोदीले सम्बोधन गर्ने कार्यक्रममा ५० हजार मानिस सहभागी गराउन सर्कुलर जारी गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले दुई वटा थप विद्येयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । नीति आयोग गठन तथा कार्य आदेश विधेयक र प्रदेश प्रकृतिक स्रोत  व्यवस्थापन विधेयक बनाउने विषयमा मन्त्रिपरिपरिषदबाट निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानाएको छ ।

No comments:

Post a Comment