Sunday, August 16, 2015

मोर्चाद्वारा जनकपुर बन्द, तीनवटा गाडीमा तोडफोड

कैलास दास
जनकपुर, साउन ३१ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, नेकपा माओवादी तथा नेपाल सद्भावना पार्टीले शीर्ष चार दलका नेताले संघीय प्रदेशको सिमांकनका विषयमा गरेको सहमतिको विरोधमा नेपाल बन्दले जनकपुर सहित तराई मधेशका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ ।

बन्दकर्ताहरुले बन्दको उलंघन गर्ने भन्दै जनकपुर मुजेलिया स्थित जनकपुर डिजल सेन्टरमा तोडफोड गरेको छ । त्यस्तै जनकपुर जटही चल्ने ज.१ख. ७४१ नम्वर बस तथा अस्पताल रोडमा ज.१.च ७७४ नम्वरको पिकअपमा तोडफोड गरेको हो । त्यस्तै भ्रमरपुरा चौकमा नम्वर नखुलेको एउटा स्कारपियोमा समेत तोडफो गरेको छ ।
जनकपुरबाट चल्ने छोटो तथा लामो दूरीको कुनै पनि सवारी साधन चलेको छैन भने मोटर साईकल, रिक्साहरु फाटफूट रुपमा चलेको छ । ठूला सवारी साधनहरु नचलेका कारणले कतिपय व्यक्तिहरु रिक्सा तथा मोटरसाईकल चढ्न बाध्य रहेका छन् । सवारी साधन नचलेका कारणले सरकारी कार्यालयहरुमा पनि आम सेवा ग्राहीको उपस्थिति न्युन रहेको छ ।
नेपाल बन्दको असर बजार, उद्योग, कलकारखाना सहितको व्यापारिक प्रतिष्ठानहरुमा पनि परेको छ । शिक्षण संस्थाहरु बन्द नै रहेको छ । अत्यावश्यक सवारीसाधनहरु एम्बुलेन्स, शव वाहन, दुधको ट्यांकर, वारुण यन्त्र तथा प्रेसको गाडीमा अवरोध गरिएको छैन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा,वैद्य नेतृत्वको माोवादीले आईतवार र सोमवार नेपाल बन्दको आह्वाहन गरेको छ भने नेपाल सद्भावना पार्टीले ३० गते शनिवार देखि नै मधेश बन्दको आह्वाहन गरेको छ । बन्दलाई अन्य युवा संगठनहरुले समर्थन जनाएका छन् ।
बन्दको असर विहानदेखि धनुषाको अन्य व्यापारिक केन्द्रहरुमा परेको छ । महोत्तरी, सर्लाही, सिरहा सहितको जिल्लाहरुमा बन्दको असर परेको हो । बन्दलाई दृष्टिगत गरेर जनकपुरको चौक चौकमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

No comments:

Post a Comment