Thursday, September 25, 2014

दशैं बजार प्रारम्भ, सस्तो एवं गुणस्तरीय हुने दावी

कैलास दास
जनकपुर, असोज ९ । दशैं दीपावली तथा छठ पर्वलाई दृष्टिगत गरेर जनकपुरमा विहिवारदेखि दशैं बजार (सस्तो बजार) २०७१ प्रारम्भ भएको छ ।
दशैं बजार ब्यवस्थापन मूल समितिद्वारा गोपाल धर्मशालामा आयोजना गरिएको सो बजारमा अन्य दिनको अपेक्षामा सस्तो र गुणस्तरीय हुने समितिले दावी गरेको छ । समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले सेवाको भावनाले कम मुनाफामा उपभोग्य सामानहरु बिक्री गरिने बजारको मुख्य उद्देश्य रहेको भन्दै यो बजारमा सस्तो गुणस्तरीय स्वदेशी उत्पादन सामाग्री रहने बताए ।
कार्यक्रममा जउवा संघका पूर्व अध्यक्ष एवं पूर्व नगरप्रमुख बजरंग प्रसाद साहले ऐतिहासिक एवं पौराणिक पहिचानको रुपमा रहेको यहाँका विजयादशमी, दीपावली तथा छठ पर्वमा लोडसेडिङ्ग नगर्नका लागि आग्रह गरे । उनले नवनिर्वाचित कार्यसमितिलाई राम्रो जनकपुर, हाम्रो जनकपुर बुझी विकासको क्षेत्रमा पनि अगाडि बढनका लागि सुझाव दिंदै जनकपुर नगरपालिकासँग सरसफाई सहितको कार्यमा सघाउनका लागि आग्रह गरे ।
जनकपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवशंकर साह (हिरा)ले यहाँका व्यापारीहरुका लागि जटही बोर्डर खोलाउन अति आवश्यक रहेको भन्दै सोको लागि आफू पटनाका केही सांसदहरुसँग कुराकानी गरिरहेको बताए । उनले जउवासँगमा विजयी भन्दा दायित्व र कर्तव्यमाथि बढी ध्यान पु¥याउने आफूले बोध गरेको भन्दै जनकपुर विकासका लागि आएको एकीकृत सहरी विकास आयोजना कार्यान्वयनका लागि दलहरुसँग बसेर कुराकानी गर्ने बताए ।
कार्यक्रममा प्रहरी उपरीक्षक गणेश थापाले जनकपुरको शान्ति सुरक्षाका लागि आफू हरदम तयार रहने दावी गर्दै जनकपुरमा जडान भएको ३५ वटा सीसीटी क्यामरा मध्ये चालु अवस्थामा ३ ÷४ वटा मात्र रहेको छ । त्यसलाई सञ्चालनमा ल्याउनुपर्ने प्रतिबद्धता जनाए ।
असोज १६ गते सम्म लाग्ने दशैं बजारमा स्वदेशी तथा विदेशी दैनिक उपभोग्यका सामग्रीहरु विक्रि वितरणका लागि राखिएको छ । दशैं बजारमा जनकपुरका अतिरिक्त विरगञ्ज, विराटनगर, पोखरा, भैरहवा, र काठमाण्डौंमा उत्पादित सामग्रीहरुको विक्रि कक्षा स्थापना गरिएको छ ।
साथै भारतमा उत्पादित उपभोग्य सामग्रीहरु पनि विक्रि कक्षमा राखिएको छ । आम जनतालाई सस्तो दरमा सुलभ तरिकाले उपभोग्य सामग्री उपलब्ध गराउने उदेश्यले विगत चार दशकदेखि जनकपुर उद्योग वाणिज्य संघको अगुवाईमा दशैं बजार लाग्ने गरेको छ ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्याम प्रसाद साहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य निर्मल चौधरी, संघका पूर्व अध्यक्ष प्रकाश चन्द्र साह, समाजसेवी गणेश चैतन्य ब्रह्मचारी, होटल संघका अध्यक्ष दशरथ साह,  ब्रह्मकुमारी राजयोगकी सञ्चालितका गंगामाता सहितका वक्ताहरुले सस्ता बजारका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमका उद्घोषण जउवा संघका महासचिव ललित साहले गरेका थिए ।
विभिन्न क्षेत्रका व्यक्तिहरुले दशैं दिपावली तथा छठ पर्वमा सस्तो दरमा उपभोग्य सामग्री उपलब्ध गराउने उदेश्यले बजार लाग्दै आएको छ । दशैं बजारमा खास गरेर अगरबत्ति, साबुन, चियापत्ति, चाउचाउ, नुन चिनी प्लाष्टिकको भाडा बर्तन तथा अन्य उपभोग्य वस्तुहरुको विक्रि वितरण अत्यधिक मात्रामा हुने गरेको छ । कतिपय व्यक्तिले वर्ष भरिका लागि साबुन, चियापत्ति, र अगरबत्ति खरिद गर्ने गरेका छन् । जनकपुरको सस्तो बजारमा धनुषा महोत्तरी, सिरहा, सर्लाही, सिन्धुली र सिमावर्ती क्षेत्रका उपभोक्ताहरु किन्ने गरेका छन् ।

No comments:

Post a Comment