Thursday, May 8, 2014

सभासद संजय साह पूर्वपक्षका लागि थुनामा

कैलास दास

जनकपुर,बैशाख २५ । जनकपुरको रामानन्द चौकमा भएको बम विस्फोटको प्रमुख योजनाकार भनेर प्रहरीद्वारा मुद्दा चलाईएका धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित सभासद एवं सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष संजय कुमार साहलाई जिल्ला अदालत धनुषाले पूर्वपक्षका लागि थुनामा पठाएको छ ।
धनुषा जिल्ला अदालतको ईजलास नं. २ का न्यायधिश कैलास केसीको ईजलासमा दुवै पक्षका कानून व्यवसायीहरुको थुनछेक बहस सकिएपछि पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय भएको हो । थुनछेक बहस मंगलवारदेखि प्रारम्भ भएर विहिवारसम्म चलेका थिए ।
प्रतिवादी संजय कुमार साहको तर्फबाट विहिवार बहस गर्नेहरुमा अधिवक्ता मन्सुर राईन, रमण श्रेष्ठ, शिव कुमार सिंह, सुबोध मण्डल र दिलिप मण्डल रहेका छन् । प्रतिविादीको बहस सकिएपछि वादी नेपाल सरकारका तर्फबाट अधिवक्ता चन्द्रप्रकाश मैनाली र हेमबहादुर कार्कीले जिरह गरेका थिए । जिल्ला न्यायधिश केसीले मुलुकी ऐनको ११८ को देहाय २ बमोजिम पूर्वपक्षको लागि जलेश्वर कारागार पठाउने आदेश जारी गरेको छ ।   
निक्कै कडा सुरक्षाका बीच भएको बहस पश्चात न्यायधिश केसीलाई फैसला दिनका लागि अढाई घण्टा समय लागेका थिए । सद्भावना पार्टीका कार्यकर्ता एवं सभासद साहका आफन्तहरुले अदालत प्रवेश गर्ने मुल प्रवेशद्वारमा नारावाजी गरेका थिए । सद्भावना पार्टीका कार्यकर्ता तथा आफन्तहरुले जानकी मन्दिरबाट अदालतको आदेशको विरुद्धमा मशाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीले लाठी चार्ज गरी कार्यकर्ताहरुलाई तितरवित्तर पारेका थिए ।
लाठी चार्जको क्रममा सद्भावना पार्टीका जिल्ला सहसचिव बिबता पूर्वे, कुर्थाका सावित्री मण्डल सहित तीनजना महिला गम्भीर रुपमा घाइते भएका छन् । घाइतेहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको पार्टी जिल्ला अध्यक्ष संजय कुमार सिंहले जनाएको छ । घाइते मध्ये एक महिला बेहोस् अवस्थामा रहेका छन् ।
यसै गरी प्रहरीले सभासद संजय कुमार साहका बहिनी सहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । यसैबीच जनकपुरको जनक चौकमा साहका आफन्त एवं कार्यकर्ता तथा प्रहरीका बीचमा झडप हुने क्रम जारी रहेको राति ८ बजे सम्म जारी रहेका थिए । उता कार्यकर्ताहरुले आदेशको विरोधमा टायर बाली विरोध गरेका थिए ।
अदालतको फैसला के आउँछ त्यो सुन्नका लागि सर्वसाधारण देखि उनका शुभचिन्तक एवं आफन्तहरु व्यापक संख्यामा अदालत वरिपरि भेला भएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले बल प्रयोग गरेर सभासद साहका समर्थकहरुलाई मूल गेटबाट जवरजस्ती बल प्रयोग गरी सडक खाली गराई सभासद साहलाई प्रहरीले जलेश्वर कारागार लगेका थिए ।
यसै बीच प्रहरीले पूर्व अनुमान गरे अनुसार अदालतले फैसला गर्नु भन्दा अगाडी नै जलेश्वर कारागारमा रहेका मुकेश चौधरी सहितका केही व्यक्तिलाई अन्यत्र ठाउँ सारिएको छ । सभासद साह जलेश्वर गए पछि मुकेश चौधरीलाई खतरा हुने आशंकालाई दृष्टिगत गरेर अन्यत्र लगिएको विश्वस्त श्रोतले जनाएको छ ।
यसै बीच सद्भावना पार्टीले अदालत फैसला पश्चात उठाउनु पर्ने कदम बारेमा छलफल गरिरहेको पार्टीका जिल्ला वरिष्ठ उपाध्यक्ष जगदिश महासेठले जनाएको छ ।  

२०६९ साल बैशाख १८ गते मिथिला राज्यको माग सहित शान्तिपूर्ण धर्नामा बसेकाहरुलाई लक्षित गरी गराईएको बम विस्फोटमा परी जनकपुर ८ का विमलशरण, सुरेश उपाध्याय, झगरु दास, दिपेन्द्र दास र प्रसिद्ध कालाकार रञ्जु झाको मृत्यु भएको थियो भने ३२ जना घाईते भएका थिए ।
यस अघि उक्त घटनाको अभियोगमा प्रहरीले जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजनमुक्ति भनिने रञ्जित कुमार झा, अर्जुन सिंह भनिने मुकेश चौधरी, रिपेन्द्र चौधरी, सुरेश कर्ण, मुकेश झा, शिवम शर्मालाई पक्राउ गरी मुद्दा चलाएर पूर्वपक्षका लागि अदालतद्वारा थुनामा पठाईसकेका छन् । सभासद संजय कुमार साहलाई शनिवार राति पर्सा जिल्लाको छपकैयाबाट पक्राउ गरी सोही मुद्दामा मुद्दा चलाएको थियो ।

No comments:

Post a Comment