Tuesday, May 20, 2014

एडीबी परियोजनामाथि पनि राजनीति




कैलास दास
जनकपुर । एशियाली विकास बैंकको ऋण सहयोगमा संचालित हुने एकिकृत सहरी विकास परियोजना अचेल चर्चाको विषय बनेको छ । मन्त्री विमलेन्द्र तथा उनका अनुयायीहरु यस परियोजनालाई फिर्ता पठाउने षडयन्त्रमा लागेको आरोप लाग्न थालेको छ भन्ने अधिकांश जनकपुरवासीका साथै नेपाली काँग्रेस भित्रकै ठूलो गुट, नेकपा एमाले, मधेशवादी दलहरु र नागरिक समाजसमेत यस परियोजनालाई जुनसुकै अवस्थामा पनि फिर्ता जान नदिने अभियानमा उत्रेका छन् । अर्को शब्दमा भनौ भने यहाँ विकासमा राजनीति सुरु भएको छ ।
गत महिना परिवार नियोजन संघमा आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री निधिले फुलगामामा लैण्डफिल्ड साईट राख्न नदिने अभिव्यक्ति दिएपछि यो विवाद छताछुल्ल भएको हो ।  मन्त्री निधिको पटकपटक दिइएको यस अभिव्यक्ति पश्चात पूर्व नगर प्रमुख बजरंगप्रसाद साह, समाजसेवी बलराम मिश्र तथा एमाले क्षेत्रीय ईन्चार्ज श्याम पुर्वेको नेतृत्वमा भिन्ना भिन्नै संघर्ष समिति गठन भई उनीहरुले दवावमूलक कार्यक्रम गर्दै आएका छन् ।
एडिवी परियोजना शीघ्र सञ्चालनको माँग गर्दै शुक्रवार जिल्ला प्रशांसन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
जनकपुर नगरपालिकाका पूर्व नगरप्रमुख बजरंग प्रसाद साहको अगुवाईमा नारा जुलुस सहित गएको टोलीले ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्रमा धनुषा निर्वाचन क्षेत्र नं. ३ को फुलगामामा ल्याण्डफिण्ड साइटको लागि काम शीघ्र हुनुपर्ने । ल्याण्डफिल्डको जग्गाप्रति भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले दिएको सार्वजनिक अभिव्यक्ति फिर्ता लिइनु पर्नेलगायतका माँग गरिएका छन ।
निर्धारित समयमा नै एडीबीको कामकाज हुनुपर्ने माँग गर्दै मन्त्री निधि पक्ष बाहेक नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरु सहित नगरवासीहरुको सहभागिता रहेको जुलुस जनक चौकबाट प्रारम्भ भई एडीबीको विरोध गर्नेको विरोधमा चर्को नाराबाजी गर्दै जिल्ला प्रशासनमा पुगेको थियो ।
एशियाली विकास बैंकले जनकपुरको सडक, ढल, नाला तथा सरसफाईका लागि एक अर्ब ८२ करोड रकम प्रदान गरेका छन् । उक्त रकमबाट नगर क्षेत्रमा २९ किलोमीटर सडक, २९ किलोमीटर नाला तथा सुविधा सम्पन्न लैण्डसाईड निर्माण गरिने छ । विकास निर्माणको मामिलामा निक्कै पछाडि परेको जनकपुरको विकास निर्माणको लागि आएको यो बजेटप्रति हुन लागेको यस्ता षडयन्त्रको सर्वत्र भत्र्सना गरिएको छ ।
मधेशवादी पनि आन्दोलनमा
जनकपुर नगर क्षेत्रमा सञ्चालन हुने एकीकृत शहरी विकास परियोजना बचाउनका लागि मधेशवादी दल मध्येका तराई मधेश लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक लगायतले पनि आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
तमलोपा नेपालका नेता तथा कार्यकर्ताहरुले एडिवी विरुद्ध भई रहेको षडयन्त्रको विरोधमा नगर क्षेत्रमा प्रदर्शन नै गरेका थिए । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष उमाशंकर अरगरियाको अध्यक्षतामा शुक्रवार बसेको बैठकले एडिबी योजनाप्रति गम्भीर भएको निर्णय गरेको छ ।
यता मन्त्री निधि समर्थक नेपाली काग्रेस धनुषाका सभापति रामसरोज यादव, स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदी, एडिवी परियोजना प्रमुख गंगाप्रसाद यादव, काँग्रेसका गणेश तिवारी, कोमलकान्त झा, साहित्यकार रामभरोस कापडिसहितका व्यक्तिहरु धनुषा क्षेत्र नम्बर ३ र ४ वाहेकका स्थानहरु छाडि धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद रामकृष्ण यादव , ५का डा.चन्द्रमोहन यादव तथा ६ का प्रेमकिसोर साहको निर्वाचन क्षेत्रमा पर्ने पुष्पलपुर, धनुषाधाम, भरतपुर, सिनुरजोडा, मालटोल सहितका स्थानमा वैकल्पिक लैण्डफिल्ड साईट खोजी गर्दै हिडेका छन् । उनीहरुले धनुषाधाम, ढल्केवर, महेन्द्रनगर सहितका नगरहरुको लागि साझा डम्पिंग साईटको खोजी गरिरहेको नयाँ माथापच्ची शुरु गरेका छन् ।

No comments:

Post a Comment