Sunday, May 4, 2014

जनकपुर बम काण्डका मुख्य योजनाकार सभासद साह पक्राउ

कैलास दास

जनकपुर,बैशाख २१ । जनकपुर रामानन्द चौक बम काण्डका मुख्य योजनाकार तथा धनुषा क्षेत्र नम्बर ४ का सभासद् संजय कुमार साहलाई प्रहरीले पक्राउ गरी आईतवार सार्वजनिक गरेको छ । नेपाल भारत सीमाबाट शनिवार राति ११ बजे पक्राउ गरिएको केन्द्रिय अनुसन्धान व्युरोका ईन्चार्ज उत्तम कुमार कार्कीले पत्रकार सम्मेलन गरी बताइएको छ ।


जिल्ला प्रहरी कार्यालय धनुषाले आईतवार गरेको पत्रकार सम्मेलनमा सभासद साहलाई सार्वजनिक गर्दै नारायणी अञ्चलको विरगंज छपकैयाबाट पक्राउ गरेको बताएका छन् । घटना गराउन सभासद् साहसँग रकम लिने मध्यस्तकर्ताको रुपमा ओमप्रकाश यादवले साहसँग रकम लिएर चौधरीलाई दिएको घटना विवरणबाट खुलेको प्रहरीले जनाएको छ ।
जनकपुरको रामानन्द चौकमा मिथिला राज्यको मांग गर्दै मिथिला राज्य संघर्ष समितिले गरिरहेको शान्तिपूर्ण धर्नामा २०६९ बैशाख १८ गते भएको शक्तिशाली बम विस्फोटको मुख्य योजनाकार सभासद् साह रहेको पत्रकार सम्मेलनमा ब्यूरो इन्चार्ज कार्कीले जानकारी गराएका छन् । सभासद साहले बम विस्फोटको क्रममा मुकेश कुमार चौधरी उर्फ अर्जुन सिंह (उपनाम) संग गरेको वार्तालाप, कल डिटेल, ओम यादवसंगको पैसा लेनदेन तथा अन्य आधारले स्पस्ट भईसकेको समेत एसएसपी कार्कीले बताए । उनले भने–अभियुक्त साहमाथि धनुषा अदालतमा कर्तव्य ज्यान मुद्दा चलिरहेको तथा थप अनुसन्धान जारी रहेको छ ।  
दुइ वर्ष अघि जनकपुरको रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका नागरिकलाई लक्षित गरी बम विस्फोट गराउदा ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाईते भएका थिए । घटनामा महन्थ विमलशरण यादव, समाजसेवी सुरेश उपाध्याय, दिपेन्द्र दास, झगरु दास र महिला कालाकार रञ्जु झाको मृत्यु भएका थियो ।
उक्त बम विस्फोटको घटनामा सभासद साह लगायत अखिल जनतान्त्रिक तराई मुतिm मोर्चा (राजन मुक्ति) समुहका राजन मुतिm भनिने रंजित झा, विस्फोटका मुख्य योजनाकार तथा तराई मधेश विद्यार्थी लिब्ब्ररेशन फ्रन्न्टका अर्जुन सिंह भनिने भनिने मुकेश चौधरी, शिवम शर्मा उर्फ जय प्रकाश चौधरी, बम ओेसारपोसार तथा बम बनाउने काममा संलग्न मुकेश कुमार कर्ण, बिस्फोट पदार्थ व्यवस्थापन गर्ने रिपेन्द्र झा उर्फ छोटु र विस्फोट पदार्थ उपलब्ध गराउने प्रकाश भनिने सुरेश कुमार कर्णको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले पत्रकार सम्मेलनमा बताएका छन् । घटनामा संलग्न व्यक्तिहरुलाई धनुषा प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ । घटना भएको समयम नै अपरेशन “रामा” नाम दिई केन्द्रिय अनुसन्धान व्युरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय धनुषाले विस्फोटनको अनुसन्धान गरी प्रतिवेदन समेत बुझाएको थियो ।
पक्राउ परेका व्यक्तिहरुले धनुषाको एमाले पार्टी कार्यालयमा बम बिस्फोट गराएको, महोत्तरी जिल्लाको जलेश्वर जिल्ला ट्राफिक कार्यालयमा बम विस्फोट गराएको तथा जनकपुर ४ स्थित एमाले पार्टी कार्यालयमा विस्फोट लगायतका अन्य घटनामा संलग्न रहेको प्रहरीले दावी गरेको छ ।

सभासद साह पदवाट निलम्बित
जनकपुर रामानन्द चौक बम काण्डका मूख्य योजनाकार तथा धनुषा क्षेत्र नं.४ का सभासद संजय कुमार साहलाई संविधानसभा सदस्यवाट निलम्बन गरिएको छ । केन्द्रिय अनुसन्धान ब्युरो काठमाण्डौंको विशेष टोलीले शनिवार वीरगञ्जको छपकैयाबाट पक्राउ गरी कर्तव्य ज्यान र संगठित अपराधमा संलग्न रहेको अभियोगमा अदालतमा मुद्दा दायर गरे लगत्तै आईतवार संविधानसभा सचिवालयले सभासद साहलाई निलम्बन गरेको हो ।
साहलाई संविधानसभा र व्यवस्थापिका संसद तथा त्यस अन्तर्गत गठन कुनै पनि समितिका बैठकमा भाग लिन नपाउने गरी निलम्बन गरिएको संविधानसभा सचिवालयले जनाएको छ । संविधानसभाको दोश्रो निर्वाचनमा धनुषा क्षेत्र नं. ४ वाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

म निर्दोष छु, अदालतबाट छिट्टै न्याय पाउँछु ः साह
धनुषा निर्वाचन क्षेत्र नं. ४ का निर्वाचित सभासद एवं पूर्व राज्यमन्त्रीले संजय कुमार साहले पत्रकार सम्मेलनमा भने ‘आफू निर्दोष छु अदालतबाट छिट्टै न्याय पाउँछु । जिल्ला प्रहरी कार्यालय धनुषाले आईतवार गरेको पत्रकार सम्मेलनमा उपस्थिति गराउँदा सो कुरा बताएका छन् ।
यता केन्द्रिय अनुसन्धान व्युरोका ईन्चार्ज उत्तम कुमार कार्कीले बम काण्डका मुख्य योजना संजय कुमार साह रहेकोले सप्रमाणको आधारमा उनलाई पक्राउ गरेको दावी गरेका छन् । साहलाई अदालतबाट वारेन्ट जारी भएपछि सभासद साह फरार रहेको थियो । प्रहरीले खोजी कार्यलाई जारी राखेको थियो ।

सद्भावनाद्वारा  प्रदर्शन
बम काण्डका अभियुक्त संजय कुमार साहलाई प्रहरीले पक्राउ परेपछि सद्भावना पार्टीले आईतवार बेलुका नारा जुलुस प्रदर्शन गरेका छन् । पार्टीका जिल्ला उपाध्यक्ष जगदीश महासेठको अगुवाई सो जुलुस प्रदर्शन गरिएको थियो ।
अभियुक्त साहलाई जिल्ला प्रहरी कार्यालयबाट धनुषा जिल्ला अदालतमा ल्याउँदा पार्टीले संजय कुमार साह निर्दोष छ, न्यायिक छानबिन हुनुप¥यो, मधेशी एकता जिन्दावादको नारा लगाएका थिए । धनुषा जिल्ला अदालतको अगाडिबाट नारा जुलुस लगाउँदै पार्टी कार्यालय कदम चौक पुगेका थिए ।



No comments:

Post a Comment