Friday, February 28, 2020

जनकपुरधाम नगरभित्र ट्राफिक व्यवस्थापनको यस्तो कडा नियम

जनकपुरधाम, १५ फागुन । जनकपुरधाम उपमहा नगरपालिका भित्रमा जथाभावी रुपमा सवारी साधनको पार्किङ्ग गर्न थालेपछि जनकपुरधाम अव्यवस्थित हुन थालेपछि गाडी पार्किङ्गको व्यवस्था सम्बन्धित कार्यालयले गर्ने निर्णय गरेको छ ।
जनकपुरधाम उपमहा नगरपालिकामा जिल्ला टूाफिक कार्यालय, जनकपुर उद्योग वाणिज्य संघ तथा स्थानीय संघ संस्थाले छलफल मार्फत सो निर्णय गरेको छ ।
टूाफिक व्यवस्थापनका लागि नेपाल सरकारका सेवा प्रदायक संस्था, वित्तिय संस्था तथा अन्य व्यवसायिक प्रतिष्ठानहरुले कर्मचारी तथा सेवाग्राहीहरुको टूाफिक व्यवस्थापको व्यवस्थापन संस्थाले नै गर्ने छलफल भएको छ ।
मालपोत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अस्पताल, बैंकमा जाने सेवाग्राहीहरुले जथाभावी रुपमा सडककै छेउमा सवारी साधन पार्किङ्ग गरी राख्दा जनकपुरधाम कुरुप तथा दुर्घटनाको सम्भावना बढेकोले सम्बन्धित कार्यालय तथा संस्थाहरुलाई बोलाएर पहिलो छलफल गरी पत्र काट्ने उपहानगरपालिकाले जनाएका छन् ।
त्यस्तै सडक छेउमा बनाइएको फुटपाथलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन गर्नेछ । पैदल यात्रुहरुका लागि फुटपाथ बनाइएको भएपनि त्यो फुटपाथमा जथाभावी रुपमा पसल थप्ने, निर्माण सामाग्रीहरु राख्ने लगायतको कार्य हुँदै आएको छ ।  छलफलमा फुटपाथलाई व्यवस्थित पार्नका लागि माइकिङ्गमार्फत जानकारी गराउने, पत्र काट्ने र त्यसपछि पनि नमानेमा फुटपाथमा राखेको सामाग्री उपमहानगरपालिकाले उठाएर लग्नेछ ।
त्यस्तै फुटपाथमा रोलिङ्ग गर्नका लागि बजेटको व्यवस्थापन गर्ने पनि छलफल भएको छ । वर्तमान अवस्थामा वनवे वा टूवे सवारी साधनको व्यवस्थापन हुने अवस्था नरहेकोले टूाफिक व्यवस्थापन कडाईका साथ गर्नेछ ।त्यस्तैगरी जथाभावी रुपमा सञ्चालन रहेको इरिक्सालाई पनि व्यवस्थापन गर्ने छलफल भएको छ । प्रादेशिक अस्पताल वरिपरि रहेका इरिक्सा तथा पर्यटकीय सवारी साधनकोे पार्किङ्ग तत्काल बाह्रविघामा गर्न लगाउनेछ ।
त्यसैगरी शिवचौक वरिपरि मिथिलाका कलासंस्कृति झल्काउने गरी पसल सञ्चालन गर्न लगाउनेमाथि पनि छलफल भएको हो ।  छलफलमा जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साह, परमेश झा, टूाफिक इन्स्पेक्टर परशुराम घिमिरे, जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र कुमार महासेठ लगायतको उपस्थिति रहेको थियो ।

Wednesday, February 26, 2020

नेता इमान्दार नभएकै कारण यृुवाहरु वैदेशिक रोजगारमा धनुषामा चारवर्ष ९० को मृत्यु

जनकपुरधाम, १४ फागुन । प्रदेश सभा सदस्य एवं समाजवादी पार्टीका उपसचेतक रामअशिष यादवले आफूहरु इमान्दार नभएकै कारण वैदेशिक रोजगारीमा जान युवाहरु बाध्य भएको बताएका  छन् । उनले आफ्नै मुलुकका कलकारखाना राष्ट्रभक्त नेताहरुको कारण ध्वस्त हुँदा युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य भएको वा राज्यद्वारा पठाउने बाटो खोलेको दावी गरेका छन् ।
कोक्यापद्वारा जनकपुर धाममा आयोजित ‘वैदेशिक रोजगारी ऐनमा परामर्श तथा छलफल’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेको साँसद यादवले काठमाडौं लगायत जनकपुरधामका जनकपुर चुरोट कारखाना, विराटनगरका जुट मिल, वीरगञ्जका कृषि कारखानामा हजारौजना काम गर्दथे । तर ती कारखानाहरु बन्द पश्चात् नै युवाहरु वैदेशिक रोजगारीमा जान लागेको दोहोर्याएका छन् ।
साँसद यादवले भने, ‘राष्टूभक्त भनाउने नेताहरुको यो परिणाम हो । जनकपुरधामकै जचुकालिमा पाँच हजारबढी व्यक्ति कार्य गर्दथे ती कारखानाबाट २० हजारबढीको परिवार चल्दै थियो । आज बन्द छ । वीरगञ्ज र विराटनगरको त्यही अवस्था भयो ।’
‘देशका नेता इमान्दार भएमा युवाहरुलाई वैदेशिक रोजगारीमा जानु पर्दैन(साँसद यादवले भने, ‘रेमिटान्सबाट मुलुक र नेताहरु पलाई रहेका छन् ।’
उनले प्रदेश २ सरकारले युवाहरुलाई वैदेशिक रोजगारीबाट रोक्नका लागि धैरै अभियान ल्याउन लागेका छन् । त्यो तत्काल महसुस हुँदैन । युवा स्वरोजगार बाहेक वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि बिना धित्तो ऋण उपलब्ध गराउने जिम्मेवारी प्रदेश सरकारले लिने बताएका छन् ।
कोक्यापका केन्द्रिय अध्यक्ष रोशन खड्काका अध्यक्षतामा भएको सो कार्यक्रमका विशिष्ट अतिथि प्रदेश साँसद ज्वाला साहले गरीबहरुका लागि राशन कार्ड र शिक्षामा विशेष सहुलित दिएमा मात्र वैदेशिक रोजगारीमा जाने युवाहरुमा न्यूनिकरण ल्याउन सकिने बताएकी छन् ।
त्यस्तै सहभागी मध्ये सुधा कर्णले वैदेशिक रोजगारीमा जाने युवाहरु दुर्घटनामा पर्नुको मुख्यकारण स्थानीयस्तरमा तालिमको व्यवस्था नहुनु, प्रदेश वा स्थानीयमा म्यानपावर संख्याको तथ्यांक नहुनु, परामर्श केन्द्र नहुनु लगायत रहेको बताएकी छन् ।
उनले नेपाल सरकारसँग वैदेशिक रोजगारीमा जानेको संख्या भएपनि आउनेको संख्या छैन । कतिजना गई रहेको र कतिजना अहिलेपनि वैदेशिक रोजगारीमा रहेको सत्यतथ्यं तथ्यांक नरहेको जिकिर गरिन ।
वैदेशिक रोजगारी सम्बन्धी ऐन कानून बारेमा अधिवक्ता कल्याण पोख्रेलले जानकारी गराएका छन् । त्यस्तै सीता यादव, कोक्यापका सचिव पुष्पराज पौडेल, अधिवक्ता दीपनारायण यादव,वडा अध्यक्ष भोेगेन्द्र झा भोगी, उपाध्यक्ष इन्द्रकला देवी, सुनिल मल्लिक सहितका व्यक्तिहरुले सुझाव दिएका छन् । कार्यक्रम सञ्चालन अधिवक्ता उमेश यादवले गरेका थिए ।


धनुषामा चारवर्ष ९० को मृत्यु
वैदेशिक रोजगारीमा गएका युवा मध्ये ९० वटा शव धनुषामा आएको अप्रावसीकी सुधा कर्णले बताएकी छन् । उनले वैदेशिक रोजगारीमा जाँदा पनि पैसा लाग्ने, दुर्घटना हुँदापनि घरघडारी बेचेर शव मगाउने गरेको तथ्यांक आफुसँग रहेको जिकिर गरेकी छन् ।
उनले भनिन, ‘दुर्घटनामा मृत्यु हुनेको शव ल्याउनमा पैसा लाग्दैन, तर तालिम र जनचेतनाको अभावको कारण घरघडेरी बेचेर पनि शव ल्याउने गरेको हामीसँग तथ्यांक छ ।’ उनले यस सम्बन्धी कानून छ, तर कार्यान्वयनमा आएको छैन । जबसम्म कानून कार्यान्वयन र व्यहवारमा लागु हुँदैन तबसम्म समृद्ध मुलुक निर्माण गर्न नसकिने अवस्था रहेको बताएकी छन् ।



Tuesday, February 25, 2020

संघर्षका लागि दलित महिलाहरुद्वारा सञ्जाल गठन

जनकपुरधाम, १३ फागुन । जनकपुरधाम उपमहानगरपालिकाको वडा १ देखि २५ सम्मका वडाका दलित महिलाहरुले संघर्षका लागि पाँचवटा समूह सञ्जाल गठन गरेको छ ।
दलित महिलाहरुलाई राजनीतिमा पहुँच, विकास निर्माणका लागि सम्बन्धित निकायसँग बजेट माँग, विभेद विरुद्ध संघर्ष र शोषण दमन गर्ने÷ गराउने विरुद्ध एकजुट भएर लड्ने उद्देश्यका साथ यो सञ्जाल गठन गरिएको जनाइएको छ ।
दलित महिला संघ, धनुषाले मंगलवार जनकपुरधाममा ‘दलित महिलाको विकास र सामाजिक न्यायका लागि शासन सुढिकरण’ नारा दिएर सो सञ्जाल गठन गरिएको हो ।
दलित महिलाहरुलाई संवैधानिक अधिकार कायम भएपनि राजनीति पहुँच बाहिर राखेको, दवाउने, हप्काउने र विभेद गर्दै आएकोले त्यसको विरोध र संघर्षका लागि महिला संजाल गठन गरिएको संघका धनुषा प्रतिनिधि शर्मिला महराले जानकारी गराएका छन् । उनले भने, ‘संविधानमा व्यवस्था अनुसार दलितले सीट त पाएको छ, तर त्यसको सदुपयोग अरु समुदायले गरिरहेको छ । उनीहरुमा जनचेतना र संघर्ष गर्ने हिम्मत बढ्ने उद्देश्यले दलित महिला सञ्जाल गठन गरेको हो ।’
उनले जनकपुरधाम उपमहानगरपालिकामा पाँचवटा वडा मिलाएर ३० सदस्यीय एउटा सञ्जाल गठन गर्ने हो । उपमहानगरपालिका भित्रमा ५ वटा दलित महिला सञ्जाल रहने र उनीहरुलाई विभिन्न किसिमका तालिम दिइने बताएकी छन् ।
उनले भनिन, ‘दलित महिलाहरु काम गरेर परिवार चलाउन सकिन्छ भने नेता बनेर देश चलाउन किन सकिदैन ।’ दलित महिलाहरुलाई प्रलोभन, धाकधम्की दिएर शोषण दमन हुँदै आएको छ । तर संगठित भएर संघर्ष गरेमा यी सबैको अन्त्य हुने उनले दावी गरेकी छन् ।
दलित महिला सञ्जाल अगामी निर्वाचनलाई लक्षित गरेर पनि गठन गरिएको हो । अब दलित महिलाहरु सदस्यसम्म मात्र सीमित रहँदैन, वडा अध्यक्ष र मेयरसम्मको दावेदार हुने उनले दावी गरेकी छन् ।


Wednesday, February 19, 2020

३६५ दिनमा ७३० घटना


जनकपुरधाम, ७ फागुन । प्रदेश नं. २ मा  ३ सय ६५ दिनमा ७ सय ३० वटा मानव अधिकार उल्लंघन लगायतको घटना घटेको तथ्यांक बाहिर आएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले बुधवार सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२० मा गत वर्षको तुलनामा यस वर्ष एकसय बढी घटना घटेको उल्लेख गरेको छ । इन्सेकले प्रदेश सन २०१९मा मानव अधिकार उल्लंघन लगायको घटेको घटनाहरुको तथ्यांक सार्वजनिक गरेको छ ।
सन् २०१८ मा ६०१ वटा मानव अधिकार लगायतको घटना घटेको थियो भने सन् २०१९ मा ७३० वटा घटना घटेको इन्सेकका प्रदेश २ संयोजक राजु पासमानले पत्रकार भेटघाटमा बताएका छन् । घटनामा महिला तथा बालबालिका सबभन्दा बढी पीडित भएको बताएका छन् ।
प्रदेश २ मा एकवर्षमा ७९ जनाको हत्या भएको छ ती मध्ये तीनजनाको हत्या राज्यपक्षबाट भएको हो । त्यस्तै ५७ जनामाथि कुटपिट भएको र ती मध्ये २२ जनामाथि राज्यपक्षले गरेको, अन्यपक्षबाट ९ जनालाई धम्की दिएको, पाँच जनामाथि जातिय विभेद गरेको पुस्तकमा अभिलेख रहेको छ ।
महिला अधिकार उल्लंघनमा  २सय २६ जना बाल अधिकार उल्लंघन घटनामा २ सय २५ जना बालबालिका पीडित रहेका छन् ।
वर्ष पुस्तकमा अपरहण घटना १७, गिरफ्तार १५, कुटपिट ७९, अमानवीय व्यवहार ३, घाइते ३३, यातना १ जनालाई विस्थापित ८ जना गरी जम्मा ७३० वटा घटना भएको अभिलेखीकरण गरेको छ ।
त्यस्तै इन्सेक प्रदेश २ ले यसवर्षको उत्कृष्ट प्रतिनिधिको रुपमा बाराका भोलानाथ पौडेललाई सम्मान गरेको छ । उनलाई सात हजार नगर, रसम्मान पत्रबाट सम्मान गरेका हुन ।

Tuesday, February 18, 2020

जनकपुरधामलाई ‘वैवाहिक गणतव्य’ बनाउने लक्ष्य

जनकपुरधाम, ६ फागुन । जनकपुरधामलाई धार्मिक पर्यटकीय दृष्टिले विकास गर्नुका साथै ‘वैवाहिक गणतव्य’को रुपमा विकास गर्ने जनकपुरधाम उपमहानगरपालिका अगाडि बढेको छ ।
धार्मिक साँस्कृतिक सम्पदाको धनी मानिने जनकपुरधाम क्षेत्रको सम्पदाको संरक्षण र पर्यटन प्रबद्र्धन गर्ने तथा उपमहानगरपालिकाको आन्तरिक राजस्व अभिवृद्धिका लागि चार बुँदे निर्णयलाई अगाडि ल्याएको छ ।
पर्यटन भित्र्याउन तथा रोक्नका लागि जनकपुरधाम पर्यटन प्राधिकरण गठन गर्ने, सम्बन्धित सरोकारवालाहरुको सहभागिता गराउनका लागि पर्यटन समन्वय समिति गठन गराउने छलफल भएको जनाइएको छ ।
छलफलमा विशेष गरी धार्मिक महत्वका साथै ‘वैवाहिक गणतव्य’को रुपमा जनकपुरधामलाई स्थापित गर्ने छ । साँस्कृतिक सम्पदा, मठ मन्दिर,कुटी मणिमण्डप, पार्क संग्राहलय तथा सम्पदाको सौन्दर्यीकरण तथा व्यवस्थापन कसरी गर्नेमा विशेष जोड दिएको हो ।
भ्रमण वर्ष २०२०मा जनकपुरधाममा बढी भन्दा बढी पर्यटकहरु ल्याउनका लागि केही सडकका बत्तीहरुलाई व्यवस्थापन गर्ने ताकि रातिमा पर्यटकहरु ती बाटोमा घुम्न बाध्य बनोस् ।
उपमहानगरपालिकाका अनुसार भानुचौक, शिवचौक, जानकी मन्दिर राममन्दिर, रामानन्द चौक, पिडारी चौक लगायतको बाटोमा ‘नाइट बल’ लगाएर श्रृंगार्ने कार्य हुनेछ । पर्यटकहरु ती बत्ती हेर्नका लागि एक रातमा बस्नुपर्ने वातावरणको सृजना गर्ने लक्ष्यरहेको जनाएको छ ।



Monday, February 17, 2020

मेयर साह र युरोपियन युनियनसँग शिष्टाचार भेटघाट जनकपुरधामलाई विश्वसम्पदा सूचीमा सूचिकृत गराउन सघाउन आग्रह


जनकपुरधाम, ५ फागुन । जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लालकिशोर साह र युरोपियन युनियनका प्रतिनिधि भेरोनिका कोडी तथा नेपाल स्थित जर्मनीका राजदूत रोनाल्ड स्चेफरसँग सोमवार शिष्टाचार भेटघाट भएको छ ।
जनकपुरधाम उपमहा नगरपालिकाकै कार्यालयमा भएको शिष्टाचार घेटघाटमा मेयर साहले जनकपुरधाम हिन्दुहरुको ठूलो धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको सर्वविदित नै हो । जनकपुरधामलाई विश्वसम्पदा सूचीमा सूचिकृत गराउनमा कुटनीतिक सहमति र भोटिङ्गमा सहयोग पुर्याई दिनका लागि आग्रह गरेका छन् ।
मेयर साहले भगवती सीताको चर्चा गर्दै भने, ‘नेपाल भारत मात्र होइन, विश्वका हिन्दुहरुको आस्थाका केन्द्र जनकपुरधाम हो । यहाँको विकास धार्मिक पर्यटकीय दृष्टिले नै भई रहेको छ । विश्वसम्पदा सूचीमा सूचिकृत गराउनका लागि सबै पूर्वाधार तयार छ ।’ यहाँका कला संस्कृतिको आफ्नो पहिचान रहेको जानकारी गराउँदै मेयर साहले भने ‘यहाँको मठ मन्दिर र सरोवरको आफ्नै पहिचान हो । पहिचानलाई स्थापित गराउनका लागि पनि जनकपुरधाम विश्वसम्पदा सुचीमा हुनु आवश्यक छ ।’
यता युरोपियन युनियनका प्रतिनिधि भेरोनिका कोडी तथा जर्मनीका राजदूत रोनाल्ड स्चेफरले जनकपुरधाम प्राविधिक शिक्षामा अगाडि रहेको बताएका छन् । उनले शिक्षा, स्वस्थ्य तथा जनकपुरधामलाई विश्वसम्पदा सूचीमा सूचिकृतका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
कोडी र स्चेफरलाई मेयर साहले जनकपुरधामको वृत्तचित्र पुस्तक र दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

सहकारीको आवश्यकता र यसको प्रभाव

सहकारीको उद्देश्य
सहकारीको मूलभूत उद्देश्य उनीहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो । सामुहिक रुपमा संगठित भएर सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गरी आपसमा मितव्ययिता, स्वावलम्बन र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु पनि सहकारीको उद्देश्य रहेको छ । समाजमा व्याप्त गरीबी, व्यापारिक एकाधिकारजस्ता आर्थिक एवं सामाजिक विसंगतिहरूको अन्त्य गरी सहकारीताको माध्यमबाट समाजका निम्न आयवर्गीय गरीब जनसमुदायको जीवनस्तर उकास्न र उनीहरुलाई सामाजिक न्याय दिलाउनु सहकारीको मुख्य उद्देश्य रहेको छ। सहकारीको उद्देश्यलाई निम्न भागहरूमा बाड्न सकिन्छ ।
सहकारीको परिभाषा
सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँगसँगै गरिने कामलाई बुझाउँदछ। यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ। प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो। अ‍ैँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी ज्यूँदाको जन्ती जस्ता कुराहरू सहकारीकै रुप हुन्। आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको हो।
सहकारीको शैक्षिक उद्देश्य
आफ्ना सदस्यहरुको चेतना विकासका लागि सहकारी शिक्षा, तालिम र परामर्श दिनु यसको शैक्षिक उद्देश्य हो । सहकारीले आफ्ना आर्थिक कारोवारबाट बचत भएको रकमको केही अंश सहकारी तालिम, शिक्षा, परामर्श सेवा, सेमिनार, गोष्ठीजस्ता शैक्षिक क्रियाकलापमा खर्च गर्ने हुनाले एउटा शिक्षित समाजको निर्माण गर्दछ ।
सहकारीको इतिहास
मानव सभ्यताको शुरुवात सँगै समूहमा बस्ने, सामूहिक रुपमा काम गर्ने र सुख दुःखमा एक अर्कालाई सहयोग गर्ने परिपाटीबाट सहकारीताको भावना प्रकट भएको पाईन्छ । विवाह, ब्रतवन्ध, काजक्रिया आदि धार्मिक कार्य सम्पन्न गर्न समाजका सवै सदस्यहरु सम्मिलित भई सह कार्य गर्ने परम्परा अझै कायम रहिआएको छ । सहकारी आन्दोलनको शुरुवात फ्रान्स, बेलायत, जर्मनी आदि देशबाट शुरु भएको पाईन्छ । सन् १४९८ मा बेलायतको एबर्दिनमा स्थापना भएको दि शोर पोर्टर्स सोसाइटी नामक संस्थालाई विश्वको पहिलो सहकारी संस्थाको रुपमा लिइएको पाईन्छ । सहकारीको विकाश सँगै बेलायतमा सन् १८३२ मा स्थापित लकहस्र्ट लेन इन्डष्टिूयल कोअपरेटिभ सोसाइटी र १८३९ मा स्थापित ग्यालासिल्स एण्ड हावीक कोअपरेटिभ सोसाइटी हाल सम्म पनि संचालनमा छन् । यी दुवै सहकारीको नाम भने परिवर्तन भई हल क्रमशः हर्ट अफ इंग्लेण्ड कोअपरेटिभ सोसाइटी र लोथिएन बोडर्स एण्ड आर्गस कोअपरेटिभ सोसाइटी रहेका छन् ।
सहकारीको ७ अन्तर्राष्ट्रिय सिद्धान्त
सहकार्य भन्नाले आपसमा मिलेर गरिने कामलाई जनाउँछ । ’एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्टूको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो । समाजशास्त्रीको नजरमा सहकारिता सामाजिक उत्पिडनबाट मुक्ति प्राप्त गर्ने साधन हो भने प्राविधिक रुपमा यसलाई एउटा व्याबसायिक कौशलको रुपमा लिइएको छ । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ भनी यसको वारेमा विभिन्न विद्वानहरुले आ(आफ्नो धारणहरु व्यक्त गरेका छन् । हेनरि काल्भर्टका अनुसार, ‘सहकारी संगठनको त्यो रुप हो जसमा व्यक्तिहरु स्वेच्छाले आफ्ना हितको कुराहरु सुधारका लागि समानताको आधारमा एकसाथ मिलिजुली काम गर्दछन् ।’
अन्तराष्टिूय श्रम संगठन (आइएलओ) ले सहकारीको परिभाषा यसरी दिएको छ(‘सहकारी सामान्यतः सीमित साधन भएका व्यक्तिहरुको एक संगठन हो जो प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यावसायिक संगठनको माध्यमद्धारा आवश्यक पूँजी लगाएर र व्यबसायको जोखिम तथा लाभको उचित हिस्सा स्वीकार गरेर साझा आर्थिक साध्य प्राप्त गर्न भेला हुन्छन् ।’
नेपालको सहकारी ऐन २०४८ को प्रस्तावनामा उल्लेख भए अनुसार, ‘देशका कृषक, कालिगढ, कम पूँजीवाल र निम्न आयवर्ग, श्रमिक, भूमीहीन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकाशको लागि पारस्पारिक सहयोग र सहकारीताको आधारमा विभिन्न किसिमका सहकारी संस्था तथा संघहरुको गठन र संचालन सम्बन्धी व्यबस्था गर्न वाञ्छनीय भएकोले  ऐन बनाएको छ । उपरोक्त अर्थ तथा परिभाषाको आधारमा समान इच्छा, आकांक्षा र अवस्था भएका व्यक्तिहरुबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्धारा आर्थिक तथा सामाजिक उथ्थानको निमित्त एकताबद्ध प्रयास नै सहकारी हो ।