Wednesday, June 18, 2014

पाप मोचनी अतिक्रमण घर टहराहरु भत्काइए

कैलास दास
जनकपुर, असार ०४ । जनकपुरको ऐतिहासिक महत्वको धार्मिक तलाउहरुको संरक्षण गर्ने अभियान अन्तर्गत बुधवार पापमोचनी सर अतिक्रमण गरेका घर टहराहरु बुधवार भत्काइएको छ । करीब दुई दर्जन घर एवं टहराहरु भत्काइएको हो ।

पोखरीको उत्तर तीर वनेको पक्की तथा अर्ध पक्की घरहरु भत्काईएको छ । पोखरीको १५ फिट भन्दाभित्र पसेर घरहरु भत्काएकोमा त्यसको विरोध पनि भएको छ । उक्त पोखरीको डिलमा जानकी मन्दिर अधिनस्त ७ कठा भन्दाबढी जग्गा रहेका थिए । ती जग्गाको लालपुर्जा पनि भएको बेलामा जवरजस्ती घर भत्काएकोमा केही व्यक्तिले विरोध गरेको थियो ।
अतिक्रमण गरी बसोबास गर्दै आएका पोखरीको डिल तथा डिल बाहिर रहेका घरहरुका व्यक्तिहरु विचल्लीमा परेका छन् । उनीहरुले यस अघि बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा विरोध गरे पनि कुनै सुनुवाई भएको थिएन् । केही वर्ष अगाडी अहिले भत्काईएको ठाउँमा प्रहरीको नगर कार्यालय बन्ने भनेर मध्य क्षेत्रका तत्कालिन डिआईजीले शिलान्यास पनि गरेका थिए ।  
बुहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुर नगपालिका तथा गुठ्ठी संस्थानको सहयोगमा अतिक्रमण हटाउने कार्य भएको छ । यस अघि जनकपुरधामको महाराजसागर तथा गोडधोई (गिरनारी पोखरी) पोखरीमा रहेको ४ दर्जन घर टहराहरु भत्काउने कार्य भएको छ ।
जनकपुरमा केही अगुवा पत्रकार एवं समाजसेवीको अगुवाईमा गंगा सागर पोखरीको संरक्षणबाट प्रारम्भ भएको पोखरीको संरक्षण अभियानको क्रममा अहिले अतिक्रमण हटाउने कार्य तर्फ उन्मुख भएका छन् । जनकपुरको ईतिहास बोकेको पोखरीहरुको संरक्षण मात्र भई दिए भावी पुस्ताको लागि ठुलो उपलब्धि हुने विश्वास गरिन थालिएको छ । 

Monday, June 16, 2014

एडीबी जाँदैन, तर प्रस्तावित ठाउँमा ल्याण्डफिल बन्न दिंदैन ः मन्त्री निधि

कैलास दास
जनकपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले जनकपुर नगरपालिकामा लागु भएको एडीविको सहयोग सञ्चालित एकीकृत शहरी विकास आयोजना कुनै पनि हालतमा फिर्ता नजाने ठोकुवा गरेका छन् । (२०७१ जेठ ३०)
पार्टीद्वारा शुक्रवार जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले झुठो प्रचारवाजी गरिएको र आयोजनाको काम अहिले पनि जारी रहेको बताए ।
उनले जनकपुरको सडक, नाला तथा ढलको लागि एशीयाली विकास वैकले १ अर्ब ९० करोड नेपाली रकम प्रदान गरेको र अहिले सडक विस्तारको लागि चिन्ह लगाउने कार्य भैरहेकाले त्यसमा सघाउनका लागि  आन्दोलनरत पक्षहरु आग्रह गरेका छन् । मन्त्रीले निधिले मिथिला क्षेत्रको सडकको विकासका लागि नयाँ बजेटमा मिथिला सडक विकास योजना लागु गरिन लागेको बताए ।
उनले जनकपुर जयनगर तथा बर्दीबास रेल्वेको सन्दर्भमा देखिएको समस्याको समाधान गर्ने कार्यमा मन्त्रालय अगाडि बढेको र चाडै समाधान हुने बताए । उनले फूलगामाको जग्गामा विश्वविद्यायको काम हुन्छ तर फोहरको व्यवस्थापन हुन नदिने पुनः दोह¥याएका छन् । आन्दोलनको पक्षमा रहेका पत्रकारहरुप्रति गुनासो पनि निधिले गरेका थिए । उनले एकपक्षीय तरिकाले जनकपुरका पत्रकारहरुले समाचार, लेख तथा विश्लेषण गर्ने काम गरेको बताए ।
वैकल्पक तथा वस्तिभन्दा टाढा फोहरको व्यवस्थापनका लागि जग्गा खोजिदा किन आत्ती प्रकट भैरहेको छ भनि प्रतिप्रश्न गरेका थिए । उनले एडिवी बचाउ संघर्ष समितिले वितरण गरेको पर्चामा ल्यान्डफिलको काम सकिएपछि प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाको नाउमा उद्यान तथा प्रतिमाको अनावरण गर्ने कुरा उल्लेख रहेकाले त्यो शहिद प्रतिको अपमान हुने बताए । संघर्ष समितिको सल्लाहकार रहेका राजेश्वर नेपाली कै अध्यक्षतामा रहेको स्मारक निर्माण समितिले जानकी मन्दिको प्राङ्गणमा किन शहिद झाको स्मारक बनाउन नसकेको भनि प्रश्न गरेका थिए ।
ल्याण्डफिल साईटले कुनै पनि रोजगार एवं राम्रो काम नदिने बरु उक्त क्षेत्रमा प्रदुषण नै फैलाउने बताए । काठमाण्डौको फोहर ओखर पौवामा फाल्दा उक्त क्षेत्रमा फैलिएको प्रदुषण जस्तै प्रदुषण फूलगामामा फैलिने बताउनु भयो । मन्त्री निधिले जनकपुरधाममा भएको विकास मध्ये ८० प्रतिशत विकास आफू र  आफ्ना बुबाले गरेको दावी पनि गरेका थिए ।
उनले धनुषाको जटहीदेखि जनकपुर हुदै ढल्केवरसम्म ६ लाइनको सडक विस्तार गर्नका गृहकार्य अगाडी बढाएको र उक्त योजना चाडै आउने बताए । उनले भारतीय पक्षहरु संग भारतको जटहीमा भन्सार नाका स्थापना गर्नका लागि वार्ता भएको र भारत सरकार पनि सकारात्मक रहेको पनि बताए ।
उनले जनकपुरको सडकमा अहिले अस्थायी रुपमा सडकको निर्माण भैरहेको बताए । यसले एडीवीको योजनाप्रति कुनै रोकाव नहुने पनि बताए । अहिलेको लागि चल्न गोग्य सडक मात्र निर्माण भैरहेको जनकपुर वाँसीले हुनु हुदैन भन्यो भने काम रोकी दिने पनि बताए ।
जनकपुर नगपालिकाले गुठ्ठी संस्थान संग २० वर्षका लागि धनुषाको फूलगामा रहेको १२ विघा १७ कठ्ठा १७ धुर जग्गा पवारेमा सम्झौता गरि सकेको बेलामा मन्त्री निधिले नै उक्त जग्गा विश्व विद्यालयको भएको भने पछि उहाको विरोधमा संघर्ष समिति गठन गरि आन्दोलनको कार्यक्रम गआडी बढाएका थिए ।

धार्मिक तलाउको संरक्षणअभियान शुरु, दजनौं घर भत्कियो


कैलास दास
जनकपुर । जनकपुरको दुई वटा धार्मिक एवं सास्कृतिक महत्वका पोखरीको अतिक्रमण शुक्रबार (३० जेष्ठ)देखि हटाउने कार्य प्रारम्भ भएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुर नगरपालिका तथा गुठ्ठी संस्थानको संयुक्त निर्णय पश्चात् स्थानीय प्रशासन तथा स्थानीयवासीको सहयोगमा अतिक्रमण हटाउने तलाउवाट प्रारम्भ गरिएको छ ।
अत्यन्तै महत्वपूर्ण पोखरीको रुपमा रहेको दशरथ तलाउबाट अतिक्रमण हटाउने कार्यको शुभारम्भ गरि त्यहाँ रहेको अमृत युवा क्लवको पक्की भवन तथा धर्मशाला भत्काउने कार्य भएको  छ । यसैगरी पोखरीको डिलमा रहेको अन्य घरहरु पनि भत्काइएको छ ।
दशरथ तलाउको  डिलमा अवैध किसिमले निर्माण गरिएको दुई दर्जन पक्की, अर्ध पक्की एवं कच्ची घरहरुमा डोजर लगाएर भत्काई हटाईएको छ । सामान्य रुपमा अबरोध आएपनि प्रहरीको बाक्लो उपस्थितिका कारणले कुनै वाद विवाद भएन ।
यसैगरी जनकपुरको वडा नं ७ मा रहेको गोडधोई पोखरीको अतिक्रमण पनि हटाईएको छ । उक्त पोखरीको अतिक्रमण हटाउनका लागि सामान्य अवरोध भएपनि प्रहरी एवं स्थानीयबासीको सक्रियताका कारणले हटाईएको छ ।
पहिलो चरण अन्तर्गत दुई वटा पोखरीको अतिक्रमण हटाएर अभियानको शुरुआत गरेर अन्य पोखरीहरुको अतिक्रमण हटाउने कार्यक्रम रहेको वृहत्तर जनकपुरक्षेत्र विकास परिषदको कार्यकारी अधिकृत उमेश यादवले बताएका छन् ।
यसअघि तीन वटै निकायले जनकपुरको आठ वटा पोखरीको अतिक्रमण खाली गर्ने निर्णय गरेपनि दोस्रो चरणमा अन्य पोखरीहरुको अतिक्रमण हटाउने भएको बृहत्तरले जनाएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुर नगरपालिका तथा गठ्ठी संस्थानले यही वैशाख ५ गते नै जनकपुरधामको महत्वपूर्ण ८ वटा पोखरीको अतिक्रमण हटाउने निर्णय गरेको थियो ।

गठ्ठी संस्थानले पनि गत वर्ष चैत्र २० गोरखा पत्रमा सूचना प्रकासित गरेर अतिक्रमण गरिएको डिल खाली गर्नका लागि सूचना गोरखा पत्रमा प्रकाशित गरेको थियो । जनकपुरमा रहेको पोखरीको १५ फिट डिल छाडेर मात्र निर्माण गर्न मिल्ने प्रावधान छ । पोखरी अतिक्रमण खाली गराउने कार्यमा गुठ्ठी संस्थान जनकपुरका कार्यालय प्रमुख राजाबाबु पाण्डे, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा, जनकपुर नगरपालिकका कर्मचारीहरु उल्लेख्य संख्यामा उपस्थित रहेका थिए ।

Thursday, June 12, 2014

दुई वर्षिय बालकको ११ किलोको टाउको

कैलास दास
जनकपुर, जेष्ठ २९ गते । तस्वीर हेरेर कसैलाई पनि आश्चर्य लाग्न सक्छ । दुई वर्षिय बालकको ११ किलोको ठाउँको । इश्वरले पनि कस्ता कस्ता रोगहरु दिन्छ । त्यो बालकलाई हेर्नका लागि जनकपुरको रामचौकमा विहिवार दिनभरि घुइचो लागेको थियो ।
भारतको रक्सौल बस्ने वीरेन्द्र मालीको पुत्र अजित माली हो । गरीब परिवारमा जन्मेको त्यो बालकको जति उमेर बढिरहेको छ त्यो भन्दा कयौं गुणा उसको ठाउँको बढ्द छ । जन्म भएको बेलामा राम्रो थियो । तर पछि उसको टाउको बढ्दै गएर यति ठूलो भएको आमा मिना माली भन्छिन् ।
छोराको उपचारका लागि बेगु सराय, पटना, दरभंगाका चिकित्सकहरुलाई हेराए । तर औषधीले ठिक भएन । डाक्टर भन्छन् उसलाई ब्रेन ट्युम्बर भएको छ । उसको इलाजमा कम्तिमा ३ लाख रुपैया लाग्ने छ ‘आमाले भनिन’( उसको बुवा पनि बिरामी छ, माँगीचागी आफ्नो जीवकोपार्जन गरिहेको छु, कसरी छोराको उपचार गराउने चिन्ताले सताई रहेको छ ।’ डाक्टरले भन्छ समयमा उपचार नभए ब्रेन फट्न सक्छ आमाले भनि ।

Sunday, June 8, 2014

गंगा आरती—सरसफाई र प्रहरी


कैलास दास
२०७१ जेष्ठ २५ गते आईतवार
ऐतिहासिक एवं धार्मिक महत्व बोकेका गंगा सागर पोखरीको मुहार फेरिने र धार्मिक पर्यटकीय स्थलका लागि एउटा नयाँ आयाम आजबाट प्रारम्भ हुने छ, त्यो हो ‘गंगा आरती’ । गंगा आरतीमा मठ मन्दिरका महन्थ, युवा क्लवका युवाहरु, मान महन्थहरु लगायतका व्यक्तिहरु घण्टा सहित पूजा सामग्रीहरु लिएर उपस्थित हुनेछ । जुन यहाँका एउटा महत्वपूर्ण दिन मानिने छ । आजबाट प्रत्येक दिन जनकपुरमा गंगा आरती हुनेछ । गंंगा आरतीमा भारतको बनारसबाट पण्डितहरु मगाइएको छ । आरतीको पुरा सामग्रीहरु एकदिन पूर्व नै तयार गरिसकेको आयोजकले जनाएका छन् ।

गंगा आरती र सरसफाईबाट यो झल्किन्छ कि फोहर मैला सहरको रुपमा प्रसिद्ध धार्मिक नगरी ‘जनकपुर’ को अब मुहार फिरिने छ, विश्वास हुन लागेको छ । गंगा सागर र धनुष सागरको महत्वलाई जति व्याख्या गरेपनि धार्मिक ग्रन्थ अनुसार कम हुन्छ । यी पवित्र स्थल भएपनि दुबै पोखरीमा फोहरमैला थुपारिनु यहाँहरुका लागि दिनचर्या बनेका थिए । निष्ठका पर्व छठ लगायतका पर्व त्योहारहरुमा रोग व्याधि निको हुने कामना गर्दछ । तर सो जलमा स्नान गर्दा झनै रोग लाग्ने गर्दथ्यो ।
गंगा सागर पोखरीमा स्नान गरी जानकी माताको दर्शन गर्ने, तत्पश्चात यहाँका विभिन्न मठ मन्दिर, सरसरोवर तथा धार्मिक स्थलहरुमा गएर पूजापाठ गर्ने धार्मिक मान्यता छ । जनकपुर आउन ऋषिमुनी तथा देवी—देवताहरु पनि ललायित हुन्थ्यो । तीर्थयात्रीहरु गंगा स्नान गरी माता जानकी को दर्शन गर्ने गर्दथे । गंगा स्नानबाट मोक्षको प्राप्ति हुन्छ, तर हाम्रो यहाँ साक्षात माता जानकीका जन्मभूमि र गंगासागर पोखरी भएपनि जुन किसिमले गंगासागर पोखरीमा फोहरमैला थुपारिएको थियो त्यसबाट के बुझिन्थ्यो भने माता जानकीको दर्शन अधुरो रहेछ ।
जसरी गंगा नदीको पानी अहिलेसम्म सुखेको छैन त्यसरी नै गंगा सागर पोखरीको पानी अहिलेसम्म नसुखेको जानकारहरु भन्छन् । पहिला पनि बाहिरबाट आउने तीर्थयात्रीहरु यस सरोवरमा स्नान गरी माता जानकीको दर्शन गर्ने गर्दथे । तर केही वर्षदेखि फोहरमा परिणत भएपछि तीर्थयात्रीहरु जानकी माताको दर्शन गरी फर्किने गर्दछन ।
गंगा सागर पोखरी सरसफाई तथा गंगा आरती गंगा दशहराका दिनदेखि प्रारम्भ गर्नका लागि एउटा अभियानको रुपमा लिएका नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष रामअशिष यादवलाई धन्यावाद नदिन मिल्दैन । तर त्यो भन्दा बढी नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनपथ तथा सेनालाई यस अभियानका मुख्य श्रेय दिनुपर्दछ । जनकपुर धार्मिक स्थल हो तर धार्मिक विचार एवं आस्था जुन किसिमले यिनीहरुमा जागेका छन् स्थानीयवासीमा त्यो विचार र आस्था त्यति देखिएन । स्थानीयस्तरबाट मात्र जनकपुर धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने, सफा सुन्दर बनाउने, स्वच्छ वातावरण तथा यहाँका साँस्कृतिक झल्किने जस्ता कार्य गरेको हुन्थ्यो भने अहिले जनकपुर विश्व सम्पदा सूचीमा हुन्थ्यो ।
गंगा सागर सफाई अभियानका अगुवाई रामअशिष यादव ज्यूले गरेका छन् तर यो कसरी सफल हुन्छ सोको निरन्तरता प्रहरी विभागले नै दिएका छन् । यही कारण हो कि यहाँका युवाहरु, संघ संस्थाका सदस्यहरुमा केही गर्ने चाहना एवं भावना अभिप्रेरित भएका छन् । भारतको बनारसमा भव्य रुपमा ‘गंगा आरती’ हुने गर्दछ । बनारस गंगा दर्शन गएका व्यक्तिहरु ‘गंगा आरती’मा सहभागी नभईकन गंगा दर्शन अधुरो सम्झिन्छन् । त्यसरी बाहिरबाट आएका तीर्थयात्रुहरुका लागि यहाँ पनि गंगा स्नान गरी जानकी दर्शन पश्चात गंगा आरतीमा सहभागीका लागि एक दिन बस्ने निश्चितिता देखिन्छ ।
पंक्तिकारले शनिवार विहान गंगासागर पोखरी सफाई अभियानमा सहभागी हुन गएका थिए । त्यहाँका केही व्यक्तिका भनाई राम्रो लागे र केहीले त्यसको उल्टो पनि जवाफ फर्काए । गंगा आरती एउटा नौटंकी हो त केहीले भने यसको अगुवाई गरिरहेका व्यक्ति सराहनीय कार्य गरेका छन् । जनकपुरलाई धार्मिक दृष्टिले विकास गर्ने हो भन्ने टिकाटिप्पणी गर्ने होइन, अभियान सफल पार्ने तर्फ लग्नु पर्दछ । पहिलो अभियानमा सरसफाई हो भने दोस्रो अभियान मठ मन्दिरको सौन्दर्यीकरण तथा यहाँका साँस्कृतिक कसरी झल्किन्छ त्यस तर्फ पनि अभियानीहरुलाई लाग्नु पर्दछ ।
सन्त तुलसी दासद्वारा लेखिएका रामायण सिरियलमा दर्शएका जनकपुर यही हो सोको आधारमा यहाँ पर्यटकहरु आउने गर्दछ । तर यहाँका साँस्कृतिक बोर्ड, पर्यटयन बोर्ड वा यहाँका होटल व्यवसायीहरु सहितका सम्बन्धित निकायहरुले यहाँका धार्मिक स्थल, रहन—सहन,  खान—पानका बारेमा एउटा ब्रोसर, बुकलेट, क्यासेट वा पुस्तकसम्म पनि प्रकाशन गर्न सकेको छैन । जुन निःशुल्क रुपमा यहाँ आउने पर्यटकहरुलाई दिनुपर्दछ । यति मात्र होइन जनकपुर प्रवेशकै यहाँका पर्यटकीय स्थलहरुको ठूलो नक्सा तयार पारी विभिन्न ठाउँमा झुण्डाउनु पर्दछ, कुन ठाउँमा कुन धार्मिक स्थल हो ।
अहिले पर्यटक सोधपुछ गर्दै त्यहाँ पुगेपनि कुनै पनि भाषामा पोखरी, मठ मन्दिर सहितका इतिहास सो स्थानमा लेखिएको पाउँदैन । कुन समयमा बनेको, कति लम्बाई, चौडाई र कस्ता महत्व छ बारेमा खुलाउनु आवश्यक छ । यस्ता कार्यहरुमा यहाँका होटल व्यवसायीहरुलाई पनि खुलेर आउनु पर्दछ ।
गंगा सागर सरसफाईमा महिला, छात्र—छात्रा, युवा, समाजसेवी सहितका व्यक्तिहरु थिए । सञ्चारकर्मीहरुको संख्या पनि उल्लेख्य थियो । महिलाहरु झारु लिएर सफाई गर्दै थिए, सञ्चारकर्मीहरु फोटो खिच्नमा व्यस्त तथा नागरिक समाजका व्यक्तिहरु परिचयमा व्यस्त थिए । तर प्रहरी निकायका व्यक्तिहरु आ—आफ्ना सरसफाईमा व्यस्त थियो ।
गंगा माताले ढिलो किन नहोस् जनकपुरलाई फोहर मुक्त बनाउने प्रेरणा प्रदान त गरे नि । गंगा सागर पोखरी सरसफाई अभियानले यहाँका युवाहरुमा धेरै केही गर्ने चाहना ल्याएको छ । त्यसलाई हृदयले लिनुपर्दछ र सोमा लाग्नु पनि पर्दछ । यस अभियानमा यहाँका सबै मठ मन्दिरका पुजारी, नागरिक समाज, व्यापारी सहितका व्यक्तिहरु जोरसोर अगाडि आउने अहिलेको आवश्यकता हो । अभियानको मुख्य उद्देश्य हुन्छ ‘सफलता’ । जबसम्म सफलता पाउँँदैन अभियान अधुरो हुन्छ । अहिले जनकपुरको प्रायः पोखरीहरुमा सफाई अभियान प्रारम्भ भएको छ । त्यसमा कुनै प्रकार ईष्र्याद्वोष नगरी यहाँका सभ्य समाजलाई लाग्नु पर्दछ ।
यहाँ धार्मिक क्षेत्रको विकासका लागि अभियान चलाउने धेरै स्थलहरु छन् । गंगा आरती र गंगासागर पोखरीको सरसफाईले मात्र जनकपुरलाई धार्मिक स्थलको पहिचान दिन मिल्दैन । ‘५२ कुटी ७२ कुण्ड, साधु चले झण्ड ही झुण्ड’ जस्ता जनकपुरलाई दर्शाउन पर्दछ । सोको लागि नेपाल सरकारलाई दवाव सृजना पनि गर्नु आवश्यक छ ।
चार धाम मध्ये ‘जनकपुरधाम’ पनि एक हो । गंंगा आरतीमा  साधुसन्त लगायत सम्पूर्ण नगरवासी सहभागी हुन्छ आशा र विश्वास सँगै अपिल पनि छं ।

भव्य गंगा महाआरती सम्पन्न





कैलास दास
जनकपुर, जेठ २५ । गंगा दशहराको विशेष अवसर पारेर जनकपुरधामको प्रसिद्ध धार्मिक तलाउ गंगा सागरमा आइतवार महाआरती सम्पन्न भएको छ । गंगासागर तलाउको धार्मिक महत्व झल्काउने उद्देश्यका साथ शुरु भएको उक्त महाआरतीमा जनकपुर सहित यस क्षेत्रका हजारौ श्रद्धालुहरुको सहभागिता रहेको थियो । महाआरतीमा सहभागी हुन श्रद्धालु भक्तजनहरु दिउसो ४ बजे देखी नै गंगासागरको घाटमा जुटन थालेको थियो ।
साँझ ७ बजे देखी करिब एक घण्टा सम्म चलेको महाआरतीको क्रममा गंगासागर तलाउको चारै तिरका घाटहरु श्रद्धालुहरुले भरि भराउ रहेको थियो । आइतवार बाटै प्रारम्भ भएको महाआरती प्रत्येक दिन साँझ धार्मिक विधि विधान हुने आयोजकले जनाएका छन । महाआरतीको शुभारम्भको लागी भारतको बनारसबाट पण्डितहरुको एउटा टोली झिकाइएको थियो ।
गंगा महाआरतीमा सहभागि हुनका लागि नेपाल स्थित भारतीय राजदुत रञ्जित रे, संस्कृति मन्त्रालयका उच्च अधिकारी, धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारी लगायत सुरक्षा निकायका प्रमुख हरु, कार्यालय प्रमुखहरु, विभिन्न मठका साधु सन्तहरु सहितको सहभागिता रहेको थियो । गंगा आरतीका लागि स्थायी संरचनाहरुको निर्माण गर्नुका साथै नियमित पुजारीको समेत व्यवस्था गरिएको छ । महाआरती लाई व्यवस्थित बनाउका लागी एक सय भन्दा बढी स्वमसेवकका साथै सयौ सुरक्षाकर्मी परिचालन गरिएको थियो । केही वर्ष यता फोहर बन्दै गएको गंगासागरलाई सुन्दर बनाउन विगत सोह्र सप्ताह देखि विशेष सरसफाई अभियान संचालन गरिएको छ ।
गंगासागरको सरसफाई अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी , विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, स्कुलका विद्यार्थी एवं आम नागरिकहरुको व्यापक सहभागिता रहदै आएको छ । अभियानकर्मीहरुले गंगासागरको सफाईका साथै घाटहरुको मरम्मत समेत गरेका छन । केही महिना अघि सम्म दुर्गन्धित रहेको गंगा सागर पछिलो अभियानका कारण सुन्दर र सफा भएका छन ।
जनकपुरमा प्रारम्भ भएको गंगा आरतीले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण योगदान दिने विश्वास गरिएको छ । गंगा आरती भारतको बनारस तथा हरिद्वारमा भव्य रुपमा हुदै आएको छ । 

Thursday, June 5, 2014

अतिक्रमित पोखरीलाई ३५ दिने सूचना समाप्त, अतिक्रमण मुक्त भएन्


कैलास दास
जनकपुर । बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको पहल एवं गुठी संस्थान तथा जनकपुर नगरपालिकाको विशेष सक्रियतामा जनकपुरका ऐतिहासिक पोखरीहरुलाई अतिक्रमण मुक्त गर्ने निर्णय भएको महिना दिन भन्दा बढी वितिसकेपनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

परिषदका अध्यक्ष रामकुमार शर्माको विशेष पहलमा बैशाख ५ गते भएको बैठकले जनकपुरका महत्वपूर्ण ८ वटा पोखरीहरुको अतिक्रमण मुक्त गराउने निर्णय गरेका थिए । जनकपुरको धार्मिक एवं ऐतिहासिक महत्वको महाराजसागर, कपाल मोचनीसर, दीर्घिकासर, पाप मोचनीसर, लक्ष्मण सर, गोरधोई (पाद प्रक्षालण सर), मण्डन सर (मरहा पोखरी), तैल वृतिका (तेलहा) सर पोखरीको अतिक्रमण बैशाख २६ गतेदेखि हटाउने निर्णय गरेका थिए । तर हालेसम्म सो कार्य कहाँ सम्म पुग्यो के भयो केही अतोपतो छैन ।
गुठी संस्थानले चैत्र २० गते नै ती पोखरीहरुको अतिक्रमण हटाउने गरी सार्वजनिक सूचना गोरखापत्रमा प्रकाशित गरेका थिए । बृहत्तरले अतिक्रमण गरिएको पोखरी खाली गराउने निर्णयलाई निक्कै बढाई चढाई पत्रपत्रिका प्रकाशित गराए पनि हालसम्म कार्यान्वयन गर्न सकेका छैन् । बैठकमा सर्वदली र सर्वपक्षिय व्यक्तिको सहभागी गराएका थिए ।
पोखरीको १५ फिट छाडेर घर बनाउनु पर्ने प्रावधान रहेपनि अहिले पोखरीहरुनै पुरेर घर बनाउने क्रम जारी छ । बृहत्तरको बैठकले अतिक्रमण खाली गराउदा २०४४ सालको नापी सर्वेलाई आधार मानेर गर्ने निर्णय गरेपनि के कति कारणले निर्णयलाई कार्यान्वयन ल्याउन सकेका छैन् केही सार्वजनिक गरेको देखिएन ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको दक्षिणतिर रहेको महाराजसागरको उत्तरी डिलमा अहिले पनि अतिक्रमण गर्ने क्रम जारी छ । जनकपुरको ऐतिहासिक महत्वका पोखरीहरु अतिक्रमण गराउने निर्णय यसअघि पनि पटक पटक गरिएपनि कार्यान्वयन हुन सकेका छैनन् । कतिपय व्यक्तिहरुले जनकपुरका ऐतिहासिक पोखरीहरुलाई आफनो निजि पोखरी बनाएर विक्री समेत गरेको छ । जनकपुरको पहिचान नै यहाँका मठ मन्दिर र पोखरी भएपनि त्यसको संरक्षणतर्फ सरोकारबाला निकाय गम्भीर रहेको देखिदैन् ।