Saturday, March 30, 2019

‘वडा अध्यक्षहरुले दलित सदस्यलाई टेर्दै टेर्दैन’


जनकपुरधाम, १५ चैत्र । जनकपुरधाम उपमहा नगरपालिकाको १देखि २५ सम्मका वडा अध्यक्षहरुले दलित महिला सदस्यहरुलाई कुनै पनि कुरामा टेर्दै टेर्दैन महिला सदस्यहरुले आरोप लगाएकी छन् ।
जनकपुरधाममा नेपाल राष्टिूय दलित समाज संघद्वारा आयोजित ‘नीति सम्वाद’ कार्यक्रममा सहभागीहरुले त्यस्ता आरोप लगाएकी हुन । सहभागी महिला सदस्यहरुले प्रायः बैठकमा नबोलाउने, गएपनि हेप्ने, बोल्न नदिने, दलित भएर विभेद गर्ने गुनासो पोखेकी छन् ।
संघका अध्यक्ष रघुनाथ दासको अध्यक्षतामा भएको ‘नीति सम्वाद’ २५ वटै वडाका दलित महिला सदस्यहरु, दलित अगुवाहरुले संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारले पनि दलित अधिकारको कुरा गर्ने तर दलितलाई अगाडि बढन नदिने औल्याएका छन् । उनीहरुले अधिकारको लागि आफै अगाडि आउनुपर्ने धारणा राख्दै त्यसका लागि संगठित भएर पहिचान सहितको लडाईका लागि तयार रहन सबैमा आग्रह गरेका छन् ।
‘संविधानले दलितमा अधिकार त दिएको छ, तर समाजले दिन चाहि रहेको छैन’ वडा नं. ३ का सदस्य तथा कार्यपालिका सदस्य सुनिता राउत (मेस्तरनी)ले भनिन, ‘दलितको अधिकार राज्यले कागजमा मात्र सीमित गरेको हो, समाजले व्यवहारमा लागु गरेको छैन ।’ उनले कुनैपनि योजना तयार गर्दा वा योजना आउँदा बैठक नै नबोलाई बिना जानकारीको पास हुने गरेको उनले जिकिर गरिन ।
त्यस्तै वडा नंं २५ की शैलो पासमानले संविधान अनुसार दलितलाई निर्वाचनमा स्थान त दिएकोछ, अधिकारको लडाई अहिले पनि लड्नुपर्ने बताएकी छन् । उनले वडाको विकास हुँदा दलित बस्तीमै निर्माण कार्य लगायतमा रोक लगाउँदै आएको गुनासो पोखेकी छन् ।
त्यस्तै वडा नं. २० की वडा सदस्य गीता देवी दासले दलितको लागि हाम्रो वार्डमा ५० हजार रुपैया बजेट छुट्याएको वडा अध्यक्षले भनेका थिए, तर ती बजेट कहाँ गएको छ, सोद्धा उल्टै हेप्ने गरेको दुःखेसो पोखेकी छन् ।
त्यसैगरी वडा नं. १६ की साविती देवी दासले अहिलेसम्म हस्ताक्षर मात्र गरेको हुँ । के बजेट छ, कहाँ खर्च हुन्छ, जानकारी गराउँदैन, जति कराएपनि केही नहुने जिकिर गरेकी छन् । उनले दलित महिला सदस्याहरुलाई प्रायः वडा अध्यक्षहरुले हेपेर राख्ने गरको बताएकी छन् ।कार्यक्रममा नेपाली काँग्रेका नेता रामवरण पासमान, वडा नं. ७ का वडा अध्यक्ष जानकी राम साह, दलित अगुवा चन्देश्वर सादा, पँचलाल दास, रामनाथ दास, कैलास दास, उर्मिला महरा , अरुण चौधरी, लगायतका व्यक्तिले विचार राखेका छन् । ‘नीति सम्वाद’ कार्यक्रममा उठेको कुराहरुलाई जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लालकिशोर साहलाई ध्यानाकर्षण गराएका छन् ।

1 comment: