Tuesday, August 11, 2020

गिरीको निधनले अपुरणीय क्षति भयो ः नेता निधि

जनकपुरधाम, २८ साउन । नेपाली काँग्रेसका नेता तथा होटेल रामाका संचालक समेत रहेका कृष्ण गिरीको कोरोना रोगबाट मृत्यु भएको छ । उहाँको निधनले नेपाली काँग्रेस तथा सामाजमा अपुरणीय क्षति भएको नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् ।
गिरीप्रति शोक व्यक्त गर्दै निधिले भनेका छन ‘उहाँको निधनबाट नेपाली काँग्रेस, समाजले र मैले व्यक्तिगत रुपमा अपुरणीय क्षति बेहोरेको महसुस गरेका छौं ।’
गिरीलाई कोरोना संक्रमण देखिएपछि करिब २० दिनदेखि काठमाडौँमा उपचाररत उनको गएरति १२ बजे मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । गिरि लामो समय देखि मुटु लगायत अन्य दिर्घ रोगहरुबाट  थिए ।
गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि श्री एयरलायन्सको विमान चार्टर गरेर काठमाडौं लगिएको थियो । ‘कोरोना भाइरस संक्रमणसँगै उहाँमा अन्य जटिल समस्या पनि थियो,’ पूर्वमेयर गिरीका भतिज अनुराग गिरीले इकान्तिपुरसँग भने, ‘उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो ।’
नेपाल परिवार नियोजन संघ धनुषाको २५ वर्षसम्म अध्यक्ष रहेका मृतक गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरीको दुई छोरा र श्रीमती छन् । उनका दुवै छोरा डाक्टर हुन् । ब्रुनाईमा रहेका गिरीका जेठो छोरा काठमाडौं फर्किसकेका छन् । कान्छो छोरा भने अस्ट्रेलियाको सिड्नीमा बस्छन् ।
गिरी क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय सखुवा महेन्द्रनगरको अध्यक्ष तथा संस्थापक समेत रहेका थिए ।

Wednesday, August 5, 2020

जनकपुरवासीद्वारा अयोध्यावासीलाई सञ्जाल मार्फत शुभकामना


जनकपुरधाम, २१ साउन । भारतको आयोध्यामा राममन्दिरको शिलान्यस हुनुअघिदेखि नै जनकपुरधामबाट अयोध्यावासीहरुलाई फेसबुक सञ्जाल आर्फत जनकपुरवासीहरुले शुभकामना तथा बधाई दिने गरेको छ ।
वर्षौदेखि आयोध्यामा राममन्दिर निर्माण विवादित देखिएको थियो । तर बुधवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन गरी राममन्दिरको निर्माणका लागि बाटो खेलेपछि जनकपुरवासी खुशी व्यक्त गरेका छन ।
राममन्दिरको निर्माणको बाटो खुलेकोले रामको ससुराली जनकपुरधामबाट युवाहरुले विभिन्न सञ्जालहरु अपनाउने शुभकामना तथा बधाई दिन थालेको छन् ।
यसैक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सञ्जय चौधरी शुभकामना व्यक्त गर्दै लेखेका छन ‘आदरणीय एवं अश्ववी भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी ज्यू भारतको अयोध्यामा ऐतिहासिक भगवान रामललाको मन्दिर निर्माणकाृे लागि  हुने भूमिपूजनको अवसरको उपलक्ष्यमा माता सीताको नगरी जनकपुरधमबाट धेरै धेरै बधाई तथा शुभकामना ।’
त्यस्तै युवा अभियन्ता शुशील कर्णले पनि राममन्दिरको शिलान्यासप्रति खुशी व्यक्त गर्दै जनकपुरधाममा दीपावली मनाउनका लागि सबैमा आग्रह गरेका छन् ।
अधिकांश व्यक्तिले फेसबुक सञ्जालमा नवनिर्मित राममन्दिरको नक्सा राखेर खुशी व्यक्त गर्दै मोदीलाई बधाई तथा शुभकामना दिएका छन् । सोही क्रममा फेसबुक सञ्जालमा धर्मेन्द्र साह, अमर साह, महावीर युवा कमिटी, नित्यानन्द मण्डल, मनोज कुमार साह, यदुवंश झा,  राजेश कर्ण, नविण साह लगायत सयौं जनाले शुभकामनाका साथै दीपावली मनाउन जनकपुरवासीमा आग्रह गरेका छन् ।



Thursday, July 30, 2020

जातीय प्रभुत्ववाद र दलित उत्पीडन


पदम विश्वकर्मा
राज्यसत्ताको निश्चित नियम र योजनामा एउटा निश्चित जाति, वर्ग वा समूहको विचार र प्रवृत्तिले अर्को जाति, वर्ग वा समूहको विचार र प्रवृत्तिमाथि वैधानिकरुपमा लाद्ने दमन नै प्रभुत्ववाद हो । प्रभुत्ववाद आजभोलि निकै चलन चल्तीमा आएको शब्द हो । राज्यसत्ताको आडमा निश्चित विचार र प्रवृत्तिद्वारा कसरी बहुसंख्यक पात्र, समूह, वर्ग वा राज्यमाथि प्रभुत्ववादी सोंच हावी र विस्तार भइराखेको छ भन्ने विषयमा गहन अध्ययन हुँदै आएको छ । ग्रीक शब्द ‘हेजमोनिया’बाट आएको हेजेमोनी अर्थात् प्रभुत्ववादी अवधारणालाई सर्वप्रथम तत्कालीन ग्रीक राज्य र नगरबीचको सम्बन्धलाई उजागर गर्न प्रयोग गरिएको थियो । इटालियन राजनीतिज्ञ तथा माक्र्सवादी दार्शनिक एन्टोनियो ग्राम्स्कीले यो शब्दलाई प्रचारमा ल्याएका थिए । उनले पश्चिमा पुँजीवादी राज्यहरुले आफ्नो पुँजीवादी शोषण र लुटलाई कायम राख्न प्रगतिशील विचारमाथि कसरी दमनको हतियार चलाइराखेका छन् भन्ने कुरालाई उजागर गरेका थिए । उनका अनुसार पुजीवादी विचार र योजनामा आधारित प्रभुत्ववाद विभिन्न रुप र आयममा कायम रहेकाले सारा विश्वका उत्पीडित वर्ग र समुदायलाई  स्वीकार गर्न बाध्य पारिएको छ । उनले आफ्नो वर्गस्वार्थको रक्षाको लागि पुँजीवादी बुद्धिजीवीहरु राज्यसत्ताको सम्पूर्ण शोषण, दमन र प्रभुत्ववादका अगाडि लाचार बन्ने गरेको निश्कर्ष समेत निकालेका छन् । 
दुई वर्ष अगाडि प्रकाशित पुस्तक ‘जाति, संस्कृति र प्रभुत्ववाद’ पुस्तकमा भारतीय लेखक डा. शेखर बान्द्योपाध्यायले हिन्दु जातीय समाजले भारतीय उपमहाद्दीपमा आफ्नो सांस्कृतिक प्रभुत्व र संरचनात्मक संलग्नता गहिरो गरी कायम गरेकाले यस क्षेत्रमा उच्च व्राह्मणवादी परम्परा हावी भइरहेको चर्चा गरेका छन् । उनले हिन्दु प्रभुत्ववादले अन्य सीमान्तीकृत जाति भनिएका जाति, वर्ग वा समुदायको स्वतन्त्रता, परम्परा, धर्म र संस्कृतिहरु दमन गर्न निर्वस्त्र रुपमा उत्रिएकोे चर्चा गरेका छन् । उनका अनुसार हिन्दु प्रभुत्ववादले समानता, भातृत्व र सास्कृतिक स्वतन्त्रताहरु अपहरण गरिरहेको छ । भारतीय संस्थापनले चलाएको हिन्दु राष्ट्रिय अभियानले त दलित, महिला, आदिवासी–जनजाति, धार्मिक अल्संख्यक एवम् उत्पीडितहरुको स्वतन्त्रतामाथि धावा बोलिरहेको छ । उनले हिन्दु उच्च जातीय अहम्कारवादलाई चिरस्थायी बनाउन अहिलेको भारतीय संस्थापनपक्ष दृढतापूर्वक लागिरहेकोले सांस्कृतिक र राजनीतिकरुपमा सबै उत्पीडित वर्ग र समुदाय गम्भीर बन्नुपर्ने निश्कर्ष निकालेका छन् ।
अब नेपालका दलितहरुको कुरा गरौं । नेपालका दलित समुदाय विगत लामो समयदेखि जातीय प्रभुत्ववाद, हिन्दु अतिवाद, सामाजिक कुरिती, नश्लीय परम्परा, विभेदकारी मानसिकता र संस्कृति तथा सामन्ती संरचनाविरुद्ध बलिदानीपूर्ण सङघर्ष गर्दै आएका छन् । उनीहरु यस अर्थमा सबैप्रकारका प्रगतिशील क्रान्तिकारी आन्दोलनका पर्याय नै हुन् । जसको परिणामस्वरुप नेपालको राजनीतिक परिदृश्यमा सङघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समानुपातिक समावेशीजस्ता अग्रगामी मुद्दा स्थापित हुन सम्भव भएको हो । सबैप्रकारको न्यायपूर्ण आन्दोलनका प्रतिक र अन्यायपूर्ण हर्कतहरुको प्रतिरोधी चेतना बोकेका दलितहरु नेपालका असली सर्वहारा श्रमजीवी वर्ग हुन् । तर शासनसत्तामा रहेको हिन्दू जातीय प्रभुत्वशाली विचार र चिन्तनले यस आयामलाई अहिलेसम्म पहिचान गर्न सकेको देखिंदैन । उनीहरुका नजरमा अहिले पनि दलितहरु दया, माया, निगाहा र कृपाका पात्रभन्दा माथि छैनन् । उनीहरुका दृष्टिमा  दलितहरु भनेका असक्षम, विवेक–बुद्धि नभएका, अनपढ, फोहोरी, शक्ति र सामाथ्र्यहीन वर्ग र समुदाय हुन् । यही चिन्तन र प्रवृत्तिका कारण दलितहरुको बलिदानको अवमूल्यन भैरहेको छ । उनीहरुको श्रमजीवी सुन्दर संस्कृति तिरस्कृत भइरहेको छ ।
गत जेष्ठ १० गते रुकुमको चौरजहारीमा अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्नका लागि गएका नवराज वि.क. र उनका ५ जना साथीहरुलाई लखेटिएर मारिएको घटना हिन्दु जातीय प्रभुत्ववादी चिन्तनको ज्वलन्त उदाहरण हो । यो घटना सेलाउन नपाउँदै गत जेठ २७ गते मध्यरातमा धनुषाका दलित समुदायका युवा शम्भु सदा इलाका प्रहरी कार्यालय, सबैलाभित्र झुण्डिएको अवस्थामा फेला परे । त्यसैगरी असार ७ गते राती प्रादेशिक अस्पतालको इमरजेन्सी कक्षमा सामान्य उपचारसमेत नपाइ छटपटिएर दलित समुदायका राजु सदा मारिए । यस्ता कहालीलाग्दा घटनाहरुको सामना यो समुदायले गरिरहेको छ । अहिले दैनिक रुपमा देशव्यापी रुपमा दलित समुदायले छुवाछूत, विभेद, उत्पीडन, दमन, वहिष्कार र नाकाबन्दीको सामना खेपिरहेको छ । दलित समुदायका महिला र बालिकाहरु वलात्कार हुँदासमेत प्रहरी र प्रशासनमा जिवित रहेको जातीय प्रभुत्ववादले न्याय दिन अनदेखा गरिरहेको छ । सामान्य अपमान, हेलाहोचो, कुटपिट र लाञ्छनाको सामना नगर्ने दलित कमै होलान् । तर यस्ता घटनालाई स्वभाविक र आकस्मिक घटना ठान्नेहरुको जातिवादी चिन्तन यत्रतत्र सर्वत्र विद्यमान छ । यथार्थमा नेपाली समाजमा व्यप्त सामन्तवादी–व्राह्मणवादी प्रभुत्ववादी चिन्तनले अन्य जाति, समुदाय वा वर्गको अधिकारलाई मानवीय दृष्टिले देख्न नै सकिरहेको छैन । हजारौं वर्षदेखिको व्राह्मणवादी मनुवादी चिन्तन र संस्कृतिको जगमा निर्माण भएको जङ्गबहादुरको ऐनबाट निर्देशित र प्रशिक्षित भएको राज्यसत्ताको बागडोर सम्हाल्नेहरुले यस्ता घटनालाई सामान्यीकरण गर्नमै केन्द्रित छन् भनें अर्कोतर्फ दलित समुदायमाथि भएका दमन र हत्याविरुद्ध भएका संगठित तथा स्वतस्फूर्त आन्दोलनलाई समेत नजरअन्दाज गरिरहेका छन् ।
त्यसो भए अब दलित समुदायले गर्ने के त ? समानता, मुक्ति र परिवर्तनका लागि भएका सबैप्रकारका न्यायपूर्ण आन्दोलन र युद्धको उपज यही नियति भोग्न हो त ? दलितहरुको भागमा अन्याय, अपमान, दमन र तिरस्कार नै हो त ? कदापी त्यस्तो होइन । के यो समस्याले सिङ्गो मानव समाजलाई गिज्याइरहेको छैन त ? यो समस्या दलितहरुको मात्रै समस्या हो त ? कदापी होइन र हुनुहुँदैन ।
यसका लागि सर्वप्रथमत, दलितहरुले आफूलाई अग्रगामी राजनीतिक–वैचारिक रुपमा सुशिक्षित र परिस्कृत गर्नुपर्दछ ।  दोश्रो काम भनेको जो जुन पेशा, व्यवसाय वा काममा छौं, त्यहीबाट नै समाजमा व्यप्त अन्याय, विभेद र वहिष्कारविरुद्ध उभिन, बोल्न वा लेख्न सक्नुपर्दछ । तेश्रो काम भनेको आफूलाई प्रगतिशील विचार, चिन्तन र चरित्र भएको समूह वा संगठनमा आबद्ध गर्ने प्रयत्न गर्नुपर्दछ । चौथो काम भनेको निरन्तर रुपमा सङ्घर्षको विधिबाट नै समाज रुपान्तरण हुन्छ भन्ने मर्मलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्दछ । पाँचौ काम भनेको लामो समयदेखि सञ्चालित भएका दलितलगायत सबैप्रकारका न्यायपूर्ण आन्दोलनले प्राप्त गरेका उपलब्धीहरुको रक्षा, प्रयोग र विकास गर्दै सचेतरुपमा आफ्नो व्यक्तिगत तथा सामाजिक–राजनीतिक जीवनलाई अगाडि बढाउन कोशिस गर्नुपर्दछ । छैटौ काम भनेको राज्यसत्ताको प्रगतिशील रुपान्तरणका लागि आफूलाई सचेत रुपमा उभ्याउन प्रयत्न गर्नुपर्दछ । 





प्रदेश २ मा चार महिना ३१७ जनाले गरे आत्महत्या


जनकपुरधाम, १५ साउन । नेपाल सरकारले लगाएको लकडाउनको ४ महिनामा ३१७ जनाले आत्महत्या गरेको तथ्यांक बाहिर आएको छ ।
प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार २०७६ चैत्र ११गतेदेखि २०७७ असार २४ गतेसम्मको यो तथ्यांक हो । उपलब्ध तथ्यांक अनुसार विष खाएर १८ जना पुरुष २६ महिला, एकजना बालक र ६ जना बालिका गरी ५१ले आत्महत्या गरेको छ । त्यस्तै आगो लगाएर महिला २ जनाले आत्महत्या गरेकी छन ।
त्यस्तै झुण्डिएर ८८ जना पुरुष ११२ जना महिला, १४ जना बालक र ३७ जना बालिका गरी २६२ जना, औजार हातहतियारबाट महिला १ जना, डुबेर एकजना आत्महत्या गरेको तथ्यांक छ ।
यसरी हेर्दा पुरुष १०६ जना, महिला १४२ जना, बालक १५ जना, बालिका ४३ जना आत्महत्या गरेका छन् ।
धनुषामा ५४जना, महोत्तरीमा २४ जना, सिरहामा ५४ जना, बारामा ३३ जना, पर्सामा ३४ जना, रौतहटमा २७ जना, सर्लाहीमा ४८ जना, सप्तरीमा ४३ जना आत्महत्या गरेको प्रदेश प्रहरीको तथ्यांक रहेको छ ।


सत्ता बदलियो– दलितको दसा बदलेन


श्यामसुन्दर शशि ,
राजनीतिक विश्लेषक चन्द्रकिशोर झाको शब्दबाट सुरु गरौं । मुलुकमा मधेसी दलितको अवस्थाबारे उनले लेखेका छन् – ‘मधेसमा भएको हरेक रूपरंगको संघर्षमा मधेसी दलितहरूको सहभागिता रहदै आएको छ । विद्रोेहात्मक चेतनाले ओतप्रोत भएर, अन्यायको प्रतिरोधमा इतिहासदेखि नै तम्तयार रहेको समुदाय कुनै छ भने त्यो दलित समुदाय नै हो । यस्ता प्रतिरोधहरू मुखर र मत्थर , मूर्त र अमूर्त रूपमा इतिहासदेखि नै भइरहे । मधेसी दलितहरूको संघर्षगाथाको जुन गौरवगान हुनुपथ्र्यो , त्यसलाई नियोजित रूपमा ओझेल पारियो । ’
झाको यो अभिव्यक्ति सार्वजनिक भई रहदा चितवन राष्ट्रिय निकुञ्जमा घुंघी टिप्न गएका राजकुमार चेपांगको मृत्यु हुन्छ । विभिन्न श्रोतहरुले दावी गरे अनुसार निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चेपांगलाई कुटी कुटी हत्या गरे । राजकुमारको शव अझैपनि काठमाण्डौमै छन् । उनका आफन्तहरुले दोषीमाथि कार्यवाही नभएसम्म शव नबुझने अड्डी कसेका छन् । पश्चिम रुकुममा पनि आफू भन्दा कथित उपल्ला जातिकी केटी मनपराएकै कारण आधा दर्जन दलितलाई निर्ममतापूर्वक हत्या गरिएको घटना पनि ताजै छ । यो त भए पहाडी दलितहरुको कथा । मधेसी दलितको कथा त झन कहाली लाग्दो छ । कोभिड १९ को कारण सुरु भएको बन्दाबन्दी , कोरोना नियन्त्रण गर्न स्थापना गरिएको क्वारेन्टाईन , आइसोलेशन ,अस्पताल तथा प्रहरी नियन्त्रणसमेतमा दलितहरुको मृत्यु सृंखला रोकिएको छैन ।
विश्वका संविधानहरुले दलित शब्दको परिभाषा गरेको हुन्छ । हाम्रो संविधानमा पनि गरिएको छ तर वर्गीय आधारमा विश्लेषण गर्दा बिरेन्द्र यादवहरु पनि दलित नै हुन् । कारण बहुसंख्यक तथा सामाजिक रुपले अगुवा जातिमा गनिने भएर पनि बिरेन्द्र यादव जिउदो अवस्थामा नेपाल छिर्न सकेनन् । उनले सीमा नाकामै प्राण त्याग गर्नु पर्यो । बीरेन्द्र यादव अथवा राजू सदा आर्थिक , सामाजिक अथवा राजनीतिक रुपले सक्षम परिवारका भएको भए बिरेन्द्र सीमा नाकामा रोकिने थिएनन् । राजू सदालाई टिपरमा अस्पताल ल्याइने थिएनन् ।
दलित समुदाय अचेल आन्दोलनमा छन् । आन्दोलनको कारण राजू सदा र शंभु सदाको शंकास्पद मृत्युलाई बताइए पनि वास्तवमा यो आन्दोलन पहिचानको हो । दलित मानिस होईन । अन्य जातिका विरामीको लागी नगर पालिकाको जीप उपलब्ध हुने , एम्बुलेंस उपलब्ध हुने अनि विमार दलितलाई टिपरमा लादेर अस्पताल पुर्याउनु पर्ने ? कोरोना पुष्टि हुदै नभई उनको शरीरमा कोही भिड्न नहुने । झाडा पखालाका विरामी राजु सदालाई जीवन जलसम्म खुवाउन नसक्ने ? असार ८ गते मृत्युवरण गरेका १६ वर्षिय राजू सदाको ‘ मृत्युकाण्ड ’ छानबीन गर्न समिति गठन भयो । जसको प्रतिवेदन सार्वजनिक भएको कमसेकम मलाई थाहा छैन ।
कोरोना त्रासदी , सरकारी दण्डहीनता, सामाजिक विभेद तथा गरिबीका कारण मृत्युवरण गर्ने पहिलो युवक भने थिएनन् राजू सदा अथवा राजकुमार चेपांग । तीन महिने बन्दाबन्दीको यस दारुण दिनहरुमा मुलुकमा झण्डै दुई दर्जन दलित तथा बैदेशिक रोजगारीमा गएका धरतीपूत्रहरु मृत्युवरण गरी सकेका छन् । सयौं जनाले आत्महत्या गरेका छन् । पूर्वी धनुषाको सहिदनगर नगरपालिका ९ गोठ–कोइलपुरका बिरेन्द्र यादव आफ्नो मातृभूमिसम्म टेक्न नपाई जेठ १४ गते नेपाल–भारतको जटही नाकामा रोग र भोकले छटपटिएर मृत्युवरण गरेका थिए भन्ने पूर्वी धनुषाकै सबैला नगरपालिका स्थित इलाका प्रहरी कार्यालयमा जेठ २८ गते शंकास्पद अवस्थामा झुण्डिई रहेको शम्भु सदाको शव फेला परेको थियो । कोरोना त्रासदीका कारण रोजगारी गुमाए पछि भोकले ज्यान गुमाएका सप्तरीका मलर सदा हो कि आफूभन्दा कथित ठुला जातिकी युवतीसंग प्रेम गरेकै कारण पश्चिम रुकुममा हत्या गरिएका नवराज विक र उनका साथीहरु । छोरीले भागी विवाह गरेको कारण सामाजिक रुपमा दण्डित हुनु पर्दा आत्म हत्या गरेका लाहानका श्यामलाल राम होस सबका सब कोरोनाकालीन शहिदहरु हुन् । कोरोनाकालमा मृत्युवरण गर्ने अधिकांश दलित तथा गरिव समुदायका व्यक्तिहरु छन् । आफूलाई सर्वहारा वर्गको प्रतिनिधी भन्न रुचाउने राजनीतिक दलको नेतृत्वमा रहेको वर्तमान सरकार यिनै सर्वहरा वर्गका राजूहरुका उपचारको व्यवस्था गर्न सकेको छैन । बिरेन्द्र यादवहरुका लागी आफ्नै जन्मधरतीमा पाईला टेक्ने वातावरण बनाउन सकिरहेको छैन । श्यामलालहरुले भोगी रहेको सामाजिक विभेद अन्त्य गर्न सकिरहेको छैन ।  आफूभन्दा कथित ठुला जातिकी युवतीसंग प्रेम गरेकै कारण सामुहिक हत्या गरिएका विक र उनका साथीहरुको हत्यारालाई जोगाउन यिनै सर्वहारा पार्टीका ठुला नेता तथा मन्त्रीहरुले प्रदर्शन गरेको चरित्र सबैले देखेकै हौं । 
नेपालको संविधान २०७२ को भाग ३ ले मौलिक हक तथा दायित्वको व्यवस्था गरेको छ । जसमा शिक्षा, खाद्य सुरक्षा, स्वास्थ्य, समानतापूर्वक बाच्न पाउ“ने , छुवाछूत तथा भेदभावविरुद्धको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । स्वास्थ्य , खाद्य सुरक्षा तथा भेदभाव र छुवाछूत विरुद्धको मौलिक हक प्राप्त नागरिक यदि भोक भोकै मर्छन , उपचारको आभावमा मर्छन अथवा जातीय भेदभावको कारण जीवन त्याग गर्छन भन्ने यो मृत्यु होईन , हत्या मानिनु पर्ने हो । यस्ता मृत्युका कारण पहिल्याई दोषीउपर कार्यवाही गर्नु राज्यको दायित्व हो । राज्य अथवा वर्गीय भेदभावका कारण आत्महत्या गर्छ भन्ने उनिहरुलाई शहिद भन्नु अत्युक्ति होला जस्तो लाग्दैन ।
वैश्विक कोरोना त्रासदि सरकारको लागी चुनौती र अवसर दुबै रुपमा आएको छ । तर दुर्भाग्य तीनै तहका सरकार यस चुनौतीलाई अवसरको रुपमा परिणत गर्न सकेनन् । विश्वका अनेकौ मुलुकमा चुनौतीहरुका बीच असल नेतृत्व विकास भएको उदाहरणहरु छन् तर कोरोना त्रासदी अधिकांश सरोकारवालाहरुका लागी शुभलाभको विषय बनेर आयो ।  स्वास्थ्य समाग्री खरीद , क्वारेन्टाइन र आइशोलेशन व्यवस्थापनमा भएको अनियमीतता यसका उदाहरणहरु हुन् । यद्यपि अहिलेको समय सरकार वा अन्य कुनै निकायले गरेका राम्रा नराम्रा काम कार्यवाहीको हिसाव किताव गर्ने वेला होइन । पछि जनताले यसको हिसाव किताव अवश्य पनि गर्ने छन् ।
आधुनिकताले सरावोर नेपाली समाजमा अझै पनि दलित भएकै कारण राजूहरुलाई एम्बुलेंस लान मान्दैन । अछोप भन्दै क्वारेन्टाईनमा संगै बस्न दिदैन । अस्पतालका चिकित्सक उपचार गर्न आनाकानी गर्छन । जो राजनीतिक दलका लागी भोटर वाहेक केही बन्न सकेन , यी दलित , सिमान्तिकृत मनुवाहरुको लागी मुलुकमा लोकतन्त्र आउनु नआउनुको अर्थ छैन । आफ्नो आवाज बुलन्द गर्न सदरमुकाममा प्रर्दशन गर्छन– प्रहरी दमन हुन्छ । आफ्नो हक अधिकारका लागी सडकमा उत्रिन्छन – घर फर्केर के खाने ? भन्ने चिन्ता हुन्छ । कथंकदाचित आन्दोलन सफल भयो भने पनि नेता अर्कै वर्ग र जातिको हुने खतरा छ । जाति, वर्ग वा समुदायका नाममा आउने सुविधा र फन्डमाथि जातिकै अगुवाहरुको रजाई हुन्छ । राजनितीक ‘मल्लिदा’ अरुहरुले नै खाने संभावना छ । दीनाभद्री र सलहेसका सन्तानहरु आफ्नै मुलुकमा कहिले सम्म अभिशप्त रहने ??? एक शब्दमा भनौ भने – सत्ता बदले पनि दलितको दसा भने बदलेको छैन । 


Saturday, July 25, 2020

प्रदेश २ मा २५ को मृत्यु ९ घाइते, करोडौको क्षति

जनकपुरधाम, १० साउन । लगातार वर्षाको कारण प्रदेश २ को विभिन्न जिल्लामा आएको बाढीमा परी २५ जनाको मृत्यु र ९ जना घाइते भएको छ भन्ने करोडौको क्षति पुर्याइएको छ ।
मृत्यु हुने जिल्लाहरुमा धनुषा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, पर्साको रहेको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामले उपलब्ध गराएको तथ्यांक अनुसार सिरहामा पानीमा डुबेर १ जनाको र बगाएर दुई जनाको मृत्यु भएको छ । धनुषामा चारजनाको पानीमा डुबेर मृत्यु भएको छ भन्ने एकजना घाइते भएका छन् । महोत्तरीमा चारजनाको डुबेर मृत्यु भएको छ भने एकजनालाई बगाएर मृत्यु भएको छ । सर्लाहीमा चारजनाको डुबेर मृत्यु भएको छ भने दुईजनालाई बाढीले बगाएर मृत्यु भएको छ ।  सप्तरीमा घर भत्किएर एकजना घाइते भएका छन् ।
त्यस्तै रौतहटमा पानीमा डुबेर ४ जनाको मृत्यु एकजना घाइते र दुईजनालाई खोलाले बगाएर बेपता । पर्सामा तीनजनाको डुबेर मृत्यु भएको छ ।  त्यस्तै आठवटै जिल्लामा ५९५ वटा घरका २९९९जना बाढी प्रभावित भएको छ । त्यसैगरी २५२ घरका १०५१ विस्थापित भएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांमा बाढी पहिरोलाई लक्षित गरी प्रदेशमा २८१० प्रहरी परिचालन गरिएको जनाइएको छ ।
वर्षाको कारण आएको बाढीबाट धानबालीको यकिन गर्न नसकिने भएपनि घर टहरा लगायतमा करोडौंको क्षति भएको छ ।

दलितका वस्ती बचाउन गएका साह कुटिए, प्रहरीले उजुरी दर्ता गर्न मानेन

जनकपुरधाम, १० साउन । दलित र सुकुम्बासी बस्दै आएका घरहरु भत्काउन खोज्दा एकजना व्यक्तिले लकडाउनको अवस्थामा उनीहरुको बस्ने व्यवस्था नहुन्जेलसम्म घर नभत्काउन भनेपछि केही स्थानीयहरुले अभद्र व्यवहारका साथै कुटपिट गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ स्थित धर्मवान टोलमा सडक छेउमै दशकौं देखि बस्दै आएका दलितहरुको बासस्थान हटाउने प्रयास भएपनि स्थानिय समाजसेवी दिलिप साहले दलितको पक्षमा बोल्दा दिन दहाडै कुटिएका छन् ।
सडक विस्तारको क्रममा दलित र सुकुम्बासीहरुको घर टहरा हटाउन नगरपालिकाले नोटिस गरेका छन् । तर  त्यहाँ पचासौ वर्षदेखि बस्दै आएका सकुम्बासीहरुले आफूहरुलाई जबसम्म सरकारले जग्गा उपलब्ध गराउँदैन घर टहरा भत्काउन नदिने अडानको समर्थन मैले गरेका थिए । तर उनीहरुको समर्थन किन गरेको भन्दै केही व्यक्तिले गुण्डागर्दी शैलीमा कुटटिप गरेको जनकपुरधाममा शनिवार पत्रकार सम्मेलन गरी साहले गुनासो गरेका छन् ।
घटना क्रममको भिडियो देखाउँदैन भने ‘केही उत्श्रृखल व्यक्तिहरु कृष्णा युवा कमिटी सञ्चालन गरेको छ । मैले भने घर नै भत्काउने हो भने एकसाइडबाट भत्काउनुस्, दलित र सुकुम्बासीहरुको भत्काउनु भन्दा अघि म भत्काउँछु । त्यतिकै भन्दैमा मलाई कुटपिट गर्न थाल्यो । कुटपिट गर्नेमा कमिटीका अध्यक्ष लभ यादव, ओम यादव, लक्ष्मेश्वर यादव, शंकर यादव सहितका रहेका छन् । उनीहरुमाथि जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न जाँदा सामान्य घटना हो भनेर फर्काउने गरेको छ ।’
सडक छेउमै बस्दै आएका दलित, गरिव विपन्नहरुलाई बिना कुनै भरपर्दो व्यवस्थापन हटाउन खोजेपछि लकडाउनमा उनीहरुलाई खाना खुवाएका साहले के आधारमा हटाउने भनेर प्रश्न गरेको मात्र के थिए स्थानिय लव अधिकारी, लक्षमेश्वर यादव, ओम यादव, शंकर सिंह सहितका व्यक्तीहरु साहलाई तथानाम गाली, बेज्जती र कुटपिट गर्न थाले । पत्रकार सम्मेलनमा उपस्थित कलशिया देवी सहनीले पिडित साह आफुहरुको सुख दुःखमा साथ दिने व्यक्ति रहेको र समाजसेवी रहेकाले बोलेकै भरमा कुटपिट गरिएको भिडियो समेत आफुहरुले खिचेको बताए ।