Thursday, July 21, 2016

जनकपुरको कार्यालयहरु डुबानमा ग्रामीण क्षेत्रसँग सम्बन्ध विच्छेद

कैलास दास
जनकपुर । विगत केही दिनयता परेको अविरल वर्षाले गर्दा जनकपुरका कार्यालयहरु डुबानमा परेको छ भने पूर्वी धनुषाको दुर्गम क्षेत्रसँग जनकपुरको सम्पर्क विच्छेद हुन गएको छ ।
लगातार वर्षा हुँदा यहाँका यातायात कार्यालय, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रशासन कार्यालय, खानेपानी संस्थान लगायतका कार्यालयहरु डुबानमा परेको छ भने दर्जनौं घरमा पानी पसेको छ ।

हिलाम्य सडक, खल्डाखुल्डी तथा अविरल वर्षाको कारण ग्रामीण क्षेत्रसम्म यातायात चल्न नसक्दा त्यस भेगका ग्रामीण जनताको जीवनस्तर कष्टकर बन्दै गएको छ । पूर्वी धनुषाको बालाबाखर, खजुरी, इनर्वा, लक्कर, रघुनाथपुर, सबैला, धनौजी, लखौरी, बलहा सघारा लगायत दर्जनौं गाउँका बासिन्दाहरु काम विशेषले सहरसम्म आउन नसक्दा उनीहरुको जीवन कष्टकर बन्दै गएको हो ।
वर्षाले गर्दा ग्रामीण क्षेत्रका विद्यालयहरु समेत प्रभावित भएकोले विद्यार्थीहरु पठन पाठनबाट समेत वन्चित भएका छन् भने धनुषाको भडडिया र सीमावर्ती भारतको हरिने बजारको बीचमा रहेको खोलामा पानी भर्न जाँदा मानिसहरुलाई आवात जावत गर्न समेत समस्या परेको छ । वर्षातको कारण यातायात चल्न नसक्दा काम विशेषले जनकपुर आउने बासिन्दाहरु आउन नसक्दा उनीहरुको दिनचर्या कष्टकर बन्दै गएको हो ।
असार लागेपछि विकास निर्माणको कामको क्रममा बाटोभरि माटो हाल्नाले सडक हिलाम्य भएपछि यातायात सवारी साधनहरु चल्न सकेको छैन भने ग्रामीण क्षेत्रबाट सहरसम्म आउने यातायातका साधनहरु समेत रोकिनाले यस भेगका जनताहरु मार्कामा परेका छन् ।
वर्षातकै कारण जनकपुरका सडकहरु हिलाम्य भएपछि यस भेगका व्यापार समेत प्रभावित भएको छ भने वित्तिय संस्थाहरु समेत रित्तो देखिएको छ ।वर्षाकै कारण यहाँका सरकारी कार्यालयहरु समेत डुबानमा परेपछि सेवाग्राही सेवा लिनबाट वन्चित भएका छन् ।
नगरक्षेत्रमा रहेको नालाको अभावको कारण घरघरमा पानी बस्दा मानिसहरु समस्यामा परेका छन् भने फोहरको कारण लामखुट्टे तथा सर्पको बिगबिगी बढेको छ । वर्षातकै कारण दैनिक रुपमा मजदुरी गरी जीवनयापन गर्ने निम्न वर्गका मानिसहरुको जीवन कष्टकर बन्दै गएको छ । ग्रामीण क्षेत्रमा रहेका सरकारी कार्यालय तथा प्रहरी चौकीहरुमा समेत पानी पस्नाले उनीहरुले पनि सेवाग्रहीहरुलाई सेवा दिन नसकेकोले ग्रामीण क्षेत्रमा रहेका प्रहरी कार्यालयहरुको भनाई रहेको छ । जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाहरुको किनमेल गर्ने सीमावर्ती बजारसम्म पुग्न अप्ठ्यारो भएकोले कतिपय ठाउँमा खाद्यन्न समस्यापनि देखिएको छ ।

No comments:

Post a Comment