Tuesday, August 16, 2016

सिघानियाँ हत्याका आरोपी रामविनोद धनुषा अदालतमा हाजिर

जनकपुर । सञ्चारउद्यमी अरुण सिघानिया हत्याका आरोपी रामविनोद यादव तीन वर्षपछि मंगलवार धनुषा जिल्ला अदालतमा हाजिर भएका छन् । अदालतमा हाजिर भएपछि निज यादवको बयान लिएर उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश समेत दिएको छ ।

सिघानिया हत्याको आरोपमा ११ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरिए लगतै यादव फरार भएका थिए । उनी मंगलवार ११ बजे जिल्ला अदालत धनुषामा हाजिर भएका थिए । आफ्ना वकिल सहित हाजिर भएका यादवको मुद्दामा भएको थुनछेक बहसमा ५ नम्वर इजलासका न्यायधीश डा. राजेन्द्र आचार्यले यादवलाई तत्काल प्रमाणको आधारमा निर्दोष भन्न नमिल्ने भन्दै पछि ठहरे बमोजिम हुने गरी पूर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतमा हाजिर भए लगतै ५ नम्वर इजलास नै मुद्दाको विषयमा बयान लिएको थियो ।
बयानको क्रममा यादवले आफूले संजय साहलाई मात्र चिनेको र अन्य प्रतिवादीहरुलाई नचिनेको बयान दिएका छन् । निजले हत्या भएको दिन आफू घरमा रहेको बयानमा उल्लेख गरेका छन् । अदालतले थुनामा पठाउने आदेश दिएपछि कुन कारागारमा जाने भन्ने अदालतका कर्मचारीले यादवसँग प्रश्न गरेका थिए । निजले जलेश्वर कारागार नै रोजेका थिए ।
यादव अदालतमा हाजिर भएपछि सञ्चारकर्मीहरुको जिल्ला अदालतमा बाक्लो उपस्थिति रहेको थियो । प्रहरीले थुनामा लैजाने क्रममा उनले सञ्चारकर्मी माझ आफूलाई सिघानिया हत्यामा फसाइएको र कानूनी लडाई लड्ने बताएका थिए । उनले घटनामा आफ्नो कुनै प्रकारको संलग्नता नरहेको र मधेशका युवाहरु जो राजनीतिकमा सक्रिय हुन चाहेका छन् उनीहरुलाई यस प्रकारको झुठो मुद्दामा प्रहरीले फसाउने गरेको बताएका थिए ।
होली मनाएर आफ्नो घरतर्फ गई रहेका सघानियालाई २०६६ फागुन १७ गते जनकपुरको शिवचौकमा गोली प्रहार गरी हत्या गरिएको थियो । सो घटनामा प्रहरीले विभिन्न ११ जनालाई प्रतिवादी बनाउँदै ०७२÷१२÷२८ गते जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो । प्रतिवादी बनाइएकाहरुमा धनुषा क्षेत्र नं. ४ का निलम्बित साँसद संजय कुमार साह, गणेशमान चारनाथ नगरपालिका २ का चनरदीप यादव, महोत्तरी नगरपालिका ११ खयरा टोलका मुकेश चौधरी, गणेशमान नगरपालिका १ का रामकरण यादव, बेगाशिवपुर १ का ओम प्रकाश यादव, यज्ञभूमि गाविस ५ किसानपुरका एकलाल भन्ने योगेन्द्र सहनी, भरतपुर ९ का अंशी राइन, भरतपुर १ का दिपेन्द्र कुमार कुशियैत यादव, कनकपट्टी १ का रामविनोद यादव, भरतपुर ८ का पवन लामा, उमाप्रेमपुर २ का मनकलामा ठोकर  रहेको छ । जयमध्ये  मनकलामा ठोकरले जिल्ला अदालत धनुषामा आफूले नै हत्या गरेको स्वीकार गरेका छन् ।
अदालतले आरोपी मध्ये चनरदीप यादव र मनक लामालाई थानामा तथा ओम प्रकाश यादवलाई तीन लाख रुपैया, मुकेश चौधरीलाई २० रुपैया, दीपेन्द्र कुशियैतलाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

No comments:

Post a Comment