Tuesday, September 1, 2015

वीरगंजमा प्रहरीको गोली लागि ५को मृत्यु

कैलास दास
वीरगंज । विगत दुई दिन देखी जारी तनावका बीच मंगलवार प्रहरी र प्रदर्शनकारी बीच ठाउ ठाउमा भएको झडपमा परि वीरगंजमा ५ र कलैयामा १ प्रदर्शनकारीको मृत्यु भएको छ ।
वीरगंजको अवस्था तनाव ग्रस्त भएपछि स्थानीयप्रशासनले सोमवार बेलुका ४ बजे देखी जारी गरेको कफ्र्यु आदेशलाई उल्लंघन गर्दै हजारौको संख्यामा प्रदर्शनकारीहरु सडकमा ओर्लेपछि प्रहरीले चलाएको गोली लागेर पाँच जनाको मृत्यु भएको हो ।

मंगलवार मृत्यु हुनेहरुमा इनर्वा मनियारीका ३० वर्षीय धर्मराज सिंह, नगवाका सोहन साह कलवार, लक्ष्मणवाका दिनानाथ साह, भोला प्रसाद र चतुरी तिवारी रहेका छन । टाउकोमा गोली लागेका सोहन कलवारको घटना स्थलमै मृत्यु भएको छ भने अन्यको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पताल तथा नारायणी मेडिकल कलेजमा मृत्यु भएको हो । यसैगरि कलैयामा प्रहरीले चलाएको गोली लागि रंगपुरका २५ वर्षीय हिफाजत मियाँको मृत्यु भएको छ ।
विरगंज र कलैयमा मंगलवार विहानै देखी जारी झडपमा परि ५ दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन । जस मध्ये करिब १ दर्जनको अवस्था चिन्ताजनक रहेको छ ।
प्रहरीले अन्धाधुन्ध गोली चलाउन थालेपछि आन्दोलनकारी थप आक्रोशित भएका छन । आक्रोशित आन्दोलनकारीहरुले बीरगंज स्थित एमाले पार्टी कार्यालय सहित एक दर्जन भन्दा बढी प्रहरी चौकीमा आगजनी गरेका छन भने दर्जनो सरकारी कार्यालयमा आगो लगाई दिएका छन ।
प्रशासनको कफ्र्युलाई उल्लंघन गर्दै प्रदर्शनकारीहरुले वीरगंजको मुख्यचौकहरुमा अबेर राति सम्म प्रदर्शन जारी राखेका छन ।

यसैबिच स्थानिय प्रशासन पर्साले दिउँसो २ ः ३० बजे देखि वीरगंजलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । स्थिती हिंसात्मक बन्दै गएपछि र प्रर्दशनकारीहरु कर्फयुको अवज्ञा गर्न थालेपछि प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो । दंगाग्रस्त क्षेत्रमा जुन सुकै बेला पनि सेना परिचालन गर्न सकिने स्थानिय प्रशासनले जनाएको छ ।
यस अघि सोमवार आन्दोलनकारी र प्रहरी बिच झडप हुदाँ पर्सा जगरनाथपुर दिलिप चौरसियाको मृत्यु भएको थियो ।

No comments:

Post a Comment