Sunday, July 6, 2014

अब जनकपुर अंचल अस्पतालमै मृगौला रोगीहका उपचार हुने

कैलास दास
जनकपुर, असार २२ । मृगौला रोगीहरुका लागि महँगो उपचार पद्धति मध्ये एक रहेको डायलाइसिस प्रविधिबाट गरिने उपचार सेवा जनकपुर अंचल अस्पतालमा आईतवारबाट शुरु भएको छ ।

तराई मधेश क्षेत्रमै पहिलो डायलाइसिस केन्द्रको रुपमा जनकपुरमा शुरु भएको उक्त सेवाको उदघाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका सचिव डा. प्रविण मिश्रले गरेका हुन । नेपाल सरकारको आर्थिक सहयोग तथा मानव अंग प्रत्यारोपण केन्द्रको प्रत्यक्ष निगरानीमा शुरु भएको डायलाइसिस सेवा आईतवार बाटै उपचारको शुरुवात समेत गरेको छ । करिब ५५ लाखको लागतमा २ वटा डायलाइसिस मेसिन सहित अन्य उपकरणहरु अस्पतालमा जडान गरिएको हो ।
डायलाइसिस सेवाको उदघाटन गर्दै स्वास्थ्य सचिव डा. मिश्रले नेपालमा अहिले ३०लाख मृगौला रोगी रहेको र एक वर्षमा ३ हजारको मृगौला फेल भै रहेको अवस्थामा जनकपुरमा शुरु भएको यो सेवाले यस क्षेत्रका रोगीहरुको उपचारमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।
विराटनगर देखी वीरगंज सम्मका मृगौला रोगीहरुको लागि जनकपुर केन्द्र बन्न सक्ने तर्फ अस्पताल प्रशासनको ध्यानाकर्षण गराउदै डा. मिश्रले यो सेवालाई चुस्त दुरुस्त बनाई राख्न सुझाव समेत दिएका थिए । डा मिश्रले भने,‘सरकारले तपाई हरुलाई मेसिन उपलब्ध गराएको यसलाई निरन्तरता दिनु अस्पतालको काम हो ।’
उनले नेपालमा सरुवा रोगहरुको रोक थाम गर्न सरकार र स्वास्थ्य मन्त्रलाय सफल भएपनि नसर्ने रोगहरु चुनौतीको रुपमा आई रहेको बताए । मुलुकमा कुल रोगीको ४६ प्रतिशत मृगौला, हृदयरोग दमरोग र क्यान्सरबाट पीडित रहेको बताउदै यसको नियन्त्रणका लागि जनचेतना वृद्धिमा समेत जोड दिएका थिए ।
सचिव डा. मिश्रले जनकपुर अंचल अस्पतालका लागि सिटी स्क्यान र आइसियु संचालनका लागि समेत उपकरणहरु मन्त्रालयले पठाई सकेको जानकारी गराउदै उक्त सेवाहरु समेत अविलम्ब सुचारु गर्न निर्देशन दिएका थिए ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बलराम मिश्रले तराई मधेश क्षेत्रमै जनकपुरमा पहिलो पटक शुरु भएको यो सेवाले यस भेगका रोगिहरुलाई काठमाण्डौ वा भारत जानुपर्ने झन्झटबाट मुक्ति पाउने बताएका थिए । उनले पूर्ण निशुल्क सेवा उपलब्ध गराउने तैयारी भै रहेको जानकारी समेत गराएका थिए ।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष कामेश्वर झाले सिटी स्क्यान र आइसियु सेवा एक डेढ महिना भित्रै संचानलमा आउनु जानकारी गराउदै अस्पतालको स्तरोन्नतिको लागि मन्त्रालयमा अल्झिएको फाइललाई अगाडी बढाई दिन सचिव मिश्र संग आग्रह गरेका थिए । अस्पतालको नयाँ भवन निर्माणका लागि टेण्डर प्रक्रिया पुरा भै सकेको भन्दै अध्यक्ष झाले स्तरोन्नतिको प्रक्रिया अगाडी बढाईए निकट भविष्यमै जनकपुर अंचल अस्पतालमा पाँच सय सैयाको हुने विश्वास समेत व्यक्त गर्नु भयो । एक अर्को प्रसंगमा अध्यक्ष झाले जनकपुर अंचल अस्पतालमा क्षेत्रीय प्रयोगशाला निर्माण गर्न मन्त्रालयको प्रयासमा सरकारले यस वर्षको बजेटमा रकम विनियोजन गर्न लागेको प्रति धन्यवाद समेत दिएका थिए ।
कार्यक्रममा अस्पतालका पूर्व मेसु डा. गोरांग मिश्र, एसएसपी शिव लामिछाने, राजनीतिक दलका तर्फ बाट संघीय सदभावना पार्टीका जिल्ला अध्यक्ष रमण सिंह, जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख योगेन्द्र भगत, पत्रकार सुजित कुमार झा, स्टाफ नर्सका तर्फ बाट रिमा द्विवेदी लगायतले बोल्दै डायलाइसीस सेवाको स्थापना महत्पूर्ण योगदान पु¥याएका मन्त्रालयका सचिव लगायतलाई धन्यवाद दिएका थिए ।    
धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी, सिन्धुली, उदयपुर , सुनसरी , मोरंग, रौतहट बारा पर्सा र भारतका सितामढी तथा मधुवनी जिल्लासम्मका रोगीहरु उपचारका लागि जनकपुर आउने विश्वास लिइएको छ । डायलाइसिस सेवा संचालनका लागि एक जना चिकित्सक पाँचजना स्टाफ नर्स र एकजना प्राविधिकलाई मानव अंग प्रत्यारोपण केन्द्रले तालिम दिएको छ । उदघाटन समारोहमा मानव अंग प्रत्यारोपण केन्द्रका डा. पुकार, डा. चटौत समेतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment