Thursday, July 10, 2014

जनकपुरका सडक मरम्मतका लागि आएका रकम फ्रिज, जिर्णाद्धार कार्य स्थगित

कैलास दास
जनकपुर, असार २६ । सडक डिभिजन कार्यालय जनकपुरद्वारा जनकपुर नगरक्षेत्रको प्रमुख सडकहरुको मरम्मत एवं कालोपत्रेका लागि गरेको ठेक्का अनुसार काम नभएपछि बजेट फ्रिज हुने छ । सडक डिभिजन कार्यालयले आर्थिक वर्षको अन्तिम समयमा आएर बचत रकमबाट गरेको ठेक्का अनुसार ठेकेदारले जनकपुरको कुनै पनि सडकमा कालोपत्रे गर्न सकेका छैनन् ।
सडकहरुमा ग्रेभेल तथा मसिनो गिटी राख्ने सम्मको काम भएपनि कालोपत्रे गर्नका लागि समय नभ्याएपछि यस वर्षको रकम सदुपयोग हुन सकेन । सडक डिभिजिन कार्यालयले अब यस वर्ष उक्त सडकहरुको कालोपत्रे नहुने जनाएका छन् । सडक डिभिजन कार्यालयका ईन्जिनियर दरोगा साहले बचत रकमबाट गरिएको टेन्डर अनुसार काम नभएकोले भएको कामको बील पास गरी बजेट फ्रिज हुने बताए ।
सडक डिभिजन कार्यालय जनकपुर र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको बचत रकमबाट जनकपुरको जानकी मन्दिरदेखि रामानन्द चौक, चुरोट कारखाना, थापा चौक, भानु चौक हुदै मूरली चोक भएर एयर पोर्ट सम्म, जानकी मन्दिर देखि थापा चौक सम्म, जिल्ला प्रशासन कार्यालयको दक्षिण कुना देखि शुक्रवारी बजार हुदै महावीर चौक सम्मको सडक मरम्त एवं कालोपत्रे गर्ने कार्यक्रम रहेको थियो ।
समयमा ठेकेदारहरुले काम नपाएका कारणले गर्न नसकेको दावी गर्दै आएका छन् । सरकारले खोला क्षेत्रबाट बालुवा गिटी र रोडा झिक्नका लागि प्रतिबन्ध लगाएका कारणले पनि ठेकेदारहरुलाई काम गर्नमा निक्कै कठिनाई भएको थियो । एशियाली विकास बैंकको एकिकृत सहरी विकास आयोजनामा परेका सडकहरुमा नै सडक डिभिजन कार्यालयले अस्थायी रुपमा डेढ, दुई वर्ष टिक्ने किसिमले सडक मरम्त तथा कालोपत्रे गर्ने कार्य राखेका थिए । भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिको प्रयासबाट जानकी मन्दिरलाई केन्द्रविन्दु बनाएर सडकको मरम्त सम्भार एवं कालोपत्रे गर्ने कार्य बढाए पनि समयाभावका कारणले उक्त योजनाहरु पुरा भएका छैनन् । सडकहरुमा कालोपत्रे नभएपनि हिलाम्य हने सडकहरुमा अहिले हिलो देख्न पाईदैनन् । उता ठेकेदारहरुले सडकमा जथाभावी रुपमा राखेको बालुवा गिटी नसम्याएका कारणले सर्वसाधारणलाई आवत जावतमा निक्कै कठिनाई भईरहेको छ ।
उता सडकमा राखिएका बालुवा गिटीलाई सम्याउनका लागि ठेकेदारहरुलाई पटक पटक निर्देशन दिएको ई. दरोगा साहले बताए ।

No comments:

Post a Comment