Sunday, July 6, 2014

धनुषाका १४ जना जेष्ठ पत्रकार सम्मानित

कैलास दास
जनकपुर,आसार २२ । नेपाल पत्रकार महासंघ धनुषा शाखाले ३० वर्ष भन्दाबढी समयदेखि पत्रकारिता गर्दै आएका शाखा अन्तर्गतका १४ जना बरिष्ठ पत्रकारहरुलाई आईतवार एक कार्यक्रम बीच सम्मान गरेको छ ।
धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको जेष्ठ पत्रकार तथा २४ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रिय पदाधिकारी एवं सदस्यहरुको सम्मान कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले जेष्ठ पत्रकारहरुलाई सम्मान पत्र तथा दोसल्ला ओढाई सम्मान गरेका थिए ।
यसरी सम्मानित हुनेहरुमा वरिष्ठ पत्रकारहरु आनन्द घिमिरे, चन्देश्वर गिरी, राजेश्वर नेपाली, मदन लाल श्रेष्ठ, राम भरोस कापडि भ्रमर, अशोक रौनियार, विएम खनाल, माधव बहादुर थापा, माधव आचार्य, शंकरलाल श्रेष्ठ, सुशिल घिमिरे, दिलिप घिमिरे, राम प्रकाश साह, अनिल घिमिरे रहेका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष डा. विष्टले पत्रकाहरुलाई अवको दिनमा सृजनात्मक र सकारात्मक पत्रकारिता गर्नु पर्नेमा जोड दिएका थिए । आलोचना गर्ने पत्रकारहरुको धर्म रहेका भन्दै अध्यक्ष विष्ट ले भने,‘आलोचना गर्ने पत्रकारको धर्महो , तर गाली मात्रै कति गर्ने अब सकारात्मक आलोचना गरौ, सृजनात्मक र सकारात्मक पत्रकारिता गर्नु पर्ने समय आइ सकेको छ ।
मुलुक संघीयतामा जान लागेको बेलामा स्थानीय मिडियाहरुलाई सम्बद्र्धन गर्नु आवश्यक रहेको बताउदै उनले साना मिडियाहरुको संरक्षण र सम्बद्र्धन नगरे सम्म सबै तहका आवाजलाई समेटिन नसक्ने भएकाले साना मिडियाहरुलाई स्थापित गराउन महासंघले पहल थालिसकेको समेत बताए ।
अहिलेको असमान विज्ञापन वितरण प्रणालीले स्थानीय तथा साना मिडियाहरु मार्कामा पर्दै आएको स्वीकार गर्दै अध्यक्ष विष्टले त्यसका समाधानका लागि स्थानीय स्तरका विज्ञापनहरु स्थानीय मिडियालाई नै दिनु पर्ने व्यवस्था मिलाउन पहल भै रहेको बताए ।
उनले मिडियाहरुको संरक्षण मात्र गरेको पत्रकारिता क्षेत्र बलियो नहुने भन्दै मिडियाहरुको संरक्षणका साथै पत्रकारहरुको पारिश्रमिकको सुनिश्चिता तथा दक्षता अभिवृद्धिका लागि समेत महासंघले पहल गरिरहेको उल्लेख गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि एवं धनुषाका स्थानीय विकास अधिकारी गुरु प्रसाद सुवेदीले स्थानीय संचारगृहरुको विकास तथा सम्वद्र्धनको लागि जिल्ला विकास समिति सदैब तैयार रहेको बताए । पत्रकार महासंघ धनुषाले स्थापना गरेका पत्रकार कल्याणको लागि ५० हजारको चेक हस्तान्तरण गर्दै सुवेदीले पत्रकार महासंघको भवन निर्माणको लागि चालु आर्थिक वर्षमा ४ लाख उपलब्ध गराएको अगामी आर्थिक वर्षमा समेत उतिकै रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले जनकपुरको विकासमा यहाँ पत्रकारहरुले खेलेको सकारात्मक भूमिकाको प्रशंशा गर्दै पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि एक लाख रुपैया छुट्याइ सकेको समेत बताए ।
सम्मान ग्रहण पछि बोल्दै बरिष्ठ पत्रकार एवं प्राज्ञ राम भरोस कापडि भ्रमरले जेठ पत्रकारहरुको सम्मान स्वरुप सरकारले प्रतिमहिना रु ६ सय उपलब्ध गराउने गरेको निर्णय प्रति आफनो चित्त नबुझेको बताए ।
उनले ६ सय रुपैयाको महिनाले पत्रकारहरुको अवस्थामा कुनै सुधार नआउने बताउदै एकमुष्ठ रकमको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । सरकारले जेष्ठपत्रकारहरुको लागि सुरक्षा र सुविधाको व्यवस्था हुने पर्ने बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार विएम खनाल पत्रपत्रिकाको वर्गीकरण प्रक्रियामा देखिएको समस्याले मोफसलका पत्रिकाहरु समस्यामा पर्दै आएको बताउदै त्यसको अन्त सहित पत्रकारहरुको समाजिक सुरक्षाको जिम्मा समेत सरकारले लिनु पर्ने बताए । त्यस्तै पूर्व केन्द्रिय सदस्य हिमांशु चौधरी संचार गृहहरु अहिले श्रमशोषणको प्रयोगशालामा परिणत भै रहेको भन्दै त्यसको अन्तका लागि महासंघले पहल गर्नुपर्ने बताए । निर्वतमान अध्यक्ष राम अशिष यादवले जेष्ट पत्रकारहरुलाई सम्मान गर्नुले सम्पूर्ण शाखानै सम्मानित भएको बताउदै यस परम्परालाई निरन्तरता दिनु पर्ने बताए । साथै उनले महासंघको भवन निर्माणको कार्य समेत चाडै शुरु गर्न सुझाव दिएका थिए । कार्यक्रममा पूर्व अध्यक्ष अशोक रौनियारले जेष्ठ पत्रकारहरुको लागि निवृति भरण व्यवस्था गरे थुप्रै जेष्ठ पत्रकारहरु स सम्मान पत्रकारिता बाट विश्राम लिने भएकाले पत्रपत्रिकाको वर्गीकरणमा समेत सहजीकरण हुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको २४ महाधिवेशन बाट निर्वाचित सचिव धर्मेन्द्र कर्ण, मध्यमाञ्चल इन्चार्ज शितल महतो र सदस्य अजय कुमार मिश्र अनुरागीलाई समेत सम्मान गरिएको थियो । उनिहरुले मोफसलको पत्रकारिताको विकासको लागी आफुहरु पहरेदारको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

No comments:

Post a Comment