Monday, October 23, 2017

छठका घाटहरु बेहुली झै सजाइदै

जनकपुरधाम, ६ कातिक । अहिले मिथिलाञ्चलमा छठ पर्वको तयारी जोडतोडका साथ चलि रहेको छ । गाउँदेखि सहरसम्म छठको रौनकताले छोई रहेको छ । मिथिलाञ्चलका तलाउ, नदी तथा घाटहरूलाई सजाउने कामलाई तिव्रता प्रदान गरिएको छ ।

मिथिलाञ्चलमा बडो आस्थाका साथ मनाइने छठ पर्वमा मधेश मुलका मात्र नभई पहाडी र केही मुस्लिम समुदायले पनि छठी माईको उपवास लिन थालेकाले यो पर्वको व्यापकता बढ्दै गई रहेको छ ।
पर्व नजिकिएसँगै बजारमा किनमेल गर्नेहरुको घूइँचो बढेको छ । पूजा सामग्रीको मात्र नभई कपडा पसलहरूमा पनि ग्राहकको भीड उत्तिकै देखिन्छ । छठलाई लक्षित गरी रोजगारी तथा शिक्षा प्रयोजनका लागि देश(विदेशमा रहेकाहरू धमाधम घर फर्किन थालेका छन् ।
बाँसको पूजा सामग्री बनाउने डोमदेखि माटाका भाँडाकुँडा बनाउने कुम्हाल मात्र नभई सिन्दुर चुरापोतेको व्यापार गर्ने चुडिहार सम्म अहिले व्यस्त देखिएको छ ।
छठ पर्वको साँझ व्रतालुहरूले घरबाट विशेष पूजाका साथ सामग्री छैटीमा राखी टाउकोमा बोकेर नजिकको घाट पुग्ने गर्छन् । घाटमा गई अस्ताउन लागेको सूर्यलाई नरिवलको अघ्र्य दिन्छन् । भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई यसरी नै अघ्र्य दिएर व्रत समापन गरिन्छ ।
दलित, गैरदलित र जातपातको कुनै भेदभाव नगरी एकै घाटमा व्रतालुहरूले सूर्यलाई अघ्र्य दिइन्छ । छठको व्रत गर्दा चर्म रोग नलाग्ने, पुत्र लाभ हुने, सौभाग्य वृद्धि हुने, परिवारमा सुख, समृद्धि आउने, परिवारका सदस्यहरू सम्भावित दुर्घटनाबाट जोगिनेजस्ता धार्मिक विश्वास छ ।
जनकपुरधाम स्थित विभिन्न छठ घाटहरू सजाउने क्रम झन्डै २ साता अघिदेखि भइरहेको छ । यहाँका गंगासागर,धनुषा सागर,राम सागर,अरगजा पोखरी लगायतका दर्जन जलाशयलाई बेहुलीझैं सजाइँदै छ । अधिकांश जलाशमा यो पर्वलाई लक्षित गरी स्थायी घाटहरू नै निर्माण गरिएका छन् ।

No comments:

Post a Comment