Saturday, January 3, 2015

कुकर विस्फोट हुँदा १३ विद्यार्थी घाइते

कैलास दास
जनकपुर, पुस १९ । विद्यालय व्यवस्थापन पक्षको चरम लापरवाहीका कारण शनिवार प्रेसर कुकर विस्फोटमा परी छात्रावासमा बस्ने १३ जना विद्यार्थी घाइते भएका छन ।
जनकपुर उपमहानगरपालिका वडा नं.१ वकिल टोलमा यसैवर्ष देखी संचालनमा आएको आर डि शिक्षा निकेतनको छात्रावासमा भएको सो विस्फोटमा विद्यार्थीहरु घाइते भएका छन । विद्यालय व्यवस्थापकका अनुसार विहानको खाना खाएर विद्यार्थीहरु आगो ताप्ने उद्देश्यले छात्रावासको प्राङ्गणमै बनाइएको चुल्हो नजिक जम्मा भएको बेला कुकर विस्फोट भएको थियो ।
ग्यास आभावको कारण चुल्होमा दिउसोको खाजाका लागि चाना उसिन्न कुकरमा राखिएको बेला कुकरको ढक्कन फुत्केर घटना हुन पुगेको विद्यालयले स्रोतले जनाएको छ ।  घाइते विद्यार्थीहरुमध्ये अधिकांशको आँखामा चोट लागेको छ । घाइतेहरुको धनुषा अस्पतालमा उपचार भै रहेको छ । घाइतेहुने विद्यार्थीहरुमा कक्षा ४मा अध्ययनरत बाला बाखरका १० वर्षीय सोनु यादव, युकेजीमा अध्ययनरत बडहराका ८ वर्षीय अनिल यादव, कक्षा २मा अध्ययनरत कुम्भकरणका १० वर्षीय आशिक शर्मा, मोरहा का ११ वर्षीय मुकेश साह, चिडैयाका १० वर्षीय प्रसान्त ठाकुर, कुम्भकरणका १३ वर्षीय बालकृष्ण यादव, जितेन्द्र यादव, चन्दन यादव, साहिल ठाकुर, राजन यादव, रियाज नदाफ र पप्पु यादव रहेका छन ।
घाइते मध्ये बालकृष्ण यादव र प्रसान्त ठाकुरको आँखा बढी चोट लागेको चिकित्सकहरुले बताएका छन । यसैवर्ष देखी कक्षा ५ सम्म संचालनमा आएको आरडी शिक्षा निकेतन कम्पनी ऐनमा दर्ता भएपनि शिक्षा कार्यालयबाट संचालनको अनुमति पाएका छैनन् । विद्यालय अहिले दर्ता प्रक्रियामै रहेको व्यवस्थापनले जनाएको छ ।

No comments:

Post a Comment