Friday, October 4, 2019

तेस्रो लिंगीलाई पनि आरक्षण हुनुपर्छ ः राज्यमन्त्री कुशवाहा


जनकपुरधाम, १७ असोज । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले जनसंख्याको आधारमा तेस्रो लिंगीलाई पनि आरक्षण हुनुपर्ने बताएका छन् ।
सुनौली बिहानी समाजद्वारा शुक्रवार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय यौनिक तथा लैगिंक अल्पसंख्यक विषयमा ‘खुल्ला बहस’ कार्यक्रममा उहाँले सो कुरा बताएका हुन ।
राज्यमन्त्री कुशवाहाले केही वर्ष अघिको तथ्यांक अनुसार देशभरिमा ९ लाखबढी तेस्रो लिंगी रहेको जिकिर गरेका छन् । उनले भने ‘समाजकै रुढीवादी सोचको परिवर्तनको आवश्यकता रहेको  छ । समजको रुढीवादी सोच र राज्यको विभेद नीतिको कारण उनीहरु पछाडि परेका छन् ।’ उनले तेस्रो लिंगी कमजोर होइन, कानून नीतिमा परिवर्तनको आवश्यकता रहेको छ । प्रदेश सरकारले कानून निर्माण गर्दा त्यसलाई ध्यानमा राख्ने अश्वासन समेत दिएका छन् ।

भारतको एउटा तेस्रो लिंगीको उदारहण प्रस्तुत गर्दै उनले भने, ‘भारतमा एकजना तेस्रो लिंगी सन्यासी थिए, त्यहाँ सानादेखि ठुल्ठूलाहरु माथ ठेग्न गर्दथे । उनीहरु अपहेलित होइन, सम्मानित हुनुहुन्छ ।’
मन्त्री कुशवाहाले संविधानले सबैको बराबरको अधिकार दिएकोले आफ्नो अधिकार आफै लिनुपर्ने र त्यसका लागि संघर्षको आवश्यकता रहेको समेत औल्याए ।
त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले राज्यमन्त्री कुशवाहाको कुरालाई समर्थन जनाउँदै संविधानमा तेस्रो लिंगीको अधिकार स्थापित भई सकेको बताए । उनले प्रदेश सरकारले कानून निर्माण गर्दा तेस्रो लिंगीसँग समेत परामर्श गर्ने अश्वासन दिएका छन् । संविधानले धेरै अधिकार दिएको छ, बाँकी अधिकार लिनका लागि सबैलाई अगाडि बढनुपर्ने उनले जिकिर गरेका छन् ।
त्यस्तै प्रदेश साँसद रामचन्द्र मण्डलले कानून निर्माण भएको छ, तर तेस्रो लिंगीको पहिचान स्थापित हुन नसकेको जिकिर गरेका छन् । उनले भने,‘ पहिचान स्थापित र अधिकार सुनिश्चितका लागि उनीहरुलाई आफै अगाडि बढ्नुपर्छ ।’ उनले यसै समाजका सन्तानलाई समाजले विभेदमा राख्नु दुःखद कुरा रहेको भन्दै समाजिक जनचेतनाको आवश्यकता समेत रहेको औल्याएका छन्।
बहस कार्यक्रममा तेस्रो लिंगीहरुले सहज रुपमा नागरिकता नपाउनु, पासपोर्ट नदिनु लगायतको विभेद राज्यले गर्दै आएको गुनासो पोखेका थिए। उनीहरुले राज्यदेखि समाजलेपनि शिक्षा, स्वास्थ्य लगायतको सुविधाबाट वन्चित गर्दै आएको कुरा दोहोर्याएका थिए।
कार्यक्रममा प्रदेश साँसद जानकी शरण साह, राजपाका केन्द्रिय सदस्य संजय चौधरी सहितका व्यक्तिहरुले विचार राखेका थिए ।

No comments:

Post a Comment