Sunday, December 6, 2015

पढाई छोडेर सडकमा ओर्लिए विद्यार्थीहरु

कैलास दास

जनकपुर । मधेशमा अधिकारको आन्दोलनका कारण राम्रो किसिमले विद्यालयहरु सञ्चालन हुन नसक्दा र सरपक्षबाटै विभिन्न प्रकारको घटना हुँदा सोको विरोधमा विद्यार्थीहरु शनिवार सडकमा ओर्लिएका थिए । जनकपुरका मात्र एकलाखभन्दा बढी विद्यार्थीहरु तीन महिनासम्म विद्यालय जान सकेका थिएन । केही दिन अघि ४ घण्टाका लागि विद्यालय खुलेपनि अभिभावक एवं विद्यार्थीहरुमा भयत्रास कायम नै रहँदै आएको छ ।
गत आईतवारदेखि तराईका विद्यालयहरु ४ घण्टासम्मका लागि सञ्चालनमा आएपनि सप्तरीमा प्रहरीको गोलीबाट ४ जना आन्दोलनकारीको मृत्यु हुँदा जनकपुरका वातावरण समेत असज बनेपछि प्याब्सन र एनप्यासनको अगुवाईमा शनिवार हजारौ विद्यार्थीहरु सडकमा ओर्लिएका थिए । विद्यार्थीहरुले प्लेकार्ड बोकर विआर नोट टेरोरिस्ट, व्हेयर इज माइ फिचर, हाम्रो कन्टूी कहाँ हो, हत्या हिंसा बन्द गर, मधेशको अधिकार सम्बोधन गर जस्ता नारा लेखर प्रदर्शन समेत गरेका थिए ।
रंगभूमि मैदानबाट निस्केको विद्यार्थीहरुको रैली नगरपरिक्रममा गर्दै पुनः रंगभूमी मैदानमै पुगेर मधेश आन्दोलनको क्रममा शहादत दिएकाप्रति श्रद्धाञ्जली एवं प्रार्थना समेत गरेका थिए । यहाँका डेढसय विद्यालयका विद्यार्थीहरु सो रैलीमा सहभागी भएका थिए । काठमाडौमा विद्यार्थीहरुले मानव ३५ मिटरसम्म संङगलो भएर प्रदर्शन गरेको एक दिन नवित्दै जनकपुरमा हजारौको संख्या विद्यार्थीहरुले विभिन्न माँग गर्दै प्रदर्शन गरेका थिए ।
त्यस्तै जनकपुरमा डेरा भाडा लिएर पठन पाठन गर्दै आएका विद्यार्थी मधेश आन्दोलनका कारण विच्चलीमा परेका छन् । डेरा भाडामा लिएका विद्यार्थीहरुलाई ग्यास उपलब्ध हुन नसक्दा गाउँतिर लागेका छन् । डेराको भाडामा दाउरामा घरधनीहरुले खाना पकाउन दिंदै र ग्यास पाई रहेको छैन यस्तो अवस्थामा जनकपुरमा बसोबास गर्ने विद्यार्थीहरु गाउँतिर लगेका छन्। लगातार बन्दका कारण पठन पाठन अवरुद्धका साथै ग्यास र मट्टीतेल समेत नपाउँदा अभिभावक र विद्यार्थी दुबै चिन्तित बनेका छन् ।
विद्यार्थीलाई निर्बाध पढाउनुपर्ने शिक्षालयहरूको व्यवस्थापन अब खाना र इन्धनतिर केन्द्रित हुनुपरेको छ । तराई आन्दोलनका कारण मधेशका सतप्रतिशत विद्यालयमा असर परेको शिक्षा मन्त्रालयले जनाएको छ ।  तराई क्षेत्रमा आन्दोलन सुरु भएयता विद्यालय सञ्चालन र पठनपाठनमा प्रत्यक्ष असर परेको छ ।
मध्य र पूर्वी तराईका ८ जिल्ला सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्सामा साउनदेखि रोकिएको पढाइ केही दिनअघिबाट बिहान हुन थालेको छ । तराई आन्दोलन र नाकाबन्दीले करिब १६ प्रतिशत (करिब १२ लाख) विद्यार्थी नियमित पठनपाठनबाट वञ्चित भएका छन् । ३५ हजार विद्यालयको करिब २० प्रतिशत विद्यालय प्रभावित भएको मन्त्रालयले जनाएको छ । ‘यसको कारण विद्यार्थीले वर्षभरिमा पूरा गर्नुपर्ने पाठ्यभार कठिनाइ भएको छ,’ मुलुककै शैक्षिक अवस्थाबारे योजना आयोगलाई जानकारी गराउँदै मन्त्रालयले देखाएको छ ।
काठमाडौं उपत्यकामा ३० प्रतिशत विद्यार्थी प्रभावित भएको मन्त्रालयको अनुमान छ । एक हजार चार सय संस्थागत विद्यालयमा ७ लाख विद्यार्थी अध्ययनरत छन् । तीमध्ये करिब ३० प्रतिशत विद्यार्थीहरू प्रभावित भएका हुन् । ‘विद्यार्थीको ओसारपसार, छात्राबास सञ्चालन गर्न कठिनाइ भई त्यस्ता शिक्षण संस्थाहरू बन्द भएका छन,’ मन्त्रालयले आयोगमा पठाएको पत्रमा भनिएको छ, ‘यी शिक्षण संस्थाहरूले शिक्षा नियमावली बमोजिम न्यूनतम कक्षा सञ्चालन गर्नुपर्ने एक सय ९२ दिन अन्य बिदाबाट समायोजन गर्नुपर्ने हुन्छ ।’
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ इन्धन अभावले करिब २५ प्रतिशत विद्यार्थी अध्ययन अध्यापनबाट प्रभावित बनेका छन् । यसैगरी तराई आन्दोलनबाट करिब ६ प्रतिशत विद्यार्थी प्रभावित भएको मन्त्रालयले जनाएको छ । उच्च शिक्षातर्फ ६ लाख ५२ हजार विद्यार्थीमध्ये करिब १३ प्रतिशत प्रभावित भएका छन् । परीक्षाको समयतालिका परिवर्तन गर्नुपर्दा शैक्षिक क्यालेन्डरमा ठूलो दबाब पर्न गएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँले नाकाबन्दी र तराई आन्दोलनले तिहारपछि कलेज खुल्दा पनि विद्यार्थीहरू कक्षामा नआएको बताए । ‘ग्यास र खानेकुराको अभावले दसैंतिहारमा घर गएका विद्यार्थी अझै फर्केका छैनन,’ उनले भने, ‘निर्बाध रूपमा परीक्षा सञ्चालन गर्न पनि समस्या भयो ।’ विद्यार्थी नआएकै कारण त्रिविका केही केन्द्रीय विभागमा कक्षा सञ्चालन नभएको उनले बताए ।
त्रिवि परीक्षा नियन्त्रक केशव बास्तोलाका अनुसार तराईमा स्नातक पहिलो वर्षको परीक्षा लिन सकिएको छैन । उनका अनुसार मंसिर २४ देखि विगतमा छुटेको परीक्षा लिने योजना छ । मंसिर २० देखि स्नातकोत्तर पहिलो वर्षको परीक्षा हुँदैछ । यो परीक्षा पनि कसरी सञ्चालन गर्ने भन्ने अन्योल सुरु भएको छ । महिनौंअघि भएको परीक्षाको नतिजासमेत सार्वजनिक गर्न सकिएको छैन । तेल अभावले शिक्षकहरू उत्तरपरीक्षण गर्न केन्द्रसम्म आउन नसकेको भन्दै उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को नतिजा पर सारेको छ ।
निजी विद्यालयको छाता संगठन प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले होस्टलमा विद्यार्थी राख्ने कतिपय विद्यालयले सहज दाउरा नपाउँदा खाना खुवाउन हम्मेहम्मे भएको बताए । ‘बसमा त सातामा दुई दिन इन्धन उपलब्ध गराउने भनेको छ,’ उनले भने, ‘एसएलसीको समय नजिकिएकाले होस्टेलमा बस्ने विद्यार्थीको संख्या बढ्दै छ ।

No comments:

Post a Comment