Sunday, September 21, 2014

बच्चा चोर्ने गिरोह प्रहरी हिरासतमा

कैलास दास
जनकपुर, असोज ५ डकैती शैलिमा बालक अपहरण गरी विक्री गर्नेे चारजना डाका सहित बालकलाई धनुषा प्रहरीले सकुशल रिहाई गर्नमा सफल भएका छन् । जनकपुरको वडा नं. ७ कुष्ठरोगीको वस्तिमा जागिर गरिरहेका प्रकाश मण्डलका छोरा ७ महिनाका मंगल मंडललाई ४ जनाको समूहमा आएका व्यक्तिले हतियार देखाई डेराबाट नै राति ११ बजे अपहरण गरी महोत्तरीको हरिनमरि वडा नं. १ बस्ने सुनिता महरालाई १ लाखमा विक्री गरेको ७ महिनापछि प्रहरीले सकुशल मुक्त गराएका छन् ।
बालकलाई डकैती शैलीमा अपहरण गर्ने आरोपमा प्रहरीले महेत्तरीको महोत्तरी ८ बस्ने वर्ष ३५ को शत्रुधन यादव, धनुषाको औरही ९ बस्ने वर्ष ३३ को राजेश मंडल, झोझिकटैया ६ बस्ने वर्ष ५० को किशोरी मंडल, र औरही पासवान टोलका वर्ष २९ को गलिया पासवानलाई पक्राउ गरि आईतवार पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको छ ।  
यसैगरी प्रहरीले विभिन्न घटनाहरुमा संलग्न रहेका अभियुक्तहरुलाई पक्राउ गरेको विवरण सार्वजनिक गर्नुको साथै भदौ २५ गते यता करिब ८ लाखको माल समान पक्राउ गरी भन्सारमा बुझाएको विवरण सार्वजनिक गरेका छन् । यसैगरी प्रहरीले जनकपुरको सुरक्षा अवस्था बारेमा पनि योजना सार्वजनिक गरेको छ । दशैं दिपावली तथा छठपर्वलाई दृष्टिगत गरेर विशेष सुरक्षा रणनीति अख्तियार गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
भीडभाडको समयमा विशेष प्रकारले प्रहरी परिचालन गर्नुको साथै गल्ली तथा टोलहरुमा परिणत साईकल तथा मोटरसाईकल गस्ती पनि परिचालन गर्ने गरी सुरक्षा योजना तयार पारिएको जानकारी प्रहरी उपरीक्षक थापाले बताए । घटना घटेको पाँच मिनेट भित्र र ग्रामीण ईलाकामा पुग्ने गरी सुरक्षा नीति बनाईएको जानकारी गराईयो । 

जउवा संघमा हिरा विजयी

कैलास दास
जनकपुर, असोज ५ । जनकपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि शनिवार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा शिवशंकर साह हिरा निर्वाचित भएका छन् । हिरा आफनो निकटतम प्रतिद्वन्द्वी ललितकुमार साहलाई ३ सय ४५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । आइतवार सार्वजनिक भएको मतपरिणाम अनुसार हिराले १ हजार १६ र ललित ६ सय ७१ मत प्राप्त गरेका छन् । यसैगरी अध्यक्ष पदका अर्का उम्मेदवार विजयकुमार साह ( होण्डा) ३ सय ३५ र अनिरुद्ध साह १ सय ११ मत पाएका छन् । आईतवार विहान मात्र मतपरिणाम प्राप्त भएको थियो ।
यसैगरी दुई जना उपाध्यक्षमा विकास कुमार चौधरी र विजय कुमार साह निर्वाचित भएका छन् ।  सर्वाधिक मत ल्याइ  विजयी भएको विजय साह वरिष्ठ उपाध्यक्ष र दोश्रो सबै भन्दा धेरै मत ल्याएका विकास उपाध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार विजयले ९ सय ३ र विकासले ८ सय ८० मत पाएका छन् ।

त्यसैगरी ९ सय ९१ मत ल्याएर जितेन्द्र प्रसाद साह महासचिवमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुदेव साहले ७ सय २४ मत पाएका छन् । वाणिज्य संघको सचिव पदमा ७ सय ६१ मत ल्याई सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संजयप्रसाद साहले ७ सय ४० मत ल्याई कम मत अन्तरले परािजत भएका छन् । सबै भन्दा कडा प्रतिष्पर्धा मानिएको कोषाध्यक्ष पदमा जितेन्द्र महासेठले ठुलो मत अन्तरले निर्वाचित पदाधिकारी भएका छन् । महासेठले आफना निकटतम प्रतिद्वन्द्वी अशोक कुमार चौधरीलाई ५ सय ३५ मतको विशाल अन्तरले पराजित गरेका छन् । महासेठले ९ सय ६४ मत ल्याएका छन् भने चौधरी ४ सय २९ मत मात्र प्राप्त गरेका थिए । यसैगरी एसोसिएट सदस्यमा युवा व्यापारी दिपेन्द्र यादव ३८ मत ल्याई विजयी भएका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी बलराम साह २१ मत ल्याई परािजत भएका छन् ।
यसैगरी कार्यकारणी समितिका सदस्य पदहरुको मतगणना आईतवार अबेर राती सम्म जारी नै रहेको छ । सदस्य पदको सम्पुर्ण परिणाम सोमवार मात्र आउने सम्भावना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

Monday, September 1, 2014

जनकपुर बन्द, ६ गाडीमा तोडफोड

कैलास दास


जनकपुर,भदौ १६ । सर्वदलीय सर्वपक्षीय संघर्ष समितिको आह्वाहनमा सोमवार गरिएको जनकपुर बन्दले जनजीवन प्रभावित भएको छ ।
जनकपुरनगपालिकामा लागु हुने एकीकृत सहरी विकास आयोजनाको फोहर व्यवस्थापन स्थल बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले विश्वविद्यलयको नाउँमा अबरोध गरेको भन्दै निर्धारित ठाउँमा नै ल्याण्डफिलको व्यवस्थापन हुनु पर्ने माग गर्दै जनकपुर बन्दको गरेका थिए ।
यहाँबाट सञ्चालित हुने सवारी साधन, शिक्षण संस्था, उद्योग, कलकारखाना तथा बजार पूर्ण रुपमा ठप्प रहेका थिए । विहानदेखि नै बन्दकर्ताहरुले विरोध प्रदर्शन गरेका कारणले जनजीवन कष्टकर बनेका थिए । आन्दोलनकारीले नगरमा पटक पटक जुलुस प्रदर्शन गरेकाले यातायात सेवा ठप्प थिए । यातायात बन्दका कारणले यात्रीहरु समस्यामा परेका थिए । केही सवारी साधनहरुलाई प्रहरीले स्कटिङ्ग गरेर ढल्केवरसम्म लगेका थिए ।

एशियाली विकास वैकको ऋण सहयोगमा नगपालिकाको सडक, नाला, ढल तथा फोहर व्यवस्थापनका लागि १ अर्ब ९० करोड नेपाली रकम दिने सहमति गरी आयोजना अगाडी बढेको बेलामा फोहर व्यवस्थापन स्थलको नाउँमा गरिएको राजनीतिक कारणले बहुप्रतिक्षित योजना असफल हुने आशंका बढेपछि सर्वदलीय तथा सर्वपक्षीय संघर्ष समितिले चरण बद्ध आन्दोलनमा उत्रेका छन ।
आन्दोलनकारीहरुले बन्दको अवज्ञा गरेको भन्दै ज १ च ६१५ नम्वरको कार, ज १ त ३७३४ तथा ज १ त २७०१ नम्वरको ट्याक्टर एउटा बस सहित आधा दर्जन सवारी साधनमा तोडफोड गरेका छन । रामानन्द चौकमा बन्दकर्ता र स्थानीय युवासंग सामान्य विवाद भएपनि प्रहरीको सक्रियताका कारणले कुनै अप्रिय घटना भएको छैन । बन्दलाई मध्ये नजर राखी नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । चौक चौकमा व्यापक संख्यामा प्रहर परिचालन गरिएको थियो । आन्दोलनकारीले केही ठाउँमा टायर पनि बालेका थिए ।
एकीकृत सहरी विकास आयोजनाबाट जनकपुरको २६ किलोमिटर सडकको स्तरोन्नति सहित कालोपत्रे, त्यतिकै ढल तथा नालाको निर्माण गर्ने कार्यक्रमका साथै नगपालिकाको फोहरको वैज्ञानिक व्यवस्थापन तथा शौन्दर्यीकरणको कार्यक्रम रहेको छ ।
सर्वदलीय संयन्त्रमा नपाली काँग्रेसका संस्थापन पक्षका केही कार्यकर्ता, नेकपा एमाले, एनेकपा माओवादी, नेकपा (माओवादी, मधेशी जनअधिकार फोरम नेपाल, लोकतान्त्रिक, तमलोपा, सदभावना, दलित जनजाति पार्टी, नेकपा संयुक्त, नेपाल सरिवार दल, रामसपा सहित २२ दलहरुले पनि बन्दको समर्थन गरेको थियो । जनकपुर नगपाकिामा लागु भएको आयोजनाको अनिवार्य शत अन्तर्गत ल्याण्ड फिल साईट रहेकोले त्यसको निर्णय विना अन्य कामहरु अगाडी नबढाउनका लागि एडिविले भने पछि योजना पछाडी परेको छ ।
धनुषाको फूलगामामा रहेको १२ विघा १७ कठ्ठा १७ धुर जग्गा गठी संस्थान संग जनकपुर नगपालिकाले २० वर्षको लागि लिजमा लिएर माटो परिक्षणको काम सकेपछि जग्गाको वारेमा विवाद उत्पन्न भएपछि एडिविले नै दवावमा परेर विकल्पमा जग्गा खोज्नका लागि भनेपछि विवाद उत्पन्न भएको छ । .

आन्दोलनकारीले पत्रिका जलाए
सर्वदलीय सर्वपक्षीय आन्दोलन संघर्ष समितिको आन्दोलनको समाचारलाई प्रथमिकतामा नदिएको आरोप लगाउँदै कान्तिपुर, नागरिक तथा अन्नपूर्ण पोष्टे जलाइएको छ ।
आन्दोलनकारीले यी पत्रिकाहरु जनकपुरको विकास विरोधि रहेको भन्दै जनकपुरको पिडारी चौकमा जलाएका थिए । यहाँका पत्रकारहरुले जनकपुरको समाचारलाई उच्च प्राथमिकतामा राखेर पठाए पनि केन्द्रले प्रकाशन एवं प्रसारण गर्ने गरेको छैन ।

Friday, August 29, 2014

विवाद रहित ल्याण्डफिल छनौट गरी एडिबी आयोजना सञ्चालन गर्नुपर्छ ः संघर्ष समिति

कैलास दास
जनकपुर, भदौ १३ । एशियन डेभलेपमेन्ट बैंकले एकीकृत सहरी विकास आयोजना अन्तर्गत जनकपुर विकासका लागि ऋण सहयोग वापत दिएको एक अर्ब ९० करोड रुपैया ल्याण्डफिल साइट विवादरहित पारी सञ्चालन गर्नका लागि सर्वदलीय सर्वपक्षीय संघर्ष समितिले माँग गरेको छ ।
संघर्ष समितिद्वारा जनकपुर नगरपालिकामा शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपस्थित राजनीति दलका प्रतिनिधिहरुले एडीबीमा उल्लेखित मापदण्डको आधारमा ल्याण्डफिल साइट छनौट गरी कार्य अगाडि बढाउनका लागि आग्रह गरेका छन् । एडिबी बचाउ संघर्ष समितिका अध्यक्ष एवं पूर्व नगर प्रमुख बजरंग प्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा उपस्थित राजनीतिककर्मीहरुले हरेक किसिमले ल्याण्डफिल साइटका लागि धनुषाको फुलगामा नै उपयुक्त रहेको भन्दै विज्ञहरुको रिपोर्टको आधारमा पनि त्यही हुनुपर्ने जिकिर गरे । उनीहरुले प्रस्तावित ठाउँमा ल्याण्डफिल साइट भएन भने कडा आन्दोलनको चेतावनी पनि दिए ।
संघर्ष समितिले कुनै व्यक्तिको दवावमा फुलगामामा प्रस्तावित ल्याण्डफिललाई छाडेर बेंगाशिवपुरको ५२ विघामा बनाउन लागेको भन्दै त्यो ठाउँ प्राविधिक तथा विज्ञहरुको भनाई अनुसार पनि उपर्युक्त नरहेको बताए । त्यहाँको माटो परीक्षणमा र कम्तीमा सहरभन्दा  ७ किलोमिटर दूरी हुनुपर्ने त्यो पनि नरहेकोले फुलगामामा नै सबैखाले ल्याण्डफिल साइटका लागि उपयुक्त रहेको बताए । अर्को कुरा फुलगामाको माटो परीक्षण लगायतका कार्यमा दुईवर्ष वितिसकेको छ । आयोजना सञ्चालनका लागि ल्याण्डफिलका अधिकांश कार्य भएको बेलामा अवरोध कायम गर्नु उचित नरहेको भन्दै शिवपुरको ५२ विघा प्राविधिद्वारा जाँचमा पनि नठहरिएको उल्लेख गरे । २२ दल सम्मिलित राजनीतिक सर्वदलीय सर्वपक्षीय संघर्ष समितिका श्रीप्रसाद साह, रामचन्द्र मण्डल, अरविन्द साह, कौशल किशोर, रामनरेश साह, संजय चौधरी, हरिनारायण साह, महाशंकर ठाकुर, श्रीराम साह, झल्कु यादव सहितका वक्ताहरुले बोलका थिए ।
उनीहरुले विवाद रहित ल्याण्डफिल साइट छनौट गरी एडिबी आयोजना सञ्चालन नगरे भने  १५ गते रेल्वे स्टेशनबाट मशाल जुलुस, १६ गते जनकपुर बन्द तथा २० जनप्रदर्शन तथा आमसभा गरिने बताएका छन् । कार्यक्रमको उद्घोषण श्रीनारायण साहले गरेका थिए ।
यसैबीच सर्वपक्षीय सर्वदलीय संघर्ष समितिका सदस्य रहेका मधेशी जनअधिकार फोरम नेपाल धनुषाका अध्यक्ष शेषनारायण यादवले एडीबी आयोजनाले जनकपुरको कायापलट सहितको विकास हुने भएको कारण यसमा सम्पूर्ण राजनीतिक दल स्थानीयवासीको सहयोगको आवश्यकता रहेको बताएका छन् ।
उनले एडीबी आयोजना कुनै व्यक्ति विशेषका लागि नभई जनकपुरको विकाससंग सम्बन्धित रहेको कारण फोरम नेपालले एडीबी बचाउ सम्बन्धी हरेक आन्दोलनमा सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
अध्यक्ष यादवले व्यक्तिगत वा राजनीतिक स्वार्थले कसैले पनि एडीबी आयोजनामा अवरोध गर्नु गलत रहेको र एडीबी आयोजना फिर्ता जानु जनकपुरका विकासका लागि दुर्भाग्य हुने भएको कारण ल्याण्डफिल साइट विवाद अन्त्य गरी यस आयोजनालाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायसंग मांग समेत गरेका छन् ।

सिंघानीय हत्या काण्ड अझै पेचिलो ? एसपी सुवेदीको वाचा पनि फेल

कैलास दास
जनकपुर, भदौ १३ । जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानीयाको हत्या गर्ने कारण तथा घटनाको सत्य तथ्य सार्वजनिक गर्ने बाचा गरेका धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले त्यो नगरिकन सरुवा भएका छन् ।

धनुषा सहित तराई मधेशको शान्ति सुरक्षामा सुधार गर्नमा सुवेदीले गरेको सकारात्मक कामको प्रशंसा भैरहेको वेलामा उनले सिंघानीया हत्याको टेरपुच्छर पनि लगाउन सकेनन् । सो घटनाको जिम्मेवारी लिएका मुख्य आरोपीलाई धनुषा प्रहरीले पक्राउ गरेपनि सोही घटनाको योजनाकारलाई पक्राउ गर्न सकेको छैन ।
धनुषामा भएका अधिकांश घटनाहरुमा सुवेदी सफल भएको देखिए पनि सिघानीया हत्यामा असफल हुनुमा घटना निक्कै पेचिला तथा ठूला व्यक्तिको संलग्नताको आशंका गरिएको छ । जनकपुर बम काण्डको आरोपमा निर्वाचित सभासदलाई पनि भित्र गर्ने क्षमता तथा आट भएका धनुषाका प्रहरी उपरीक्षक सुवेदी किन यस घटनामा चुकेका होलान् भनि आम जनतामा विभिन्न चर्चा परिचर्चाहरु रहेको सुन्न सकिन्छ ।
जनकपुरमा भएका घटनाहरु मध्ये सवै भन्दा जटिल किसिमको घटना जनकपुरको सिघानीया हत्या नै रहेको यसले पनि पुष्टि गरिरहेको छ । २०६६ साल फल्गुण १७ गते फागु पूर्णिमाकै दिन जनकपुरको शिव चौकमा साझ साढे चारबजे तीर नजिकबाट निक्कै सुझबुझका साथ गोली हानी हत्या गरेका थिए । हत्या गर्नेले प्रयोग गरेको पिस्तौल पनि निक्कै उच्च प्रविधिका रहेका कारणले सामान्य आवाज पनि हुन सकेका थिएनन् । पिस्तौलमा स्यालेन्सर जडान गरिएको थियो प्रहरीले बताएका थिए ।
प्रहरीले सिघानीया हत्याको अनुसन्धानको लागि केही व्यक्तिलाई नियन्त्रणमा पनि लिएको भएपनि यथार्थ कुरो सार्वजनिक किन गर्न सकेको छैन ? आम जनताले धनुषाका प्रहरी उपरीक्षक सुवेदीसंग प्रश्न गर्न थालेका छन् । सरकारले सुवेदीलाई पूर्वाञ्चलको क्षेत्रीय प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उनले कसैको कुरा नुसुनेको कारणले वा घरमा नै सरुवा गरेर सुरस्कृत गरेको छ सवै बुझ्ने विषय रहेको छ ।
अरुण कुमार सिंघानीयाको हत्या अनुसन्धानको लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अहिले जेल पनि चलान गरेको छ । यसअघि पनि अरुण कुमार सिंघानीयाको हत्या अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालयले तत्कालिन प्रहरी बरिष्ठ उपरीक्षक विजय भट्टको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेर अनुसन्धान अगाडी बढाएका थिए । त्यसको प्रतिफल पनि खासै रुपमा अगाडी आएको छैन ।
यसैगरी सोही हत्याको अनुसन्धान गर्नका लागि तत्कालिन प्रहरी नायव उपरीक्षक रुपकुमार न्यौपानेको संयोजकत्वमा पनि छानविन समिति बनाए पनि उनी आफै त्यसमा विवादमा परी निलम्वित भएका थिए । जनकपुरमा भएको बम विष्फोटको घटना होस् वा अन्य घटनाको अनुसन्धान किन नहोस् त्यसमा प्रहरीले राम्रो सफलता प्राप्त गरेको छ । तर अरुण कुमार सिंघानीयाको हत्यामा धनुषाका प्रहरी उपरीक्षक त्यति सफल हुन सकेको छैन । प्रत्येक पटक घटनाको अनुसन्धान भैरहेको आफुले अनुसन्धान सकेर मात्र जाने प्रहरी उपरीक्ष सुवेदीले पत्रकारलाई आश्वासन दिए पनि घटनालाई गर्भमा नै राखेर सरुवा भएका छन् ।
प्रहरीले घटनाको प्रमुख योजनाकारका बारेमा पनि यकिन गरेपनि हालसम्म पनि पक्राउ गर्न सकेको छैन । यसमा केही मारवाडी समूदाय तथा उनको नजिकको मान्छे पनि हुन सक्ने आशंका प्रहरीले गरेको छ । केही व्यक्तिसंग व्यान पनि लिएको छ । व्यान निक्कै गोप्य राख्ने काम प्रहरीले गरेको छ । धनुषाको नयाँ प्रहरी उपरीक्षकमा गणेश बहादुर थापा आउन लागेको छ । उनका लागि पनि यो घटना निक्कै चुनौतीपूर्ण रहेको छ ।

Friday, August 1, 2014

मन्त्री निधिको कडा आलोचना

कैलास दास

जनकपुर, साउन १६ । जनकपुर नगरपालिका लागु भएको एकिकृत शहरी विकास आयोजनामा उत्पन्न भएको विवादका बारेमा सामाधान गर्नका लागि प्रमुख जिल्ला अधिकारीद्वारा सर्वपक्षिय बैठकमा बोल्ने अधिकांस वक्ताहरुले भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिको कडा रुपमा आलोचना गरेका छन् ।
उनीहरुले एकिकृत सहरी विकास आयोजनाले ठेक्का गर्ने बेलामा मन्त्री निधिले शक्तिको दुरुपयोग गरी एडिबीले छनौट गरेको धनुषाको फूलगामा स्थित जग्गालाई विवादित भनेर एडिबीबाट परिभाषित गराएर विकल्प खोज्नका लागि प्रयास गर्न कर गरेकोमा त्यसको प्रायः सबै दल, नागरिक समाजले कडा रुपमा आलोचना गरेका छन् । उनीहरुले जनकपुरबाट कुनै पनि हालतमा एकिकृत सहरी विकास आयोजना जान नहुने र गएको खण्डमा त्यसको मुल्य सम्बन्धित सबै पक्षले चुकाउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा सहभागि भएका धनुषाका स्थानीय विकास अधिकारी गुरु सुवेदीले एडिबीले फूलगामाको जग्गा ल्याण्डफिल साईडको लागि रद्द गरिसकेकोले अर्को विकल्प खोज्नका लागि  आग्रह गरेपछि अधिकांस राजनीतिक दलले सुवेदीको कडा रुपमा आलोचना गरेका थिए । साथै दलहरुले कर्मचारीहरुलाई मन्त्री निधिको प्रेसर भएका कारणले विकल्पको रटान गर्न बाध्य गरिदिएको कारणले विकल्प खोज्नका लागि कर्मचारीहरु तमतयार भएको आरोप लगाए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सचिव कोमलकान्त झाले राजनीतिक दलहरुले एडिबी प्रति लिएको चिन्ता निक्कै सराहनीय भएकोले एडिबीले रद्द गरेको ठाउँको विकल्पमा ल्याण्ड फिल साईटको खोजी गरि विवाद नहुने किसिमले कामकाज अगाडी बढाउन आग्रह गरे । एमालेका धनुषा सहसंयोजक राजकिशोर यादवले काँग्रेसका नेताले ल्याण्ड फिलको बारेमा सबैतीर विवाद गरेकाले एमालेका निर्वाचित क्षेत्र नं. ७ मा लानका लागि आग्रह गरे । एमाओवादीका झल्कु यादवले धनुषाको फूलगामा नै ल्याण्ड फिल साईट बन्नुपर्ने २२ राजनीतिक दलको समर्थन हुदा हुदै विकल्पको खोजीमा लाग्नु एडिबी प्रति षडयन्त्र रहेको बताए ।
यस्तै राष्टिूय मधेश समाजवादी पार्टीका महाशंकर ठाकुरले एडिबीको योजना अन्तर्गत फूलगामामा छनौट गरिएको फोहर व्यवस्थापन स्थलको माटो परीक्षण लगायतका विषयमा भएको खर्च सम्बन्धित व्यक्तिलाई भराउनका लागि माग गरे । फोरम लोकतान्त्रिकका जनकपुर नगर अध्यक्ष संजय चौधरीले विकल्पमा खोजीएको जनकपुरको बेङ्गा शिवपुर गढीको १० विघा जग्गा विमलेन्द्र निधिले नै खरिद गरेको सुनिन आएकोले त्यसमा विवाद नहोला भन्न नसकिने भएकाले फूलगामामा नै ल्याण्ड फिल साईट बन्नु पर्ने धारणा राखे । नेकपा संयुक्तका श्रीलाल महासेठले फूलगामामा सबै दृष्टिकोणले उपयुक्त भएको ल्याण्ड फिल साईटको विरोध पर्दा पछाडिको डन विमलेन्द्र निधिले गरेको कारणले यो अवस्था सृजना भएको बताए । सद्भावना पार्टीका जिल्ला अध्यक्ष संजय सिंहले फूलगामामा ल्याण्ड फिल साईटको छनौट गरिदा विरोध नगर्ने तर सत्तामा गएपछि विरोध गर्ने प्रवृति देखिएकोले फूलगामा वरिपरिका व्यक्तिसंग राय परामर्श लिई सोही ठाउँमा फोहर व्यवस्थापन गरिनुपर्ने धारणा राखे । तमलोपाका सहसंयोजक परमेश्वर साहले फूलगामामा कसरी विवाद आयो, त्यसको बारेमा जानकारी गराउनका लागि आग्रह गरे । सो अवसरमा जनकपुर डेभलोपमेन्ट फोर्सका सरोज मिश्र, ज्ञानेन्द्र झा सहितका युवाहरुले कुनै पनि हालतमा जनकपुर नगरमा एकिकृत सहरी विकास आयोजना लागु हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गाना, जनकपुर नगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोईराला, नेपाल प्रहरीका प्रहरी उपरीक्षक उत्तमराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक सुवर्ण थापा मगर, गुठी संस्थान कार्यालय जनकपुरका प्रमुख राजाबाबु पाण्डे, एकिकृत सहरी विकास आयोजना जनकपुरका प्रमुख गंगा यादव, उपप्रमुख विरेन्द्र कुमार यादव, सहितका व्यक्तिहरु सहभागि रहेका थिए । 

ट्रान्जिट प्वाईन्ट बन्दै जनकपुर


कैलास दास

जनकपुर, साउन १६ । सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय धनुषाले नेपाल—भारत सीमावाट भारततर्फ गै रहेको ७४ केजी चाँदी सहित ४ जनालाई व्यक्तिलाई नियन्त्रणमा लिई शुक्रवार सार्वजनिक गरेको छ । उनीहरुलाई धनुषाको जिल्लाको लगमा र नगराईनबाट पक्राउ गरिएको हो ।
लगमाबाट पक्राउ परेका व्यक्तिको साथबाट ४५ केजी र नगराईनबाट पक्राउ परेका व्यक्तिको साथबाट २९ केजी चाँदी बरामद भएको थियो । डल्लो पारेर प्याक गरी ज्याकेट जस्तो लुगा बनाएर त्यो भित्र राखी बाहिरबाट सर्ट लगाएर पैदल गईरहेको बेलामा पक्राउ गरिएको थियो । पक्रा गरिएका चाँदीको बजार मुल्य अन्दाजी ५२ लाख ५९ हजार ५ सय ६४ रुपैया बराबरको रहेको छ । पक्राउ गरिएका चाँदीलाई शुक्रवार नै राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा आवश्यक कारवाहीको लागि बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक सुवर्ण थापा मगरले बताए ।
पक्राउ पर्नेहरुमा जनकपुर नगरपाकिा वडा नं. १६ बस्ने वर्ष २८ को उमेश यादव, धनुषाको रमदैया भवाडी १ बस्ने वर्ष ३६ को दिलिप कुमार साह, भारतको दरभंगा छतरिया १३ बस्ने वर्ष ३६ को रोशन कुमार साह, सोही ठाउँ बस्ने वर्ष ३२ को प्रकाश गुप्ता रहेको प्रहरीले सशस्त्र प्रहरीले गराएको छ ।
जनकपुरको राज ज्वेलर्सबाट भारततर्फ लादै गरेको अवस्थामा पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुलाई  चाँदी पु¥याए वापत ४ देखि ५ हजारको दरले दिने प्रलोभन दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जनकपुर सुन चाँदी तस्कारीका लागि टूान्जिट प्वाईन्ट बन्दै गएको छ । केही दिन अघि मात्र धनुषाको पोर्ताहाबाट नेपाल प्रहरीले १० किलो सुन सहित १ जना युवकलाई पक्राउ गरेको थियो भने जनकपुरका चर्चित सुन तस्कर बलराम गुप्तालाई ६ किलो सुन र करिब ३ क्विन्ल चाँदी सहित पक्राउ गरी कारवाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाईएको थियो । हाल गुप्ता राजश्व अनुसन्धान विभागको हिरासतमै रहेका थिए ।
यसैगरी जनकपुरको रामानन्द चौकमा एक जना भारतीय नागरिकलाई एक किलो सुन सहित पक्राउ गरी प्रहरीले अनुसन्धान विभागमै पठाएका कारणले धनुषाका सुन चाँदी तस्कारीको लागि टूान्जिन्ट प्वाईन्ट बन्दै गएको छ ।  खास गरेर चिनको तिब्बतबाट काठमाण्डौं हुदै भारत तर्फ तस्करीका लागि एउटा गिरोह सक्रिय भएर तराईको विभिन्न सहरी क्षेत्रलाई प्रयोग गर्दै आएका छन् ।