Friday, August 1, 2014

मन्त्री निधिको कडा आलोचना

कैलास दास

जनकपुर, साउन १६ । जनकपुर नगरपालिका लागु भएको एकिकृत शहरी विकास आयोजनामा उत्पन्न भएको विवादका बारेमा सामाधान गर्नका लागि प्रमुख जिल्ला अधिकारीद्वारा सर्वपक्षिय बैठकमा बोल्ने अधिकांस वक्ताहरुले भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिको कडा रुपमा आलोचना गरेका छन् ।
उनीहरुले एकिकृत सहरी विकास आयोजनाले ठेक्का गर्ने बेलामा मन्त्री निधिले शक्तिको दुरुपयोग गरी एडिबीले छनौट गरेको धनुषाको फूलगामा स्थित जग्गालाई विवादित भनेर एडिबीबाट परिभाषित गराएर विकल्प खोज्नका लागि प्रयास गर्न कर गरेकोमा त्यसको प्रायः सबै दल, नागरिक समाजले कडा रुपमा आलोचना गरेका छन् । उनीहरुले जनकपुरबाट कुनै पनि हालतमा एकिकृत सहरी विकास आयोजना जान नहुने र गएको खण्डमा त्यसको मुल्य सम्बन्धित सबै पक्षले चुकाउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा सहभागि भएका धनुषाका स्थानीय विकास अधिकारी गुरु सुवेदीले एडिबीले फूलगामाको जग्गा ल्याण्डफिल साईडको लागि रद्द गरिसकेकोले अर्को विकल्प खोज्नका लागि  आग्रह गरेपछि अधिकांस राजनीतिक दलले सुवेदीको कडा रुपमा आलोचना गरेका थिए । साथै दलहरुले कर्मचारीहरुलाई मन्त्री निधिको प्रेसर भएका कारणले विकल्पको रटान गर्न बाध्य गरिदिएको कारणले विकल्प खोज्नका लागि कर्मचारीहरु तमतयार भएको आरोप लगाए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सचिव कोमलकान्त झाले राजनीतिक दलहरुले एडिबी प्रति लिएको चिन्ता निक्कै सराहनीय भएकोले एडिबीले रद्द गरेको ठाउँको विकल्पमा ल्याण्ड फिल साईटको खोजी गरि विवाद नहुने किसिमले कामकाज अगाडी बढाउन आग्रह गरे । एमालेका धनुषा सहसंयोजक राजकिशोर यादवले काँग्रेसका नेताले ल्याण्ड फिलको बारेमा सबैतीर विवाद गरेकाले एमालेका निर्वाचित क्षेत्र नं. ७ मा लानका लागि आग्रह गरे । एमाओवादीका झल्कु यादवले धनुषाको फूलगामा नै ल्याण्ड फिल साईट बन्नुपर्ने २२ राजनीतिक दलको समर्थन हुदा हुदै विकल्पको खोजीमा लाग्नु एडिबी प्रति षडयन्त्र रहेको बताए ।
यस्तै राष्टिूय मधेश समाजवादी पार्टीका महाशंकर ठाकुरले एडिबीको योजना अन्तर्गत फूलगामामा छनौट गरिएको फोहर व्यवस्थापन स्थलको माटो परीक्षण लगायतका विषयमा भएको खर्च सम्बन्धित व्यक्तिलाई भराउनका लागि माग गरे । फोरम लोकतान्त्रिकका जनकपुर नगर अध्यक्ष संजय चौधरीले विकल्पमा खोजीएको जनकपुरको बेङ्गा शिवपुर गढीको १० विघा जग्गा विमलेन्द्र निधिले नै खरिद गरेको सुनिन आएकोले त्यसमा विवाद नहोला भन्न नसकिने भएकाले फूलगामामा नै ल्याण्ड फिल साईट बन्नु पर्ने धारणा राखे । नेकपा संयुक्तका श्रीलाल महासेठले फूलगामामा सबै दृष्टिकोणले उपयुक्त भएको ल्याण्ड फिल साईटको विरोध पर्दा पछाडिको डन विमलेन्द्र निधिले गरेको कारणले यो अवस्था सृजना भएको बताए । सद्भावना पार्टीका जिल्ला अध्यक्ष संजय सिंहले फूलगामामा ल्याण्ड फिल साईटको छनौट गरिदा विरोध नगर्ने तर सत्तामा गएपछि विरोध गर्ने प्रवृति देखिएकोले फूलगामा वरिपरिका व्यक्तिसंग राय परामर्श लिई सोही ठाउँमा फोहर व्यवस्थापन गरिनुपर्ने धारणा राखे । तमलोपाका सहसंयोजक परमेश्वर साहले फूलगामामा कसरी विवाद आयो, त्यसको बारेमा जानकारी गराउनका लागि आग्रह गरे । सो अवसरमा जनकपुर डेभलोपमेन्ट फोर्सका सरोज मिश्र, ज्ञानेन्द्र झा सहितका युवाहरुले कुनै पनि हालतमा जनकपुर नगरमा एकिकृत सहरी विकास आयोजना लागु हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गाना, जनकपुर नगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोईराला, नेपाल प्रहरीका प्रहरी उपरीक्षक उत्तमराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक सुवर्ण थापा मगर, गुठी संस्थान कार्यालय जनकपुरका प्रमुख राजाबाबु पाण्डे, एकिकृत सहरी विकास आयोजना जनकपुरका प्रमुख गंगा यादव, उपप्रमुख विरेन्द्र कुमार यादव, सहितका व्यक्तिहरु सहभागि रहेका थिए । 

No comments:

Post a Comment