Tuesday, April 28, 2020

राहत सामाग्री चेकजाँचपछि मात्र वितरण हुने, झुठा आरोप सावित भएमा कानूनी कारवाही हुने दावी

जनकपुरधाम, १६ बैशाख । जनकपुरधाम उपमहानगरपालिका १६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल ढुसी परेको तथा कुहिएको भेटिएको समाचार बाहिर आएपछि चेकजाँचको लागि पठाइएको छ ।
जनकपुरधाम उपमहा नगरपालिकाले मगलवार पत्रकार सम्मेलन गरी राहतका लागि आएको सामाग्रीको म्याद छ कि छैन र गुणस्तरीय चेकजाँच पश्चात् नै वितरण हुने गरेको दावी गरेका छन् ।
‘सामाजिक सञ्जाल फेसबुक र अनलाइनमा समाचार आएपछि त्यसको चेकजाँचका लागि खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालयलाई खबर गरेको छौं’ उपमेयर रिता कुमारी मिश्रले भनिन । उपमहानगरपालिकाको १२ वटा वडामा ७ हजार ६ सय व्यक्तिको राहत गएको छ । ती मध्ये वडा नंं. १६ मा ५ सय ४१ व्यक्तिको राहत वितरण गरिएको हो । ती वडाका २ वटा व्यक्ति बाहेक कहिबाट कुनै शिकायत आएको छैन उपमेयर मिश्रले भनिन, ‘उपमहानगरपालिका गुणस्तरीय राहत वितरण गरिरहेको छ । नगरवासीमा कुनै शंका उपशंका नहोस् त्यसैका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट चेकजाँचका लागि मान्छे बोलाएका हो ।’
यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चावल र तोरीको तेललाई परीक्षणको लागि प्रयोगशालामा लगिएको छ । परीक्षणको परिणाम दुई वा तीनदिनमा आउने सो कार्यालयका कार्यालय प्रमुख विजय खनालले बताएका छन् । उनले चेकजाँचपछि नै राहत वितरणका लागि आग्रह समेत गरेका छन् ।
त्यता जिल्ला प्रशासन कार्यालयबाट आएका प्रतिनिधिले चावल बदलिएको देखिएमा वा बदनाम गर्ने नियतले त्यस्तो गरेको पाइएमा कानून अनुसार कार्यवाही हुने बताएका छन् ।  जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा १२ वटा वडाका ७ हजार ६ सय परिवारका लागि राहत पठाएको छ । वडा नम्बर २, ३, ४, ५, ६, ८, ११, १४, १६, १७, १८ र २१ मा राहत पठाइएको हो । वडा नम्बर २ मा ३ सय १५, वडा नम्बर ३ मा २ सय ७०, वडा नम्बर ४ मा १ हजार २९, वडा नम्बर ५ मा १ सय ४७, वडा नम्बर ६ मा ५ सय ८८, वडा नम्बर ८ मा ७ सय ५४, वडा नम्बर ११ मा ५ सय ८९, वडा नम्बर १४ मा ६ सय १५, वडा नम्बर १६ मा ५ सय ४१, वडा नम्बर १७ मा ९ सय ४१, वडा नम्बर १८ मा ६ सय १२, वडा नम्बर २१ मा १ हजार २ सय घरपरिवारका लागि राहत पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।


No comments:

Post a Comment