Wednesday, November 29, 2017

कांग्रेसमाथि जनताको विश्वास छैन, मधेशवादी कमजोर रहेछ ः महतो

वि.सं. २०३५ सालदेखि कम्युनिष्ट पार्टीमा लागेका धनुषा निर्वाचन क्षेत्र नं. ३ को ख बाट प्रदेश सभामा उम्मेदवारी दिएका कामेश्वर प्रसाद महतोले २०३६ सालको जनमत आन्दोलन, २०४२ सालको सत्याग्रह आन्दोलन तथा २०६२।०६३ को जनआन्दोलनमा सक्रिय पूर्वक भूमिका निर्वाह गर्दै आएका छन् । उनीसँग निर्वाचन सम्बन्धी दैनिक जनकपुरका का.सम्पादक कैलास दासले गरेको कुराकानीको संक्षेप्ति अंश–

तपाईको उम्मेदवारी किन ?
गरीब, किसान मजदुर, सर्वहारा वर्गको गाँस, बास र कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्थाको ग्यारेन्टीको लागि, नयाँ नेपालमा सबैको सामान अधिकार कायम गराउनका लागि तथा दुई तिहाई बहुमतबाट मधेशको अधिकार स्थापित गराउनका लागि वामगठबन्धनबाट मैले उम्मेदारी दिएको छु । संविधानमा अहिले पनि मधेशी जनताको धेरै अधिकार कटौती गरी राखिएको छ, त्यो अधिकार लिनका लागि पनि उम्मेदवारी दिएको हो ।
जनताले तपाईलाई नै मत किन दिन्छ त ?
मेरो व्यक्तित्वको बरोमा कसैसँग छुपेको छैन । २०३५ सालदेखि नै राजनीति पेशामा जुटेको छु । हुनतः म सुरुदेखि नै कम्युनिष्ट पार्टी मै लागेको हो । २०४२ सालको सत्याग्रह आन्दोलन भयो । त्यो आन्दोलन परिवर्तनको आन्दोलन थियो । निरंकुश शासन अर्थात राजा शासन अन्त्य गर्नको आन्दोलन थियो । त्यसमा पनि मेरो सक्रिय भूमिका नै रह्यो । २०३६ सालमा जनमतको आन्दोलन भयो त्यसमा पनि मेरो सक्रियता थियो । २०४२ को आन्दोलनमा पटक–पटक प्रहरीबाट कुटाई खायो । २०४८ सालमा एमालेको विचारधारा बोकेर आन्दोलन गरे, २०६२। ०६३को जनआन्दोलनमा एमालेमै रहेर पनि सक्रिय भूमिका निर्वाह गरेकै छु । यस्ता धेरै घटनाहरु छन जसमा आफू पटकपटक थुनामा गए, प्रहरीबाट कुटाई खाए । तर मुलुकमा परिवर्तन भएपनि आफूले राजनीति छविलाई बचाएर नै राखेको छु । मेरो व्यक्तिगत छवि र राजनीतिक छविलाई ध्यानमा राखेर यहाँका जनताहरुले मलाई मत दिएर जिताउने छ, विश्वस्त छु ।
तपाई एमालेबाट फेरी माओवादीमा किन जानु भयो  ?
राजनीतिमा उतार चढाउ सधैं हुन्छ नि । सोही क्रममा माओवादीको विचारधारा एमालेबाट फरक देखियो । आफूको विचार र माओवादीका अध्यक्ष प्रचण्डको विचार उस्तै उस्तै लाग्यो । देश र जनताको परिवर्तनको सोच माओवादीमा देखेर आफू माओवादीमा गएर सक्रिय पूर्वक लागेको छु । अहिले पनि सत्य र न्यायको पक्षमा लड्दै आएको छु ।
सविधान संशोधनलाई लिएर एमाले मधेशवादी दलको प्रतिपक्षमा छन्, यस्तो बेलामा तपाई गठबन्धनबाट उम्मेदवारी दिनु भएको हो, तपाई जित्नु हुन्छ कति विश्वस्त हुनुहुन्छ ?
सुशिल कोइरालाको सरकारको बेलामा संविधान निर्माण भएको हो । मधेश आन्दोलन पनि भयो । मधेशमा ५२। ५३ जना शहादत दिए । तर नत एमाले र नत काँग्रेसले नै संविधान संशोधन गर्न माने । तपाईलाई स्मरण गराउन चाहन्छु त्यो बेला संविधान संशोधनका लागि माओवादी अध्यक्ष प्रचण्डले देउवालाई मनायो । जुन प्रकारले कुरा अगाडि बढ्नु पर्ने थियो त्यसमा त्यति सफलता हासिल हुन सकेन । तर यस पटक बामगठबन्धनको सरकार प्रदेश र केन्द्रमा पनि बन्ने निश्चित छ । जनता वामगठबन्धनतर्फ आकर्षित छन् र वामगठबन्धनले नै मधेशी जनताको अधिकार दिलाउने छ, त्यसैले मलाई पनि यहाँका जनताहरुले जिताएर नै पठाउने छ, विश्वस्त छु ।
अधिकार सुनिश्चिताका लागि तथा मुलुकको विकासको लागि दुई तिहाई बहुमत चाहिन्छ । तपाई भारतकै उदाहरण लिनुस्, अहिले विजेपीको बहुमतको सरकार छ । कही कतै विकास निर्माणमा अवरुद्ध हुँदैन । वामगठबन्धन पनि प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने छ पहिला नै भनि सकेको छु । मधेशी जनता पनि विकास चाहिन्छ र त्यो विकास वामगठबन्धनले मात्र गर्नेछ, त्यसले पनि मलाई नै जिताउने छ विश्वास लिएको छु ।
संविधान संशोधनको विरोध गर्ने वामगठबन्धन संविधान संशोधन गर्छन त ?
माओवादी पार्टीले कहिले पनि संविधान संशोधनको विरोधमा गएको छैन । उनी पनि संविधान संशोधनको पक्षमा नै रहेको छ । तर अहिले भएको वामगठबन्धनले दुई तिहाई बहुमतबाट जनताको भावना अनुसार संविधान संंशोधन गर्नेछ विश्वस्त छु । तपाई मार्फत जनताहरुलाई यो पनि भनिदेओ कि कम्यूनिष्ट नै लोकतन्त्रवादी पार्टी हो । काँग्रेस सधैं भ्रम फैलाउने कार्य गरिदै आएको छ । काँग्रेसमाथि जनता विश्वास गरिदैन ।
धनुषा क्षेत्र नं. ३ मा राजपा वा काँग्रेस विजयी हुने चर्चा छ नि ?
यो भ्रम फैलाउने कुरा भयो । कसैले वामगठबन्धनसँग डराएर यस्तो अफवाह फैलाइएको हो । म त भन्छु यहाँका जनताहरु काँग्रेसमाथि विश्वासै गर्र्दैन र मधेशवादी दलहरु कमजोर रहेको छ । सबभन्दा बलियो उम्मेदवार नै वामगठबन्धनको उम्मेदवार हो ।
तपाई विजयी भएमा विकासको एजेण्डाहरु के के हुन ?
जनकपुरमा विकास भएकै छैन । २०४८ सालदेखि काँग्रेसको सरकार रह्यो, तर विकासको ठाउँमा अधिकांंश विनास नै भएको स्पष्ट झल्किन्छ । जहाँसम्म हाम्रो क्षेत्रको कुरा हो । जनकपुर उपहानगरपालिकाका १५ वटा वडाहरु छ । यी वडाहरुमा रहेको मठमन्दिरको जिर्णोद्धार, जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचिकृत गराउने प्रयास गर्ने, सडक, नालालाई व्यवस्थित पार्ने, गुणस्तरीय शिक्षा ल्याउने, युवा स्वरोजगारीको योजना बनाउने, लघु कारखानाहरु सञ्चालनमा ल्याउने प्रयास गर्ने लगायतका धेरै कार्यहरु छन् ।
दलित, पिछडिएका एवं विपन्नका लागि के सोच्नु भएको हो ?
दलित, मुस्लिम, पिछडिएका समुदायलाई शिक्षित गरी रोजगारी दिने प्रयासरत रहन्छु । त्यसपछि अनाथालय निर्माण, निःशुल्क औषधीको व्यवस्था, शिक्षित परिवारबाट जागिर दिने लगायतको एजेण्डाहरु बनाइएको छु । जेष्ठ नागरिकहरुलाई वृद्धभत्ता समयमा र पाँच हजारसम्म पुर्याउने । मुस्लिम समुदायलाई मदरसाको निर्माण गर्ने एजेण्डामा रहेको छ ।
वैदेशिक रोजगारी कसरी रोक्नु हुन्छ ?
रोजगारी दिने व्यवस्थापन अब स्थानीय सरकारमा निहित हुन्छ । यस्तो अवस्थामा आफू विजयी भएमा शिक्षित युवाहरुलाई रोजगारीको लागि न्यूनतम ब्याजमा ऋण उपलब्ध गराई व्यवसायीमा लगाउने मेरो लक्ष्य रहेको छ । यहाँका युवाहरु यतै रोजगारी पाओस् छलफल मार्फत पनि निकास निकाल्ने छौं ।
चुनावको बेलामा सबैले यस्तै भन्ने गर्छन,तपाईमाथि कसरी विश्वास गर्छन त ?
यो सही कुरा हो । निर्वाचनमा उभेका सबै व्यक्तिले विभिन्न किसिमको प्रतिबद्धता गर्ने छन् । तर विजयी भएपछि विर्सिने गरेको पाइएको हो । यस्तो बेलामा जनतामा विभिन्न किसिमको प्रश्न उब्जिनु स्वभाविक हो । तर म विश्वास दिलाउन चाहन्छु मैले अहिलेसम्म जे भनेको छु त्यतिकै कार्य गर्दै आएको छु । विगतको छवि पल्टाएर हेर्नका लागि पनि जनसमुदायसँग आग्रह गर्न चाहन्छु । विकास निर्माणको कार्यमा सधैं सक्रिय भएर कार्य गर्ने छौं । त्यति मात्र होइन विजयी पश्चात् आउने तलव पनि विकास निर्माणमा नै लगाउने तपाई मार्फत आह्वान गर्न चाहन्छौं ।
तपाई विकासको प्रतिबद्धता गर्नु भयो, तपाईको पार्टीले बजेट नछुट्याएमा के गर्नु हुन्छ ?
हेर्नुस पार्टीले कहिले पनि कार्यकर्ताले विकास नगरोस् सोच्दैन । क्षेत्रको विकासले पार्टीको गौरव बढ्न्छ । अहिलेसम्म विकासको नाउँमा पार्टीले कही कतै हस्तक्षेप गरेको छैन । आउने दिनमा त्यस्तो भएमा पार्टी भित्र  संघर्ष गरी त्यो अधिकार लिने विश्वास दिलाउन चाहन्छौं ।
अन्त्यमा मतदाताहरुलाई केही भन्नु हुन्छ ?
यहाँका मतदाताहरुलाई विनम्र अनुरोध गर्न चाहन्छु कि विकास गर्नेलाई मत दिनुस । मैलाई एक पटक जिताएर पठाउनुस, आफूले विकास नगरेमा अर्को चोटीअरुलाई मौका दिनु होला । तर आफूले राजनीति छवि बचाएर राखेको छु । मुलुकको परिवर्तनमा प्रहरीबाट कुटाई खाएको छु । तपाईले दिने अवसरलाई कहिले पनि दुरुपयोग गर्दैन । गोलाकार लागेको हसिया हथौरामा मत दिई विजयी बनाउन आग्रह गर्न चाहन्छु ।

No comments:

Post a Comment