Wednesday, January 4, 2017

धनुषाधाम महायज्ञमा नेपाल भारतका दस लाख श्रद्धालु

कैलास दास
जनकपुर, पुस २० । चट्टी बाबाको तत्वाधानमा धार्मिक एवं पर्यटकीय स्थल धनुषाधाममा बैशाख १४ गते देखी २७ गतेसम्म सीताराम नाम जप महायज्ञ हुने लागेको छ । 

धनुषाधाम स्थित वाणगंगा तटमा हुदै आएको अखण्ड सीतारामनाम जपको १४ वर्ष पुरा भएको अवसर पारेर २०७४ वैशाख १४ गते देखी मानव कल्याणका विभिन्न कार्यक्रम सहित महायज्ञ हुन लागेको श्री सीतारामनाम जप महायज्ञ समितिका अध्यक्ष ओम प्रकाश सर्राफले जनाएको छ ।
समितिले बुधवार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सर्राफले महायज्ञ अन्तर्गत  बैशाख १५ गते सामूहिक विवाह कार्यक्रम, १७ गते मैथिल ब्राह्मण सभाको संयोजनमा ब्रतवन्ध कार्यक्रम १८ गते देखी २६ गते सम्म १००८ कुञ्जमा ४ हजार ३२ जना किर्तनकर्मीहरुद्वारा रामनाम जप हुने जनाएका छन ।
महायज्ञको क्रममा एक सय हवन कुण्डमा ११ सय जोरीद्वारा हवन गरिने समेत जनाइएको छ । उक्त हवनमा चट्टीबाबाका उज्जयन देखी विहार सम्मका शिष्यहरु सहभागी हुने भएका छन ।

महायज्ञमा कलकताका श्री कान्त शर्माले दिउसो २ बजे देखी ६ बजे सम्म प्रवचन दिने छन भने राति विश्व प्रसिद्ध टोलीद्वारा रामलिला प्रदर्शनको कार्यक्रम समेत राखिएको महायज्ञ समितिले जनाएको छ । महायज्ञलाई मेलाको रुप दिन विभिन्न मनोरंजनात्मक कार्यक्रमहरु समेत राखिएको छ । वैष्णोदेवी गुफा, राम हिलोरा सहितका मनोरंजनात्मक कार्यक्रमहरु रहने जनाइएको छ । महायज्ञमा प्रत्येक दिन २ देखी ३ लाख सम्म श्रद्धालुहरु जम्मा हुने अनुमान गरिएको छ ।
महायज्ञलाई व्यवस्थित बनाउन समितिले सबैपक्षलाई सहयोग गर्न आग्रह समेत गरेका छन । यसैबीच महायज्ञको तयारीको लागि चट्टी बाबा बनारसको सलेमपुरबाट विहीवार जनकपुर आउन लागेका छन । उनी दिउसो २ बजे विहारको सुरसण्ड पुग्ने र त्यहाँबाट विशेष स्वागतका साथ जनकपुर ल्याइने समितिले जनाएको छ । बाबा जनकपुर प्रवेश पछि सर्वप्रथम जानकी मन्दिरमा पुगेर पूजापाठ गर्ने कार्यक्रम रहेको छ । त्यस पछि धनुषाधाम जानेछन । महायज्ञ अवधीभर बाबा धनुषाधाममै रहने जनाइएको छ ।
यस अघि २०५७ सालमा चट्टी बाबाकै तत्वाधानमा धनुषाधाममा भएको महायज्ञ भएको थियो ।

No comments:

Post a Comment