Thursday, April 7, 2016

निलम्बित साह सिंघानियाँको हत्यारा ः प्रहरी

जनकपुर, चैत्र २४ । जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानीयाको हत्याको प्रमुख योजनाकार धनुषा क्षेत्र नं. ४ का निलंवित सभासद संजय कुमार साहनै रहेको धनुषा प्रहरीले दावी गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जनकपुर टुडेका तत्कालिन प्रकाशक सिंघानीयालाई समाचार नछाप्नको लागि पटक पटक साहले आग्रह गर्दा पनि समाचार आएकाले उनको हत्या भएको दावी गरेका छन् ।

उनको हत्याका लागि निलंवित सभासद साहले आफ्नो घरको माथिल्लो छतमा बसेर आफ्ना सहयोगी रामविनोद यादव र चनरदिप यादव संग योजना बनाएर हत्या गर्नेलाई १० लाख रकम दिने भनेर सुटर खोज्नका लागि रामविनोद यादव तथा चनरदीपलाई खटाएकोमा उमाप्रेमपुरका मनक लामालाई सुटर चयन गरेर रकम पनि दिएको दावी गरिएको छ । सुटरलाई व्यक्तिको पहिचान गराउने काम यादवद्वयले गरेको र सिंघानीयाको २०६६ साल फागुन १७ गते शिव चौकमा साँझ साढे ६ बजे हत्या गरेको प्रहरीको  अनुसन्धान प्रतिवेदनमा उल्लेख रहेको छ ।
सिंघानीयाको हत्याको सम्पूर्ण तयारी जनकपुरको रामा होटलको कोठा नं. १०३ तीनमा भएको प्रहरीको अनुसन्धानवाट खुलेको दावी पनि प्रहरी उपरीक्षक जोशीले गरे  ।
उनले रामा होटलबाट होलीको सेतो कुर्ता तथा अनुहारमा सवैजना रङ्ग दलेर शिव चौकमा हत्याका लागि आएको बताए । हत्या समाचारको विषयमा हुदा त सम्पादक माथि हुन्थ्यो प्रकाशक माथि किन भएको भन्ने प्रश्नको जवाफ उपरीक्षक जोशीले दिन सकेनन् । समाचारको विषयलाई लिएर प्रकाशकको हत्याको तुक के त ? पत्रकारको जिज्ञासामा जोशी अकमकमा परेका थिए ।
यस अघिको पत्रकार सम्मेलनमा डिआईजी, जनकपुर अञ्चलका बरिष्ठ प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षकहरु सहभागि हुने गरेकोमा बुधवारको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मात्र उपस्थित रहेका थिए । खास गरेर रामानन्द चौकमा रहेको जीवनाथ चौधरीको घरमा भएको डकैतीमा संजय कुमार साहको संलग्नता रहेको विषयमा समाचार लेखेका कारणले उनको हत्याको योजनाकार साह बनेको प्रहरीको आधार अधिकांश पत्रकारहरुलाई पचेका थिएन ।
यसमा ठूलो आर्थिक चलखेल भएको विषयमा पनि पत्रकारहरुले जिज्ञासा प्रहरी उपरीक्षक समक्ष गर्दा जवाफ नदिईकन पत्रकार सम्मेलन सकिएको बताएका थिए ।
हालसम्म सिंघानीया हत्याको अभियोगमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. २ का राधापुर वस्ने वर्ष ३६ का जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चनरदिप यादव, यज्ञभुमि किसानपुरका वर्ष ३१ का एकलाल भनिने योगेन्द्र सहरी, वेङ्गाशिवपुर १ का वर्ष ३१ का ओम भनिने ओम प्रकाश यादव र तराई जनतान्त्रिक पार्टी मधेशका अध्यक्ष वर्ष ३१ का अर्जुन सिंह भनिने मुकेश चौधरीलाई पक्राउँ गरिसकेका छन् ।
उता पत्रकार सम्मेलनमा घटनाको अन्य पाटाहरुको विषयमा अनुसन्धान गर्ने काम जारी रहेको प्रहरी उपरीक्षक जोशीले बताए । यसमा संलग्न रहेका सुटर सहितका केही योजनाकारहरु हालसम्म फरार रहेको पनि पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएका छन् । यस अघि साहलाई जनकपुरको रामानन्द चौकमा भएको वम विष्फोटको आरोपमा प्रहरीले पक्राउँ गरि कर्तव्यज्यान, संगठित अपराध जस्ता विषयमा मुद्दा चलाएपछि उनलाई धनुषा जिल्ला अदालतको आदेशमा मुद्दाको पूर्वका लागि कारागार पठाएको छ । उनी काठमाण्डौको कारागारमा रहेकोमा सञ्चार उद्यमी सिंघानीया हत्याको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लामा झिकाएर व्यान लिने काम गरिरहेको छ ।

श्रीमानलाई फसाइएको छ ः रंगिला

जनकपुर । प्रहरीले जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानीयाको हत्यामा पनि निलंवित सांसद संजय कुमार साह नै प्रमुख योजनाकार रहेको बताएको एक घण्टा नवित्दै साहका श्रीमति रंगिला देवी साहले आफ्नो श्रीमानलाई फसाउने खेल भैरहेको जनाएकी छिन् । आफ्नै नीजि निवासमा पत्रकार सम्मेलनको आयोजना गरेर आधुनिक विज्ञानको प्रयोग गरेर प्रमाणित गर्नका लागि पनि आग्रह गरिन् । श्रीमति साहले आफ्ना श्रीमानलाई विपक्षीको मिलोमतोमा विभिन्न मुद्दामा फसाउन खोजेको र आफू समेत परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा भेट्न जादा भेट्न समेत नदिएकोमा आपत्ति जनाएकी छिन् ।
उहाले नेपाल प्रहरी संग आधुनिक अनुसन्धान प्रविधिको रुपमा रहेको पोलिग्राफ, नाग्रेटिक टेष्ट मानव अधिकारवादी, पत्रकार तथा नागरिक समाजको अगाडी गर्नका लागि माग गर्दै यसले नै दुधको दुध र पानीको पानी निष्कने बताए । श्रीमति साहले आफ्नो पति जनकपुरको कुनै पनि अपराधिक घटनामा संलग्न नरहेको दावी गर्दै उनलाई प्रहरीले विभिन्न घटनामा पोलुवाको आधारमा ल्याएर टर्चर गर्ने काम भएकाले यस विषयमा पनि सञ्चारकर्मीको ध्यानाकर्षण गरेकी छिन् । आफ्ना श्रीमान्लाई केही भएको खण्डमा यसको दोषि सम्बन्धित निकाय नै हुने श्रीमति साहले बताए ।
उनले आफ्ना श्रीमान्को साथमा सधै प्रहरी रहने गरेकाले कुनै घटनामा संलग्न रहेको भए तत्कालै प्रहरीलाई थाहा हुनु पर्ने धारणा राख्दै यस्ता प्रकारको क्रियाकलाप हुनु चिन्ताको विषय भएको बताए । पत्रकार सम्मेलनमा आम दुलारी देवी , वुवा साधु साहले पनि आफ्नो छोरा संग भेट्न जादा भेट्न नदिएको बरु आफूलाई नै मानसिक यातना दिएको र भेट्न समेत नदिएको बताए । उनलाई कानून व्यवसायिले पनि भेट्न खोज्दा प्रहरीले भेट्न नदिएको बुबा साधु साहले बताए ।

No comments:

Post a Comment