Saturday, June 19, 2021

हँसपुर नपाको अनुमानित बजेट ६२ करोड बढी, शिक्षा र कृषिमा जोड


 


जनकपुरधाम, ५ जेठ । धनुषाको हँसपुर नगरपालिकाले आठौं  नगरसभाबाट आर्थिक वर्ष २०७८÷०७९ को लागि अनुमानित ६२ करोडबढी बजेट प्रस्तुत गरेको छ । प्रस्तुत बजेटमा कृषि, शिक्षा तथा निर्माण कार्यमा विशेष जोड दिइएको छ ।
आईतवार हँसपुर नपाका उपमेयर रेणु देवी झाले ०७८÷०७९को अनुमानित आय ६२ करोड, ८० लाख, ५६ हजार प्रस्तुत गरेकी छन् ।  उनले वित्तीय समानिकरण अनुदान १२ करोड,५७ लाख, सशर्त अनुदान २० करोड, १३ लाख, राजस्व बाँडफाँड ८ करोड, २ लाख ६४ हजार, वहुक्षेत्रीय पोषण कार्यक्रम २९ लाख, प्रदेश वित्तीय समानिकरण अनुदान ७३ लाख ७२ हजार, प्रदेश सशर्त अनुदान ८० लाख, सडक बोर्ड नेपालको कार्यक्रम २५ लाख, प्रदेश विशेष अनुदान ३० लाख, आन्तरिक आय ३० करोड गरिएको प्रस्तुत बजेट वक्तव्यमा उल्लेख रहेको छ ।
मेयर रामज्ञान मण्डलको अध्यक्षतामा भएको नगरसभामा अध्यक्ष मण्डलले वर्तमान अवस्थामा स्थानीय सरकारलाई निक्कै चुनौती रहेको बताएका छन् । उनले भने, ‘कोरोना महामारी रोगले गर्दा निर्माण कार्य सम्पन्न गराउनु चुनौतीपूर्ण छ ।’
नागरिकको आयस्तरमा सुधार गरी गरिबी न्यूनिकरण गर्नका लागि  कृषि उत्पादन बढाउन आर्गेनिक खेतीलाई प्रोत्साहन दिइने, माछा सुपरजोन तथा धान जोन क्षेत्रको रुपमा विकास गर्ने, पशु खोप कार्यक्रम ल्याउने, स्वास्थ्य, स्वच्छ मासुको बिक्री वितरणमा जोड दिइने लक्ष्यका साथ बजेट विनियोजन गरेको मेयर मण्डल बताएका छन् । उनले यस नगरपालिकालाई नमूना नगरपालिका बनाउनका लागि कृषिमा यान्त्रिक उपकरण लगायत सहुलियत दिइेन, बिना धितो ऋणको व्यवस्थापन गर्ने, कृषिबालीका लागि माटो परीक्षण गर्ने,  सामूहि कृषि फारम योजना बनाउने, कृषिमा व्यवसायीकरण र आधुनिकीकरण गर्ने, कृषि सिंचाईको उचित व्यवस्थापन गर्ने लक्ष्य रहेको र सोही अनुरुप नीति तथा कार्यक्रम समेत बनाइएको बताएका छन् ।
मेयर मण्डलले यो बजेटमा सबभन्दा बढी कृषि, शिक्षा र निर्माण कार्यलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अडगरियाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्रदेश साँसद परमेश्वर साह, रामचन्द्र मण्डल, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य संजय चौधरी, रमण सिंह लगायतका वक्ताहरुले शुभकामना व्यक्त गरेका छन् ।


No comments:

Post a Comment