Monday, June 15, 2020

सबैला घटनाका सातजनामाथि किटानी जाहेरी दर्ता


जनकपुरधाम, १ असार । धनुषाको सबैला नगरपालिकाको इलाका प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै मृत भेटिएका शम्भु सदा मुसहरको न्यायिक छानबिनका लागि दलित अगुवाहरुले सोमवार आन्दोलन संघर्ष समिति गठन गरेको छ ।
गठित संघर्ष समितिले नारा जुलुस लगाउँदै जिल्ला प्रशासन कार्यालय धनुषामा सोमवार धर्ना समेत दिएका छन । शनिवार दलित अगुवाहरुले शम्भु सदाले आत्महत्या होइन, हत्या भएको भन्दै किटानी जाहेरीका लागि जिल्ला प्रहरी कार्यालयमा पुगेपनि जाहेरी दर्ता गरेको थिएन । तर सोमवार गठित समितिले पीडित परिवारलाई लिएर सरकारी वकिलको कार्यालयमा सातजनामाथि किटानी जाहेरी दर्ता गराएको समितिका संयोजक चन्देश्वर दासले जनाएका छन् ।
पीडित परिवारकोतर्फबाट ईलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक ४० वर्षीय चन्द्रभुषण यादव, सवैला नपा–१२ बस्ने ४२ वर्षीय ट्याक्टर मालिक संजय साह, वडा नं. २ का ३८ वर्षीय वडाध्यक्ष पारस साह, वडा नं. ३ को वडा अध्यक्ष सन्तोष साह, वडा नं. ४ के वडा अध्यक्ष राजकुमार यादव,कारी यादव, काली साह सहित ७ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका हो ।
यता पूर्व साँसद एवं मन्त्री विशेश्वर पासमानको विशेष उपस्थितिमा २७ सदस्यीय आन्दोलन संघर्ष समिति गठन गरिएको हो । समितिको संयोजकमा चन्देश्वर दास रहेका छन भने सदस्यहरुमा रामस्वरुप सदा, पचुलाल माझी, रघुवीर दास, राजाराम मण्डल, बौएलाल माझी, दिपनारायण दास, मोहन सदा, रामेश्वर महरा, प्रमिला सदा, वैद्यनाथ पामासन, रंजित दास,अवधकिशोर महरा, प्रकाश महरा, प्रमिला देवी सदा, सुनिता देवी राउत सहितका रहेका छन् ।
शम्भु सदाको जेठ २७ गते राति थुनुवाकक्षकै शौचालयमा झुण्डएको अवस्थामा शव फेला परेको थियो । सोही दिनदेखि दलित अगुवाहरुले न्यायिक छानबिनको माँग गर्दै आन्दोलनरत छन् ।

No comments:

Post a Comment