Thursday, April 14, 2016

जनकपुरमा यसरी मनाइयो जुडशितल

जनकपुर, वैशाख २ । मिथिलाञ्चल लगायतका ठाउँहरुमा प्रत्येक वर्ष बैशाख २ गते  मनाउने जुडशीतल पर्व यसवर्ष पनि जनकपुरमा हर्षाेलास पूर्वक मनाइएको छ । जनकपुरको बल्वा टोलमा युवाहरुको एउटा समूहले यस पर्वलाई निरन्तरता दिंदै कादोमाटोमा नै रमेका थिए ।
नयाँ वर्ष सतु खाएर मनाएका छन् भने दोस्रो दिन हिलोमाटो खेलेर रमाएका छन् । वैशाख १ गते नयाँ वर्षका राति बनाएको विभिन्न परिकारहरु भोली पल्ट खाने चलन रहेको छ । वैशाख १ गते तयार पारेको विभिन्न परिकारहरु, कडी, करही तथा बांसी भात २ गते विहान खाएर जुड शितल मनाउने चलन रहेको छ । यस दिन ठूला वडाले आफ्ना घरका सदस्यहरुको टाउकोमा शितल पानी छ्यापेर आशिष दिने चलन छ । थारु जातिले पनि शिरुवा पर्वको रुपमा मनाउने चलन रहेको छ । थारु र मधेशीको धेरै पर्वहरुमा समानता रहेको छ ।


बैशाख १ गतेदेखि जनकपुरमा एडिबीको निर्माण कार्य शुरु

जनकपुर, वैशाख १ । जनकपुर उपमहानगरपालिकामा एशियाली विकास बैंकको ऋण सहयोगमा लागु भएको एकीकृत शहरी विकास आयोजनाले नयाँ वर्षको अवसर पारेर बुधवार देखि निर्माण कार्य शुरु गरेको छ । जनकपुरको क्याम्पस चौकमा बुधवार शिलान्यास गरेर काम अगाडी बढाईएको छ ।
१ अर्व ९० करोडको लगानीमा जनकपुरधाममा पहिलो चरणमा साढे नौ किलोमिटर ३२ किलोमिटर नाला तथा ढलको निर्माण गर्ने योजना रहेको जनकपुर उपमहा नगरपालिकाका कार्यकारी अधिकृत पूण्य प्रसाद लुईटेलले बताएका छन् । जनकपुरको व्यवस्थित विकासको लागि एकीकृत शहरी विकास आयोजनाको कार्यक्रम निक्कै प्रभावकारी हुने विश्वास गरिएको छ । आयोजनाको भूमिगत ढलको शिलान्यास अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले भव्य समारोहका बीचमा गरेका छन् ।
शिलान्यास समारोहमा वोल्दै अख्तियारका आयुक्त पाठकले अख्तियारले विकासमा सकारात्मक शोचको आधारमा सहयोग गर्न चाहेको बताए  । उनले गुणस्तरीय तथा निर्धारित मितिमा नै ठेक्काको काम गर्नका लागि सम्बन्धित ठेकेदार कम्पनीलाई आग्रह गर्दै विकास निर्माणमा आयोगले सहयोगीको भूमिका निर्वाह गर्न चाहेको प्रष्ट पारे । उनले अख्तियारले सही काम गर्नेलाई सहयोग गर्ने पनि बताए ।
आयुक्त पाठकले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जनकपुरधामको विकासका लागि अख्तियारले पनि समन्वयकारी भूमिका निर्वाह गर्न चाहेको बताउदै जनकपुर(जयनगर(बर्दिबास ब्रोडगेज रेलको विस्तारको काम समयमा सम्पन्न गराउनका लागि आफू पनि लागि परेको बताए । १० वर्ष सम्म  जनकपुरलाई पूर्ण लोडसेडिङ्ग मुक्त गर्ने अवस्था नरहेको आफूलाई विद्युत प्रधिकरण्को उच्च अधिकारीले जानकारी गराएको समेत बताए ।
जनकपुरको विकासका लागि जनकपुर उद्योग वाणिज्य संघ र निर्माण व्यवसायि संघले पनि विशेष ध्यान दिन जरुरी रहेको बताउदै आयुक्त पाठकले विकासमा बाधा गर्ने तथा अनियमितता गर्न खोज्नेलाई  मात्र अख्यिारवाट डराउनु पर्दछ राम्रो काम गर्नेलाई अख्तियारले प्रोत्साहन गर्न चाहेको उनको भनाई थियो । जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पूण्र्यप्रसाद लुईटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईले जनकपुरको विकासका लागि जिल्ला प्रशासन कार्यालयले पनि समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद कोईराला तथा एकीकृत शहरी विकास आयोजनाका आयोजना प्रमुख गंगा यादवले पनि आ(आफ्नो धारणा राख्दै जनकपुरका जनताहरु विकासका लागि आफै घरहरु भत्काएर निक्कै सराहनीय कार्य गरेको बताए । दुई वर्ष भित्रमा आयोजना सम्पन्न गर्ने गरि काम सम्पन्न गर्ने जेड आई ई सी शर्मा जेभिका प्रतिनिधिले बताएका छन् । । जनकपुर उपमहानगरपालिकाका ईन्जिनियर विरेन्द्र यादवले प्रत्येक ४० मिटरमा चेम्बर हुने र सवै नाला तथा ढल ह्युम पाईपमा हुने भएकाले लामखुट्टेको प्रकोप नहुने तथा नगरलाई सफा राख्नमा मद्दत पुग्ने बताए । उनले जनकपुरको पानी चार ठाउँबाट  जलाद खोला तथा १ ठाउँबाट दुधमतिमा विसर्जन गरिने पनि बताए । जनकपुरको बसहीयामा पनि ह्युम पाईप खसेको ईन्जिनियर यादवले बताए । एकीकृत शहरी विकास आयोजनाको काम २०१७ डिसेम्बरमा सम्पन्न गरिने गरि सम्झौता भएको छ ।

साँसद संजय साहकी पत्नी रिले अन्सनमा

जनकपुर, वैशाख १ । जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानीयाको हत्यामा संलग्न रहेको आरोप लगाउदै धनुषा प्रहरीले धनुषा निर्वाचन क्षेत्र नं. ४ का निलंवित सांसद तथा पूर्व राज्यमन्त्री संजय कुमार साहलाई फसाउन खोजेको भन्दै चार बँुदे माग सहित उनका श्रीमति रंगिला देवी साह जनक चौकमा बुधवार देखि रिले अनसन बसेका छन् । श्रीमतिका साथै बुबा साधु साह, आमा दुलारी देवी, दीदी तथा वहिनीहरु परि रिले अनसनमा बसेका छना् ।
उनीहरुले सिंघानीया हत्याको न्यायिक छानविन समिति गठन गरेर छानविन गर, निर्दोषलाई रिहा गर, दोषीमाथि कारवाही गर र संजय कुमार साहमाथि लगाएको झुठा मुद्दा खारेज गर जस्ता माग गरेर श्रीमति रंगिला देवी सहित परिवारका सदस्यहरु रिले अनसनमा वसेका छन् । उनीहरु बुधवार ४ बजे देखि रिले अनसनमा वसेका छन् । निलंवित सांसद साह माथि धनुषा प्रहरीले कर्तव्य ज्यानको मुद्दा धनुषा जिल्ला अदालतमा गत आईतवार दर्ता गरेपछि अन्याय भएको भन्दै उनका श्रीमति सहितका व्यक्तिहरु रिले अनसनमा बसेका छन् ।
रिले अनसनमा सद्भावना पार्टीका नेता तथा कार्यकर्ताहरु पनि उपस्थित रहेका थिए । २०६६ साल फागुन १७ गते जनकपुरको शिव चौकमा जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानीयाको गोली हानेर हत्या गरिएको थियो । नेपाल सरकार तथा स्वर्गीय सिंघानीयाका छोरा राहुल सिंघानीया वादी रहेको सो मुद्दामा प्रहरीले निलंवित सांसद साह सहित ११ जनालाई प्रतिवादी बनाएर ज्यान मुद्दा दर्ता गरेको छ ।
साहलाई जनकपुर टुडे दैनिकमा प्रकाशित रहेको समाचारलाई आधार बनाएर मुख्य योजनाकार बनाउदै  पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि श्रीमति रंगिला देवी साहले पनि पत्रकार सम्मेलन गरेर प्रहरीले विपक्षीसंग मिलेर फसाउन खोजेको आरोप लगाएका थिए । सद्भावना पार्टीले पनि पार्टीका उपाध्यक्ष रहेका साहको बचाउँका लागि संघर्षमा उत्रेका छन् । पार्टीका राष्टिूय अध्यक्ष राजेन्द्र महतोले पनि भैरहवाको पत्रकार सम्मेलनमा न्यायिक छानविनको माग गरेका थिए ।
निलंवित सांसद साहलाई जनकपुरको रामानन्द चौकमा चार वर्ष अगाडी भएको वम काण्डका मुख्य योजनाकार भनेर प्रहरीले नै कर्तव्य ज्यान तथा संगठित अपराधमा मुद्दा चलाएपछि अदालतको थुनछेक वहसपछि अदालतले थुनामा राखेर पूर्व पक्ष गर्नका लागि कारागारमा पठाउने आदेश भएपछि उनी सिरहा कारागारमा रहेकोमा मधेश आन्दोलनको समयमा काठमाण्डौ जेलमा सारिएको थियो ।

Friday, April 8, 2016

सबैला घटनाका आरोपी एमाले नेता यादवलाई सिरहा जेल पठाइयो

जनकपुर, चैत्र २६ । धनुषा जिल्ला अदालतले एमालेका बैकल्पिक पोलिट व्युरो सदस्य एवं जनकपुर अंचल इन्चार्ज योगनारायणयादवलाई सबैला घटनामा पूर्वपक्षका लागि सिरहा कारागारमा पठाएको छ ।
सोही अभियोगमा पक्राउ परेका दुर्गा साहलाई पनि पूर्व पक्षको लागि थुनामा नै राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालत धनुषाले आदेश दिएको छ । 

धनुषा जिल्ला अदालतको ईजलाश नं. ५ का न्यायाधिश डा. राजेन्द्र कुमार अचार्यको एक्कल ईजलासले यादवलाई रामसेवक राउत गडेरीको हत्या अभियोगमा पूर्व पक्षको लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालत धनुषाले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिको गठन तथा जग्गा विवादको कारणले गत वर्ष चैत्र ८ गते रामसेवक राउत गडेरीलाई कुटपीट गरि हत्या गरेको अभियोग सहितको किटानी जाहेरी मृतकका श्रीमति शिकिला देवी गडेरी तथा घाईतेहरुले दिएपछि प्रहरीले पनि अनुसन्धान गरेर कर्तव्य ज्यान मुद्दा चलाएकोमा यादव १ वर्ष देखि फरार रहेको अवस्थामा चैत्र १७ गते काठमाण्डौवाट पक्राउँ परेका थिए ।
यादव र साह दुवै जनाको विरुद्धमा जिल्ला अदालतमा थुनछेक वहस विहिवार सकिएपनि आदेश तयार गर्न नभ्याएका कारणले शुक्रवार मात्र आदेश भएको जिल्ला अदालत धनुषाका श्रेस्तेदार नन्दकिशोर यादवले बताएका छन ।
दुवै तर्फवाट करिव दुई दर्जन कानून व्यवसायिले वहस गरेका थिए । साथै स्थानीय वासीले जुलुस पनि प्रदर्शन गरेका थिए । यसै गरि धनुषाको सवैला नगर निवासी एमालेका नेता रामप्रगास यादवको हत्या गरेको कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको मुद्दा धनुषा जिल्ला अदालतको ईजलास नं. ७ र हात हतियार तथा खरखजानाको मुद्दा ईजलाश नं ३ मा रहेकाले कारागारवाट यादवलाई आईतवार पनि उपस्थित गराउने आदेश आएको छ ।
यसंैबीच एमाले नेता यादवलाई पूर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश पछि सवैला नगरपालिकामा स्थानीयवासीले खुसियाली जुलुस प्रदर्शनगर्नुको साथै मिठाइ समेत बाँडेको समाचार प्राप्त भएको छ ।
सबैलाका सबै राजनीतिक दलका स्थानीय नेता नागरिक समाज, तथा आम सर्वसाधारण समेत याृेगनारायणको विपक्षमा पटक पटक नारा जुलुस सहित जनकपुरमा आएर प्रदर्शन गर्दै आएका थिए । गत विहीवार मात्र एमालेृ कार्यकर्ता र सबैलाबासीका बीचमा जिल्ला अदालत अगाडी झडपभएको थियो ।

Thursday, April 7, 2016

निलम्बित साह सिंघानियाँको हत्यारा ः प्रहरी

जनकपुर, चैत्र २४ । जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानीयाको हत्याको प्रमुख योजनाकार धनुषा क्षेत्र नं. ४ का निलंवित सभासद संजय कुमार साहनै रहेको धनुषा प्रहरीले दावी गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जनकपुर टुडेका तत्कालिन प्रकाशक सिंघानीयालाई समाचार नछाप्नको लागि पटक पटक साहले आग्रह गर्दा पनि समाचार आएकाले उनको हत्या भएको दावी गरेका छन् ।

उनको हत्याका लागि निलंवित सभासद साहले आफ्नो घरको माथिल्लो छतमा बसेर आफ्ना सहयोगी रामविनोद यादव र चनरदिप यादव संग योजना बनाएर हत्या गर्नेलाई १० लाख रकम दिने भनेर सुटर खोज्नका लागि रामविनोद यादव तथा चनरदीपलाई खटाएकोमा उमाप्रेमपुरका मनक लामालाई सुटर चयन गरेर रकम पनि दिएको दावी गरिएको छ । सुटरलाई व्यक्तिको पहिचान गराउने काम यादवद्वयले गरेको र सिंघानीयाको २०६६ साल फागुन १७ गते शिव चौकमा साँझ साढे ६ बजे हत्या गरेको प्रहरीको  अनुसन्धान प्रतिवेदनमा उल्लेख रहेको छ ।
सिंघानीयाको हत्याको सम्पूर्ण तयारी जनकपुरको रामा होटलको कोठा नं. १०३ तीनमा भएको प्रहरीको अनुसन्धानवाट खुलेको दावी पनि प्रहरी उपरीक्षक जोशीले गरे  ।
उनले रामा होटलबाट होलीको सेतो कुर्ता तथा अनुहारमा सवैजना रङ्ग दलेर शिव चौकमा हत्याका लागि आएको बताए । हत्या समाचारको विषयमा हुदा त सम्पादक माथि हुन्थ्यो प्रकाशक माथि किन भएको भन्ने प्रश्नको जवाफ उपरीक्षक जोशीले दिन सकेनन् । समाचारको विषयलाई लिएर प्रकाशकको हत्याको तुक के त ? पत्रकारको जिज्ञासामा जोशी अकमकमा परेका थिए ।
यस अघिको पत्रकार सम्मेलनमा डिआईजी, जनकपुर अञ्चलका बरिष्ठ प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षकहरु सहभागि हुने गरेकोमा बुधवारको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मात्र उपस्थित रहेका थिए । खास गरेर रामानन्द चौकमा रहेको जीवनाथ चौधरीको घरमा भएको डकैतीमा संजय कुमार साहको संलग्नता रहेको विषयमा समाचार लेखेका कारणले उनको हत्याको योजनाकार साह बनेको प्रहरीको आधार अधिकांश पत्रकारहरुलाई पचेका थिएन ।
यसमा ठूलो आर्थिक चलखेल भएको विषयमा पनि पत्रकारहरुले जिज्ञासा प्रहरी उपरीक्षक समक्ष गर्दा जवाफ नदिईकन पत्रकार सम्मेलन सकिएको बताएका थिए ।
हालसम्म सिंघानीया हत्याको अभियोगमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. २ का राधापुर वस्ने वर्ष ३६ का जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चनरदिप यादव, यज्ञभुमि किसानपुरका वर्ष ३१ का एकलाल भनिने योगेन्द्र सहरी, वेङ्गाशिवपुर १ का वर्ष ३१ का ओम भनिने ओम प्रकाश यादव र तराई जनतान्त्रिक पार्टी मधेशका अध्यक्ष वर्ष ३१ का अर्जुन सिंह भनिने मुकेश चौधरीलाई पक्राउँ गरिसकेका छन् ।
उता पत्रकार सम्मेलनमा घटनाको अन्य पाटाहरुको विषयमा अनुसन्धान गर्ने काम जारी रहेको प्रहरी उपरीक्षक जोशीले बताए । यसमा संलग्न रहेका सुटर सहितका केही योजनाकारहरु हालसम्म फरार रहेको पनि पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएका छन् । यस अघि साहलाई जनकपुरको रामानन्द चौकमा भएको वम विष्फोटको आरोपमा प्रहरीले पक्राउँ गरि कर्तव्यज्यान, संगठित अपराध जस्ता विषयमा मुद्दा चलाएपछि उनलाई धनुषा जिल्ला अदालतको आदेशमा मुद्दाको पूर्वका लागि कारागार पठाएको छ । उनी काठमाण्डौको कारागारमा रहेकोमा सञ्चार उद्यमी सिंघानीया हत्याको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लामा झिकाएर व्यान लिने काम गरिरहेको छ ।

श्रीमानलाई फसाइएको छ ः रंगिला

जनकपुर । प्रहरीले जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानीयाको हत्यामा पनि निलंवित सांसद संजय कुमार साह नै प्रमुख योजनाकार रहेको बताएको एक घण्टा नवित्दै साहका श्रीमति रंगिला देवी साहले आफ्नो श्रीमानलाई फसाउने खेल भैरहेको जनाएकी छिन् । आफ्नै नीजि निवासमा पत्रकार सम्मेलनको आयोजना गरेर आधुनिक विज्ञानको प्रयोग गरेर प्रमाणित गर्नका लागि पनि आग्रह गरिन् । श्रीमति साहले आफ्ना श्रीमानलाई विपक्षीको मिलोमतोमा विभिन्न मुद्दामा फसाउन खोजेको र आफू समेत परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा भेट्न जादा भेट्न समेत नदिएकोमा आपत्ति जनाएकी छिन् ।
उहाले नेपाल प्रहरी संग आधुनिक अनुसन्धान प्रविधिको रुपमा रहेको पोलिग्राफ, नाग्रेटिक टेष्ट मानव अधिकारवादी, पत्रकार तथा नागरिक समाजको अगाडी गर्नका लागि माग गर्दै यसले नै दुधको दुध र पानीको पानी निष्कने बताए । श्रीमति साहले आफ्नो पति जनकपुरको कुनै पनि अपराधिक घटनामा संलग्न नरहेको दावी गर्दै उनलाई प्रहरीले विभिन्न घटनामा पोलुवाको आधारमा ल्याएर टर्चर गर्ने काम भएकाले यस विषयमा पनि सञ्चारकर्मीको ध्यानाकर्षण गरेकी छिन् । आफ्ना श्रीमान्लाई केही भएको खण्डमा यसको दोषि सम्बन्धित निकाय नै हुने श्रीमति साहले बताए ।
उनले आफ्ना श्रीमान्को साथमा सधै प्रहरी रहने गरेकाले कुनै घटनामा संलग्न रहेको भए तत्कालै प्रहरीलाई थाहा हुनु पर्ने धारणा राख्दै यस्ता प्रकारको क्रियाकलाप हुनु चिन्ताको विषय भएको बताए । पत्रकार सम्मेलनमा आम दुलारी देवी , वुवा साधु साहले पनि आफ्नो छोरा संग भेट्न जादा भेट्न नदिएको बरु आफूलाई नै मानसिक यातना दिएको र भेट्न समेत नदिएको बताए । उनलाई कानून व्यवसायिले पनि भेट्न खोज्दा प्रहरीले भेट्न नदिएको बुबा साधु साहले बताए ।

Monday, March 14, 2016

कमिशनको भरमा प्याथोलोजी क्लिनिकहरु

जनकपुरका अधिकांश प्याथोलोजी क्लनिकहरु डाक्टरहरुको कमिशनको भरमा चल्ने गरेको तथ्यांक बाहिर आएको छ । सरकारी तथा गैर सरकारी क्लिनिकहरुमा कार्यरत डाक्टरहरु समेत विरामीलाई प्याथोलीको नाम किटान गरी पठाउने गरेको र उनीहरुसित ७० प्रतिशतसम्म कमिशन खाने गरेको कुरा खुल्लासा भएको छ ।
विरामीहरुको लागि चेक जाँचमा प्याथोलोजी नै रामवान रहेको छ । तर प्याथोलोजी जाँचका रिपोर्ट नै राम्रो नआएमा के होला अनुमान गर्न सकिन्छ । यहाँका प्रशिक्षण केन्द्रदेखि लिएर क्लिनिकहरुमा पनि प्याथोलोजीको राम्रो चेकजाँच आउन नसक्दा चिकित्सकहरुले औषधी लेखेपछि उपचारमा समस्या आउने गरेको गुनासो समेत बढेको छ ।
जनकपुर अञ्चल अस्पतालका प्याथोलोजी विभागका चिकित्सक रामविनय साहले भने ‘यहाँबाट अधिकांश विरामीहरु काठमाडांै. भरतपुर वा भारतको विभिन्न ठाउँमा जानुको एउटै कारण हो प्याथोलोजीकल टेष्ट राम्रो नहुुनु । अधिकांश प्याथोलोजीमा सस्तो एवं गुणस्तरीय मेशिनहरु छैन । मेशिन नै गुणस्तरीय छैन भने बिरामीहरुको टेष्ट कहाँबाट राम्रो आउन सकिन्छ, र त्यसैको भरमा चिकित्सहरुले पनि औषधी लेखेर विरामीहरुलाई फर्काउछन् ।’
जनकपुरको प्याथोलीमा पनि १० प्रतिशत मात्र दक्ष चिकित्स छन् । सबभन्दा ठूलो कुरा के हो भने प्याथोलोजीवालाहरुसँग डाक्टरहरुले ७० प्रतिशतसम्म कमिशन लिने गर्छन । जसले कमिशन दिन्छ उनी कहाँ डाक्टरहरु विरामीलाई पठाउछन र जसले दिंदैन उनी कहाँ पठाउँदैन । यस्तोमा दक्ष व्यक्ति त्यतिकै विरामीहरुको प्रतिक्षामा हुन्छ र अदक्ष व्यक्तिको क्लिनिकमा विरामी उपचारको घुइचो लागेको हुन्छ, साहले भने ।
विरामीको स्वस्थ्य उपचार राम्रो नहुनुमा गुणस्तरीय प्याथोलोजीको मेशिनहरु उपलब्ध नहुनु, डाक्टरहरुले कमिशनको भरमा प्याथोलोजी कहाँ विरामी पठाउनु । गलत रिपोर्टकै आधारमा बढी औषधी लेख्नु । निजी क्लिनिका केही डाक्टरहरु गाउँ गाउँमा दलाल खटाउनु, एक्सरे एवं माइक्रोस्कोप जस्ता समानहरु गुणस्तरीय नहुनु रहेका छन् ।
अञ्चल अस्पतालका कर्मचारी साहले भने ‘यहाँका अधिकांश प्याथोलोजीहरु दर्ता समेत छैन । डाक्टरहरुले आफ्नै क्लिनिक वरिपरि प्राइटिकलकै आधारमा ५ देखि ७ हजारसम्म तलव दिएर मान्छे राख्ने गर्छन । अनुसन्धान गर्ने कोही छैन । प्राइटिकलकै आधारमा यहाँ डाक्टरहरु समेत बनेको छ । यस्तोमा राम्रो उपचारको कल्पना कसरी गर्न सकिन्छ ।’
जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयकृष्ठ अधिकृत रामगुलाम कर्णले जनकपुरमा कमिशनको भरमा डाक्टरहरु बढीभन्दा बढी टेष्ट समेत लेख्ने गर्छन सबैलाई थाहा छ । अधिकांश प्याथोलोजी दर्ता छैन, कर पनि बुझाउँदैन । जनस्वास्थ्य कार्यालय धनुषाले प्रशासनको सहयोगमा अनुगमन पनि गरेका थिए , कारवाही पनि भएको थियो । प्याथोलोजीको दर्ताका लागि सूचना समेत प्रकाशित भएको छ । तर जनस्वास्थ्यले स्वास्थ्य क्षेत्रमा मात्र कार्य गर्ने हो । अनुगमन गर्ने कार्य प्रशासनको हो बताए । स्वास्थ्यसँग खेलवाड गर्नेमाथि कारवाही हुनुपर्नेमा सबैको ध्यानाकर्षण हुनुपर्नेमा जोड समेत दिए ।
तर डाक्टर रामबाबु जयसवाल र डाक्टर जय कुमार मण्डल भन्छन् ‘स्वास्थ्यसँग यस्तो नहुनुपर्ने । यस्तो भएको छ भन्ने त्यस्ता प्याथोलीमाथि कारवाही आवश्य हुनुपर्छ । जसको उपचार जनकपुरमा सम्भव छैन त्यस्ता टेष्टहरु बाहिर पठाउने गरेका छौं । अहिले प्याथोलोजीकल जाँचको केमिकलको मूल्य बढेको छ त्यस अनुसार जाँच रेट पनि बढेको हो । तर कमिशन को लिन्छ कसले दिन्छ थाहा छैन ।’
त्यस्तै प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईले अहिलेसम्म त्यस्तो उजुरीहरु आएको छैन । तर स्वास्थ्यसँग खेलवाड गर्नेलाई कानूनी दायरामा ल्याएर कारवाही गरिने बताए ।
उनले भने अनुगमन टोली छिट्टै अनुगमन गरिनेछ । बिना दर्ता र प्रमाणको आधारमा प्याथोलोजी खोलेको भरमा हो भन्ने कारवाही समेत गरिने बताए ।

Thursday, March 3, 2016

मैथिलीमा ‘खिस्सा–पिहानी’ पढ्दा...


सुरेन्द्र कुमार भण्डारी
पत्रकार एवं साहित्यकार कैलास दासद्वारा सम्पादित पुस्तक ‘खिस्सा–पिहानी’ को सोमवार संयुक्त रुपमा विमोचन समारोहमा म पनि सहभागी भएका थिए । साहित्यिक पुस्तकको विमोचनमा मेरो लागि पहिलो सहभागिता थियो जसमा अन्य अतिथिसँगै संयुक्त रुपमा भएको विमोचन कार्यक्रममा म पनि सहभागी भएका थिए । समाजिक क्षेत्रमा कार्य गर्दै आएकै छु यो कसैसँग लुकेको छैन । तर मैथिली बालसाहित्य ‘खिस्सा–पिहानी’ पढ्दा केही लेखौ जस्तो मलाई लाग्यो र यस पुस्तकको बारेमा केही लेख्ने प्रयास गरेको छु ।

विमोचन समारोहमा एक दर्जनबढी साहित्यकार एवं पत्रकार उपस्थित थिए । कसैले बालसाहित्य ‘खिस्सा–पिहानी’मा राखिएको कथाहरुलाई राम्रो प्रशंसा गरे त कसैले टिप्पणी र सुझाव समेत दिए । तर मलाई साहित्य सम्बन्धी खासै ज्ञान नभएकोले आफू केही भन्न सकेन । कार्यक्रमबाट फर्किदा पुस्तकलाई अध्ययन गर्दा साह्रै खुशी लाग्यो । सो पुस्तकमा रहेको केही कथा पहिला नै सुनेको छु पढ्दा स्मरण भयो । तर सुनेरको कथामा पनि परिवर्तन भएको रहेछ । कथाको अन्तिममा विद्यार्थीहरुलाई एउटा नयाँ सन्देश दिन खोजेको मैले कथाका लेखकहरुमा पाए ।
प्राध्यापक परमेश्वर कापडिको कथा ‘गोनू झाके खिस्सा’ नयाँ छैन, यो खिस्सा गाउँघरमा पनि सुनेको छु । तर विद्यार्थीहरुलाई उपयोगी हुने मलाई आत्मविश्वास छ । किनभने अहिले पनि गाउँघरमा कुनै उत्सव वा मरणहरनमा गाउँवासीहरु दवाव दिई भोजभतेर गर्ने गराउने चलन छ । यस कथामा गोनू झालाई एउटा पात्र बनाइएको हो जसले ठूलो भोजको निम्तो दिएपनि आफ्नो बुद्धि विवेकले समाजलाई एउटा बाटोमा ल्याउने प्रयास गरेको छ । कथा पुरानो भएपनि समग्र रुपमा मलाई राम्रो र सन्देश मुलुक नै लाग्यो ।
अर्को कथा रिंकी गुप्ताको ‘दू टा बुधियार’ रहेछ । यो कथा पढ्दा मनोरञ्जनका साथै राम्रो सन्देश पनि दिने गर्छन । कथाको प्रारम्भदेखि नै हस्सी ठह्क्का जस्तो हो । यस कथामा दुईवटा पात्र हुन । एउटा होटल व्यवसायी र अर्को ग्राहकको रुपमा रहेको युवा । युवालाई त्यो होटलमा खाना खान मन लाग्छ । तर होटल महँगो भएकोले जान सकिरहेको थिएन । एक दिन त्यो युवा हिम्मत गरी होटलमा गएर मनभरि खाना खान्छ र होटल मालिकलाई भन्छन् ‘म पैसा घरमै विर्सेर आएको छु, केही घण्टामा ल्याएर दिन्छु । केही बेर त होटल मालिक असमंजसमा हुन्छ तर कुनै विकल्प नदेख्दा जान दिन्छ । युवा होटलवालालाई पैसा नदिइकन वैदेशिक रोजगारीमा गई हाल्छन र त्यहाँबाट फर्किदा होटल मालिकलाई पैसा दिन होटल पुग्छन् । त्यो बेलामा बढीमा सय रुपैयाको खाएको होला सोचर युवा आउँछन । तर होटल मालिकले युवालाई अनपढ गबार बुझेर सोच्छन यि त वैदेशिक रोजगारीबाट धैरै रुपैया कमाएर आएको होला, यिनी सित बढी पैसा माँग्दा पनि दिइनै हाल्छन ।  त्यही सोचर हिसाबबारी गरी उनलाई सयको ठाउँमा दुई लाख हिसाब सुनाउँछ । युवाले नमानेपछि गाउँमा पञ्चायत बस्छन् र पञ्चमा त्यो युवाले कसरी आफ्नो बुद्धि विवेकले होटल व्यवसायीलाई लज्जित मात्र होइन, उल्टै जरिवाना समेत तिराउने गर्छन यस कथामा रहेको छ ।
त्यस्तै पत्रकार वृज कुमार यादवको कथा ‘आनि’ पनि धेरै रोचक हो । यो कथा खासगरी बाल मनोविज्ञानमा नै आधारित रहेको छ । कथामा गरीब र विपन्न परिवारको जीविको पार्जन कसरी हुन्छ । गाँसवास र कपासको अभाव हुँदा पनि त्यो परिवारमा जन्मेका केटाले बालअवस्थामा नै आफू भुखे बस्छु, तर पढाई गर्छु चिन्तनको देखिएको छ ।  केटाको आमाबुवालाई एउटा सम्पन्न परिवारका व्यक्तिले बच्चालाई नोकरी लगाई दिन्छौं, तिम्रो केटा पनि राम्रो हुन्छ र आर्थिक लाभ पनि हुन्छ भनेर उल्टोसुल्टो सम्झाउने गर्छन । यता उहाँको छोराले कुनै पनि हालतमा म उनीसँग जाँदैन, म पढ्छु जस्ता जिकिर गर्दा जति लोभलाचन देखाए पनि छोराप्रति बुवा आमाको प्रेमले जान दिंदैन । उनी आफ्नो छोरालाई  विद्यालय पठाउन थाल्छ । उसको छोरा पढेर कसरी ठूलो मान्छे बनेर समाजमा स्थापित हुन्छ कथाको संमग्र रुपमा संराश रहेको छ ।
त्यस्तै कुमारी ऋचाको अर्को कथा ‘बोखारक उपचार’ त एकदमै हासिलो कथा जस्तै छ । ज्ञानबुद्धि नभएका गाउँका एउटा बालकको कुरा गर्दा त्यहाँका समाजले कस्तो परिणाम भोग्नु परेको कथामा दर्शाएको छ । यस कथामा ज्ञान र मनोरञ्जन दुबै झल्किन्छ ।  साहित्यकार एवं वरिष्ठ पत्रकार रामभरोस कापडिको कथा ‘जंगली बाबा’ लोक एवं पौराणिक कथा जस्तो मलाई लाग्यो । पढ्दा खेरी राम्रो मात्र होइन, यो भन्दा अगाडि के हुन्छ जस्तै महसुस भयो । रोचक एवं जनचेतना समेत यस कथामार्फत दर्शाउँछन् ।
साहित्यकार अशोक दत्तको ‘झूठक मान,अपटी खेत प्राण’ विजय दत्त मणिको ‘मङनु, ज्योति मण्डलको ‘सहासी उषा’ पत्रकार एवं साहित्यकार हिमांशु चौधरीको ‘एक मुी चाउर’, साहित्यकार राजाराम राठौडको ‘किसान’, कुमारी श्रेयाको ‘बेटीके चिट्ठी’, पुस्तकक सम्पादक कैलास दासको ‘उपकारक फल’, विकास दासको ‘अशिक्षाक परिणाम’, अमरकान्त अमरको ‘चेतना’, सम्पादकको ‘कुलछनी माय’ लेखक कुमार भास्करको ‘लछमिनीया’ सहित २६ वटा कथा यस पुस्तकमा रहेको छ । तर कथा पढ्दा खेरी पहिला के पढौ नपढौ जस्तो महसुस मलाई भयो ।
पुस्तकमा त्रुटी होला, त्यो त भन्न सकिन्न तर आफू साहित्यकार नभएकोले मलाई एउटा पाठकको रुपमा यो पुस्तक साह्रो राम्रो लागेको छ । खासगरी विद्यार्थीहरुको ध्यानमा राखी यो पुस्तक प्रकाशित गरिएको र उनीहरुलाई पनि राम्रो नै लाग्ला जस्ता अनुभव छ । जे होस् पत्रकार कैलास दासलाई बधाई दिंदै अगामी दिनमा पनि यसरी नै विकास गरोस् कामना गर्दछौं ।
सचिव ः जनकपुर उद्योग वाणिज्य संघ