Saturday, December 8, 2018

सेनाप्रति महोत्तरीवासी आक्रोशित


जनकपुरधाम, २१ मंसिर । महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. ९ मा सेनाले निजी व्यक्तिको जग्गा कब्जा गर्न खोज्दा स्थानीयहरु आक्रोशित बनेका छन् ।
पशुपतिनगर, पथलैया बजार स्थित करीब ११ जना स्थानीयको निजी जग्गामा श्री नं. २ युद्ध कवच गुल्मले पिलर गाडेर कब्जा गर्न खोज्दा स्थानीयहरु निक्कै आक्रोशित देखिएका छन् । उनीहरुले हामीसँग लालपूजा हुँदाहुँदै पनि सेनाले जबरजस्ती ती जग्गामा पिलर गाडेर कब्जा गर्न लागेको आरोप लगाएका छन् ।
‘निजी तथा केही एलानी जग्गा हामीहरु वर्षौदेखि भोगचलन गर्दै आएको हो । ती जग्गामा धान, गहुँ सहितको बाली उब्जाउने गर्दै आएको थियौ । तर यस पटक सेनाले ऐलानी जग्गा सहित लालपूजा रहेको जग्गा पनि कब्जा गर्न लागेको हो’ स्थानीय घुरन महतोले भने । उनले करीब ११ जनाको नम्वरी जग्गामा सेनाले पिलर समेत गाडि सकेको थियो । तर आफूहरु त्यसको विरोध गर्दा केही पिलरलाई हटाएपनि अझै निजी जग्गा कब्जा गरि राखेको बताएका छन् । उनले भने, ‘प्रदेश सरकार, बर्दिवास नगरपालिका लगायतको सम्बन्धित निकायमा ज्ञापनपत्र पनि बुझाएका हो । तर कसैले हाम्रो कुरा नसुनिदिएपछि बाध्य भएर पत्रकारहरुलाई गुहारेका छौ ।’

उनले भोग चलन गर्दै आएको जग्गामा तानाशाही शैलीमा कब्जा गर्नु लोकतन्त्रलाई मजाक उडाउनु जस्तो छ । राज्यले पनि हामीहरुको कुरा सुनेन भने बाध्य भएर प्रदेश सरकारदेखि संघीय सरकारसम्म धर्ना लगाएको आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
स्थानीयहरुले आ आफ्नो लालपूर्जा देखाउँदै भने ‘५० वर्षदेखि यस जग्गामा भोग चलन गर्दै आएका हौ । अहिले अचानक ती जग्गामा भोग चलन गर्नमा प्रतिबन्ध लगाइएको छ । हाम्रो कुरा कसले सुनिदिने त ?’ प्रश्न समेत गरेका छन् ।

लालपूर्जा अनुसार स्थानीयहरु २०२४ सालदेखि नै नम्वरी जग्गामा भोगचलन गर्दै आएका छन् ।
स्थानीय सितली देवी महतोको २ विघा, रामप्रताप साहको १ विघा ५ कट्टा, रामसोगारथ महतोको १६ कट्टा, योगेन्द्र महतोको ६ कट्टा, रेखा देवी साहको २ कुटटा, नवल महतोको ४ कट्टा लगायतका व्यक्तिहरुको नम्वरी लाल पूर्जामा सेनाले पिलर गाडेको उनीहरुले गुनासो पोखेका छन् ।
उक्त जग्गामा प्रदेश स्तरीय युद्ध कवच गुल्म सेना क्याम्प निर्माण हुन लागेको बताइएको छ । सोको लागि ती ठाउँमा २ सय ८२ विघा जग्गा रहेको छ । तर ती जग्गा बाहेक पनि निजी नम्वरी जग्गामा सेनाले घेराबन्दी गर्न लाग्दा उनीहरुले आक्रोशित भएका छन् ।

Thursday, December 6, 2018

नगर दर्शन र धनुष यज्ञ मुख्य आकर्षण


जनकपुरधाम, १९ मंसिर । रामजानकी विवाहोत्सवको सम्झनामा प्रत्येक वर्ष मनाउँदै आएको विवाहपञ्चमी मेला यस वर्ष भव्यताका साथ मनाउने तयारी भई रहेको छ । विवाहञ्चमीको तयारीमा जानकी मन्दिर, प्रदेश सरकार र स्थानीय सरकार समेत जुटेका छन् ।
यसवर्षको विवाहपञ्चमीको सबभन्दा आकर्षणको केन्द्र नगर दर्शन र धनुष यज्ञ रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताएका छन् । महन्त दासले नगर दर्शनमा कृतिम नगर बनाएर भगवान राम सबैको द्वारद्वार जाने कार्यक्रम रहेको छ । यो जनकपुरधाममा पहिलो पटक हुन लागेको बताएका छन् ।
नगर दर्शनमा नेपाल भारतका साधुसन्त तथा श्रद्धालुहरुको समेत सहभागिता रहने उनले जिकिर गरेका छन् ।
त्यस्तै अर्को ठूलो आकर्षणको केन्द्र यस पटक धनुष यज्ञ रहेको महन्थ दासले दैनिक जनकपुरलाई बताएका छन् । उनले धनुष यज्ञका लागि रंगभूमी मैदानमा एक हप्ताअघिदेखि तयारी भई रहेको छ । रंगभूमी मैदानमा विवाहपञ्चमीमा धनुष यज्ञ पनि पहिलो रहेको बताएका छन् । यस पटक विवाहपञ्चमीमा भारतको विभिन्न प्रदेशबाट साधुसन्त लगायतको श्रद्धालुहरु आउने दावी पनि महन्थ दासले गरेका छन् ।

Wednesday, December 5, 2018

विवाहपञ्चमी मनाउने यस्तो तयारी


जनकपुरधाम, १८ मंसिर । जनकपुरधामका सबभन्दा ठूलो महोत्सव विवाहपञ्चमी मेलाको भव्य तयारीका लागि विभिन्न कार्यक्रम तालिकाहरु बनाइएको छ ।
जनकपुरधाम उपमहा नगरपालिकाको सभाहलमा नागरिक समाज, संघ संस्थाका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकाय, जनकपुरधाम उपमहा नगरपालिकाका वडा अध्यक्षहरुको उपस्थितिमा भएको ‘अन्तरक्रिया कार्यक्रम’ बाट सो तालिका तयार गरिएको छ ।
तालिका अनुसार मंसिर २५देखि २६ गतेसम्म नगरभित्रमा पूर्ण रुपमा मांस मदिरा बन्द गर्ने, २५ र २६ गते आ आफ्नो स्तरबाट जनकपुरवासीहरुले दीपावली मनाउने, जानकी मन्दिर जानेबाटोमा पर्ने वडाहरुमा वडा अध्यक्षको सहयोगमा स्वागतद्वार तथा श्रद्धालु यात्रुहरुका लागि पण्डाल निर्माण गर्ने रहेको छ ।
त्यस्तै पर्याटकहरुलाई बिजुली बत्ती, खानेपानी तथा शौचालयको सहज उपलब्ध गराउनुपर्ने, यातायातलाई उचित रुपैया लिएर गणतव्यस्थलसम्म पुर्याउनमा सहयोग गर्ने, होटल व्यवसायहरुले पनि आ आफ्नो स्तरबाट थोरै नाफा लिएर भोजनको व्यवस्था गर्ने लगायतको सुझाव प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले दिएका छन् ।
त्यस्तै सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त गर्ने, पोशाक तथा सादा पोशाकका प्रहरी परिचालन गर्ने, विभिन्न क्लवका पदाधिकारीहरुले समन्वय गरी स्वयं सवेकको रुपमा कार्य गर्ने, चिसो बढेकोले ठाउँ ठाउँमा दायरा तथा मेलामा आएका गरीब र विपन्न परिवारका लागि खानाको व्यवस्थापन गर्ने, निःशुल्क उपचार तथा औषधीको व्यवस्थापन गर्ने छलफलबाट आएको छ ।
त्यसैगरी नगरभित्र रहेको फोहरमैलालाई स्थानीयहरुले आफ्दो दायित्व बुझेर आफै सरसफाई गर्ने, कुनै पनि वस्तु वा अन्य ठाउँमा शंका उपशंका लागेमा तुरुन्त प्रहरी प्रशासनलाई जानकारी गराउने समेत प्रमुख जिल्ला अधिकारी कँडेलल बताएका छन् ।
जनकपुरधाम उपमहा नगरपालिकाका उपमेयर रिता कुमारी मिश्रको अध्यक्षतामा भएको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कँडेलल यति कार्य गर्नका लागि २३ गतेभन्दा अघि नै जनकपुरधाम उपमहानगरपालिका र प्रमुख जिल्ला अधिकारीमा लिखित रुपमा दिनुपर्ने बताएका छन् । उनले त्यसो अनुसार उपहानगरपालिका र जिल्ला प्रहरी कार्यालयले लिस्टिङ्ग गरेर परिचालन गर्ने बताएका छन् ।
कार्यक्रममा जनकपुर अञ्चल बस व्यवसाय संघका अध्यक्ष मनोज चौधरीले यातायातमा आफु सहज र न्यूनितम भाडा लिने जानकारी गराएका छन् । त्यस्तै प्याब्सनका अध्यक्ष विश्वलाल सिंहले बाटोमा पर्ने विद्यालयहरुमा निःशुल्क भोजनको व्यवस्था, पण्डाल लगाउने बताएका छन् । कार्यक्रममा संघ संस्थाका पदाधिकारीहरु, नागरिक समाजहरुले आ आफ्नो स्तरबाट हुने कार्यलाई प्राथमिकता साथ निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
महोत्सवमा यस पटक भारतको अयोध्याबाट आउने भगवान् रामको प्रतीक स्वरूप आउने जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सहभागिता रहने छ । प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरका महन्तको पहलमा जानकी मन्दिर परिसरदेखि बाह्रबिघा रंगभूमि मैदान सम्म सिङ्गारिने, सरसफाइ र पण्डाल निर्माण तीव्र गतिमा गरिरहेका छन् । सुरक्षाकर्मी, राजनीतिकर्मी, समाजसेवी, नागरिक समाजका अगुवाको सहभागितामा बाह्रबिघाको सरसफाइ र उपमहानगरपालिकाद्वारा समेत तीव्र गतिमा जानकी मन्दिर आसपासका सडक निर्माण, सडक व्यवस्थित गर्ने कार्य भइरहेको छ ।

Monday, December 3, 2018

यातायात कार्यालय सार्ने हल्ला फैलाइएको हो ः मन्त्री महासेठ


जनकपुरधाम, १७ मंसिर । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जनकपुरधाममा रहेको यातायात व्यवस्था कार्यालयलाई महोत्तरीको बर्दिवासमा सार्न लागेको कसैले पूर्वाग्राही रुपमा हल्ला फैलाइएको बताएका छन् ।
मन्त्री महासेठले दैनिक जनकपुरसँग कुरा गर्दै भने, ‘विभिन्न मिडियामा आएको यो समाचार भ्रामक हो । यसमा कुनै सत्यता छैन । कसैले बदनाम गर्ने उद्देश्यले यस्तो हल्ला फैलाइएको हो ।’ मन्त्री महासेठले जनकपुरधाममा प्रदेश र संघीय स्तरीयका कार्यालयहरु झण्डै थप्ने प्रयास भई रहेको छ । यातायात मन्त्रालय स्टेचु बनाई राखेका छन् । तर जनकपुरधामबाट अन्तै सार्ने जुन हल्ला फैलाइएको हो त्यसमा कुनै सत्यतता नरहेको जिकिर गरेका छन् ।
यातायात मन्त्री महासेठकै चलखेलमा कार्यालय सार्न लागिएको भन्दै सर्वसाधारणले सोमबार यातायात व्यवस्था कार्यालय जनकपुरको कामकाज २ घण्टा सम्म ठप्प पारेका थियो ।

‘संघीय संरचनाको दुईवटा खम्बा त्यो पनि डगमगाउँदै’


जनकपुरधाम, १६ मंसिर ।  संघीय संरचनाको दुईवटा खम्बा मध्ये एउटा राजनीतिक दल र अर्को नागरिक समाज राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभले बताएका छन् ।
जनकपुरधाममा आईतवार शान्तिका लागि साँझा अभियान (कोक्याप)को आयोजनामा भएको राजनीतिक दल  र नागरिक सामाजको भूमिका विषयक ‘सम्वाद’ कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
डा. लाभले नागरिक समाज र राजनीतिक दल सरकारको पुलाको रुपमा कार्य गर्छन । तर दुबैबीच असमान्ता, मतभिन्नता देखिएकोले यस्तो अवस्थामा संघीयतामाथि खतरा देखा परेको बताएका छन् ।
उनले मधेशवादी दलले संघीयता र मधेशी जनताको अधिकारको लागि सधैं आन्दोलन गर्दै आएको भन्दै अहिले मधेशवादी दलको सरकार भएपनि नागरिक समाजसँग मतभिन्नता कायमै देखिएकोले ठूलो संकट र चुनौती समेत रहेको बताएका छन् ।
संविधान तहत नै तीन तहको सरकार भएको छ । तर केन्द्र र प्रदेश सरकारबीच सुमधुर सम्बन्ध छैन । तीनवटा तहमा राम्रो समन्वय हुन सकेको छैन । केन्द्रको ऐन कानून निर्माणको ढिलाईले प्रदेश सरकार सास्तीमा छन् । जनताले तिर्नुपर्ने कर, शुल्कमा वृद्धि गरिएको छ । कार्यालयहरुबाट आम जनताले सुलभ तकिराबाट सेवा सुविधा लिन सकेको छैन । भ्रष्टाचारको बिगबिगी देखा परेको छ । आमजनमा बढ्दो नैराश्यता देखिएकोले संघीय संरचनाको यी खम्बाहरु डगमगाई रहेको अवस्थामा रहेको उनले बताएका छन् ।
संजालका प्रदेश संयोजक अजय कुशवाहाको अध्यक्षतामा भएको सो कार्यक्रममा नागरिक समाजका अगुवाहरुले राजनीतिक दलहरुले सर्वसाधारण जनतालाई ठगिदै आएको बताएका छन् । उनीहरुले प्रदेशमा हिंसा बढ्नुको कारण वैदेशिक रोजगारी रहेको ठोकुवा गरेका छन् ।
कार्यक्रममा राजनीतिक दलबाट नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि दिनेश यादव, नेपाली काँग्रेसका धनुषा उपसभापति सन्तोष यादव, संघीय समाजवादी फोरम नेपालका दिनेश यादव सहितले विचार राखेका छन् ।

Thursday, November 29, 2018

‘व्यापार छैन, घरभाडा डेढ गुणा बढ्यो’


जनकपुरधाम, १२ मंसिर । जनकपुरधाम उपमहा नगरपालिकाको बजार क्षेत्रमा सटर भाडा वृद्धिले आतंक फैलाइएको छ । तीन तहको निर्वाचन पश्चात् प्रदेश २ को राजधानी जनकपुरधाम भएपछि यात्रुहरुको संख्यामा वृद्धि देखेर घरधनीहरुले डेढ गुणा बढी घरभाडा बढाएको गुनासो रहेको छ ।
एशियाली विकास बैंकको ऋण सहयोगमा जनकपुरधामको सडक फराकिलो गर्ने क्रममा भत्काइएको घरहरुको कारण यहाँका व्यवसायहरु शुन्यमा झरेको भएपनि घरधनीहरुले तीनगुणासम्म घर भाडा बढाएपछि व्यापारीहरु निक्कै चिन्तित बनेका छन् ।
‘व्यापार व्यवसाय सुन्यमा झरेको छ । जनकपुरधामको मुख्य बजारमा यात्रुहरु आउने गरेको छैन । तर तोडफोड पश्चात् घर निर्माण हुन वितिकै घरधनीहरुले तीनगुणा घरभाडा भएको हो’ व्यापारी रघुनाथ यादवले गुनासो पोखे । उनले व्यापारीहरुमा एकता छैन, हामीले घर छोडेमा अर्कोले लिन तयार रहेको छ ।  यस्तो अवस्थामा यहाँबाट पलायन हुने बाहेक कुनै उपाय समेत नरहेको बताएका छन् ।
‘जनकपुरधाम नगरभित्रमा सटरहरु महँगो भएपनि प्रायः सटर भाडामा लिनेहरुलाई घरधनीहरुले शौचालयको व्यवस्था गरेको छैन’ अमेरिकन कम्प्यूटरका सञ्चालक प्रविण साहले भने ‘जनकपुरधाम ऐतिहासिक एवं धार्मिक स्थल मात्र रहेन, प्रदेश २ को राजधानी समेत भई सकेको छ । तर नगरभित्रमा शौचालयको व्यवस्था न त नगरपालिकाले गर्न पाएको छ नत्र सटर लगाउने घरधनीहरुले ।’
एकीकृत सहरी विकास योजना अन्तर्गत सडक फराकिलो क्रम जारी नै छ । सोही क्रममा कतिपय पसलहरु सारेर अर्को ठाउँमा गई सकेको छ । उनी कहाँ पुरानो ग्राहकहरु पुग्न नसक्दा व्यापारीहरु चिन्तित बनेका छन् ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले हल्ला मैले पनि सुनेको छु । तर संघमा त्यस्तो कुनै गुनासो आएको छैन । घरधनी र व्यापारीहरुले मिलेर नै घरभाडा बढाएको आफूले महसुस गरेका छौ । त्यस्तो कुनै प्रकारको गुनासो आएमा घरधनी र व्यापारीबीच छलफल गरी समस्या समधान गर्ने छौ । व्यापारसंघ व्यापारीहरुकै हितमा रहेको छ । तर व्यापारीहरु समस्या लिएर संघमा आउनुपर्ने बताएका छन् ।
यता धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साहले नगरभित्रमा घर भाडा आतंक फैलिएको सही कुरा हो । तर व्यापारीहरु त्यसको आवाज उठाउन आँट गरिरहेको छैन । मैले पटकपटक कति प्रतिशतसम्म घरभाडा बढाइएको हो । एग्रीमेन्ट पेपर दिन माँग गर्दा पनि उनीहरुले दिन नमानिरहेको गुनासो पोखेका छन् । अध्यक्ष साहले  यस सन्दर्भमा छिट्टै जनकपुरधाम उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउने तयारीमा जुटेको समेत बताएका छन् ।

Tuesday, November 27, 2018

३०३ वटा कैदीका लागि १० वटा शौचालय


जनकपुरधाम, ९ मंसिर । प्रदेश २ को सप्तरी स्थित राजविराज कारागारमा ३०३ जना कैदीका लागि १० वटा शौचालय मात्र रहेको छ । सो कारागारमा बढीमा १२५ जना कैदी बस्ने ठाउँ भएपनि त्यसमा ३०३ जना कैदीलाई राखिएको हो ।
नेपाल सरकार तथा प्रदेश सरकारले घरघरमा स्वच्छता अभियान सञ्चालनमा ल्याएपनि कारागारतर्फ ध्यान नदिएको सप्तरीवासीहरुको भनाई रहेको छ । १० वटा शौचालयले ३०३ जनालाई शौच गर्न बाध्य मात्र पुर्याउने गरेको मात्र छैन, स्वस्थ्य कैदीलाई रोग लाग्ने बढी सम्भावना देखिएको छ ।

वार्षिक बजेट अनुसार १२५ जना कैदीको खाना, औषधी लगायतको मात्र आउने गरेको जेलर सत्यनारायण यादवले बताएका छन । थपका लागि पुनः माँग गरेपछि उपलब्ध गराउने गरेको उनले बताएका छन् ।
कारागारमा अधिकांश कैदीहरु विभिन्न रोगले ग्रस्त समेत रहेको जनाइएको छ । जेलमा ३०३ वटा कैदी मध्ये १७ वटा महिला कैदी रहेकी छिन् । ती मध्ये एकवर्षिय बालिका समेत रहेको जेलर यादवले बताएका छन् ।
कारागारमा अधिकांश व्यक्ति बलात्कारको अभियोग तथा ज्यान मार्ने मुद्दामा जेल सजाय काटि रहेको जेलर यादवले बताएका हुन । अधिकांश कैदीको उमेर २५देखि ४५ वर्षसम्मको रहेको छ ।  सो कारागरामा भूमिगत भई आन्दोलन गर्दै आएका गोइत समूहका ४ जना, ज्वाला तथा भाइरस किलकारका १५जना कार्यकर्ता समेत सजाय काटिरहेको जनाइएको छ ।