Monday, October 23, 2017

छठका घाटहरु बेहुली झै सजाइदै

जनकपुरधाम, ६ कातिक । अहिले मिथिलाञ्चलमा छठ पर्वको तयारी जोडतोडका साथ चलि रहेको छ । गाउँदेखि सहरसम्म छठको रौनकताले छोई रहेको छ । मिथिलाञ्चलका तलाउ, नदी तथा घाटहरूलाई सजाउने कामलाई तिव्रता प्रदान गरिएको छ ।

मिथिलाञ्चलमा बडो आस्थाका साथ मनाइने छठ पर्वमा मधेश मुलका मात्र नभई पहाडी र केही मुस्लिम समुदायले पनि छठी माईको उपवास लिन थालेकाले यो पर्वको व्यापकता बढ्दै गई रहेको छ ।
पर्व नजिकिएसँगै बजारमा किनमेल गर्नेहरुको घूइँचो बढेको छ । पूजा सामग्रीको मात्र नभई कपडा पसलहरूमा पनि ग्राहकको भीड उत्तिकै देखिन्छ । छठलाई लक्षित गरी रोजगारी तथा शिक्षा प्रयोजनका लागि देश(विदेशमा रहेकाहरू धमाधम घर फर्किन थालेका छन् ।
बाँसको पूजा सामग्री बनाउने डोमदेखि माटाका भाँडाकुँडा बनाउने कुम्हाल मात्र नभई सिन्दुर चुरापोतेको व्यापार गर्ने चुडिहार सम्म अहिले व्यस्त देखिएको छ ।
छठ पर्वको साँझ व्रतालुहरूले घरबाट विशेष पूजाका साथ सामग्री छैटीमा राखी टाउकोमा बोकेर नजिकको घाट पुग्ने गर्छन् । घाटमा गई अस्ताउन लागेको सूर्यलाई नरिवलको अघ्र्य दिन्छन् । भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई यसरी नै अघ्र्य दिएर व्रत समापन गरिन्छ ।
दलित, गैरदलित र जातपातको कुनै भेदभाव नगरी एकै घाटमा व्रतालुहरूले सूर्यलाई अघ्र्य दिइन्छ । छठको व्रत गर्दा चर्म रोग नलाग्ने, पुत्र लाभ हुने, सौभाग्य वृद्धि हुने, परिवारमा सुख, समृद्धि आउने, परिवारका सदस्यहरू सम्भावित दुर्घटनाबाट जोगिनेजस्ता धार्मिक विश्वास छ ।
जनकपुरधाम स्थित विभिन्न छठ घाटहरू सजाउने क्रम झन्डै २ साता अघिदेखि भइरहेको छ । यहाँका गंगासागर,धनुषा सागर,राम सागर,अरगजा पोखरी लगायतका दर्जन जलाशयलाई बेहुलीझैं सजाइँदै छ । अधिकांश जलाशमा यो पर्वलाई लक्षित गरी स्थायी घाटहरू नै निर्माण गरिएका छन् ।

अद्भूत पर्व ः गाईले बंगुर मार्ने प्रतियोगिता

जनकपुुरधाम, ५ कात्तिक  । हिन्दु संस्कृतिमा विभिन्न प्रकारको पर्व हर्ने गरेको छ । तर गाईले बंगुर मार्ने प्रतियोगिता धनुषाकै कतिपय ठाउँमा हुँदा अचम्भ लाग्न सक्छ । तर कुरा विलकुल सच्च हो ।
जनकपुर उपमहा नगरपालिका वडा नंं १३ मा ऐतिहासिक पर्वको रुपमा गाईले बंगुर मार्ने प्रतियोगिता भव्यताका साथ गरिएको छ ।

पिडारी बजार व्यवस्थापन तथा गौचरण व्यवस्थापन समितिले संयुक्त रुपमा आयोजना गरिएको हुर्राहुर्री कार्यक्रमका प्रमुख अतिथि जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले यस ऐतिहासिक पर्वलाई अगामी वर्षदेखि भव्यता प्रदान गर्नका लागि सबैमा आग्रह गरेका छन् ।  प्रमुख साहले ऐतिहासिक पर्व हुर्राहुर्री यस स्थलको पहिचानको रुपमा रहेको भन्दै यसलाई तीन दिवसीय कार्यक्रम गरी मनाउनका लागि स्थानीयवासीमा अपील गरेका छन् ।
जनकपुर उपमहा नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष शुभनारायण यादवको अध्यक्षतामा भएको हुर्राहुर्री तथा साँस्कृतिक दौड प्रतियोगिताका विजेताहरुलाई शील तथा कप प्रदान गरेको छ । करीब दुई सय मिटरको दौडमा १०देखि १५ वर्षको उमेरका मनिष साह प्रथम, अभिषेश पाण्डे दोस्रो तथा कमल राउत तेस्रो भएका छन् । त्यस्तै १५ भन्दा बढी उमेरको प्रतियोगितामा राजु पासमान प्रथम, विवेक कर्ण दोस्रो तथा किसन राउत तृतीय भएका छन् ।उनीहरुलाई मेयर साह लगायतका व्यक्तिहरुले शिल तथा कप प्रदान गरेका छन् ।
त्यस्तै उक्त कार्यक्रममा १०९ वर्षकी बिण देवी राउतलाई नागरिक अभिनन्दन गरेका छन् । जउमनपा मेयर साहले बिणा देवी राउतलाई दोसल्ला ओढाएर नागरिक अभिनन्दन गरेका छन् ।
हुर्राहुर्री कार्यक्रम प्रत्येक वर्ष दिपावलीको भोलिपल्ट जनकपुर १३ कभर्ड हलको गौचरणमा मनाउँदै आएको छ । यस पर्वमा भर्खरै बियाएको गाईको बच्चा (गोरु) अगाडि सुगरको (बच्चा) लाई फाल्ने गर्दछ र गाईले त्यस सुगरको बच्चालाई आफ्नो खुटटाले हत्या गर्ने चलन रहेको छ ।
त्यो भन्दा पहिला सोहराईको विरुवालाई पूजापाठ गरी माटोमा गाड्ने प्रचलन छ । जब गाईको बच्चा अगाडि सुगरको बच्चालाई फाल्ने गर्छन तब सुगर जोड कराउँछन । जति जोडले सुगरको बच्चा कराउँछ त्यति तलसम्म सोहराईको विरुवा पुग्ने मान्यता रहेको छ । गाईले सुगारलाई हत्या गरिदिएमा कसैले विरुवालाई उखाले पनि नउखल्ने जनविश्वास रहँदै आएको छ ।
कार्यक्रममा सरयुग राउत, रामचन्द्र राउत, शिवजी माली, रामदेव राउत, चुन्नी साह लगायतलाई सम्मानित गरेका छन् । कार्यक्रमको सञ्चालन विकाउ राउतले गरेका थिए ।